सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गतिशील र समाधानउन्मुख संवादका लागि दोहा फोरम


  •    न्युजभित्तो/२२ मंसिर २०८२, आईतवार १२:२७ 
  • दोहा (कतार), २१ मङ्सिर । विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको रूपान्तरणकारी उदयलगायत विश्वका ज्वलन्त चुनौतीबारे बृहत् बहस गर्ने अपेक्षा गरिएको दोहा फोरम शनिबार सुरु भएको छ ।

    विश्वका राष्ट्र प्रमुख, नीतिनिर्माता र विश्वव्यापी विशेषज्ञलाई एक गतिशील र समाधानउन्मुख संवादका लागि एकैठाउँमा भेला गर्ने उद्देश्यसहित आयोजना भएको दुईदिने सो सम्मेलनले बढ्दो भू–राजनीतिक तनाव र मानवीय आवश्यकताहरूको पृष्ठभूमिमा मञ्चलाई बहुपक्षीय संलग्नताका लागि एक सामयिक केन्द्रका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ । 

    कार्यसूचीमा समावेश मुख्य विषयमा गाजा सङ्कट, विश्वव्यापी स्वास्थ्य वित्त पोषण र सम्बद्ध राष्ट्रहरूले आवश्यक सेवाका लागि कोष जुटाउने जिम्मेवारीबारे बहस हुने आयोजकले बताएको छ । परिवर्तनशील राष्ट्रिय नीतिहरूको बीचमा विश्वव्यापी व्यापार मार्गहरूबारे पुनर्विचार गर्ने आवश्यकताबारे भेलामा गहन छलफल हुने अपेक्षा सहभागीले लिएका छन् ।

    शनिबार सम्पन्न एक सत्रमा एआईको प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव र अमेरिका–चीन सम्बन्धमा गहन छलफल भएको छ । अमेरिका–चीन विवादको तरङ्गले विश्वभरको व्यापार प्रवाह र आपूर्ति शृङ्खलालाई प्रभावित पारेको भए पनि हालै भएका सहमतिले वैश्विक आर्थिक गतिविधिलाई पुनःआकार दिइरहेका भनी खुसी व्यक्त गरिएको छ ।

    जोर्डनको अल अल बैत विश्वविद्यालयको बिजनेस स्कुल फर क्वालिटीका एशोसिएट डिन डा ओमर ख्लेफ अल घराइबेहले पत्रकारसँगको दूरदर्शी विश्लेषणमा फोरमका एजेन्डा र यसको प्रभावबारे भन्नुभयो, “विश्व भू–राजनीतिक अस्तव्यस्तता, सुस्त आर्थिक वृद्धि, आथिक हिसाबले शक्तिसम्पन्न राष्ट्रहरूबीच देखिने गरेको उतारचढावबीच भइरहेको अन्तरराष्ट्रिय दोहा फोरम विश्व अर्थतन्त्रको सन्तुलन र सुदृढीकराणका पक्षमा ऐतिहासिक क्षणसहित कोशेढुङ्गा सावित हुने छ ।”

    उहाँले ‘व्यापारको भविष्यको पुनःकल्पना अब सैद्धान्तिकमात्र नरही, यो लचिलोपन र अनुकूलनशीलताका लागि विश्वव्यापी आर्थिक संरचनालाई पुनःव्यवस्थापन गर्नु एक रणनीतिक आवश्यकता’ भएको बताउनुभयो । एशोसिएट डिनले रेखीय नमुनाहरूबाट हटेर बढ्दो जोखिमहरूको सामना गर्न मञ्चको स्थापना गरिएको र उदयमान यो वैचारिक ढाँचालाई लचिलो विश्वव्यापीकरणका रूपमा वर्णन गर्नुभयो । 

    यो परिवर्तन महत्त्वपूर्ण भए पनि यसले बढ्दो संरक्षणवाद र विश्व शक्तिहरूद्वारा आपूर्ति शृङ्खलालाई रणनीतिक रूपमा प्रयोग गरिनुजस्ता वास्तविक चुनौतीहरूको सामना गरिरहेको छ । उहाँले ‘यी गतिशीलताले विश्वव्यापी व्यापारको पुनर्गठनलाई कागजमा देखिनेभन्दा बढी जटिल बनाएको’ बताउनुभयो ।

    उहाँले भन्नुभयो, “लचिलो विश्वव्यापीकरण आपूर्ति शृङ्खलालाई विविधीकरण गर्ने, सीमित उत्पादन केन्द्रहरूमाथिको अत्यधिक निर्भरता घटाउने र महत्त्वपूर्ण उद्योगलाई चयन गरेर पुनःस्वदेशमा स्थापित गर्ने कुरामा निर्भर गर्दछ । यसले बजारको खुलापन र आर्थिक सुरक्षाबीच सन्तुलन कायम गर्ने नियामक सुधारको पनि माग गर्दछ ।”

    यद्यपि, पछिल्लो समय तीव्र हुँदै गएका प्राविधिक लडाइँ र रणनीतिक प्रतिद्वन्द्विताले यी महत्वाकाङ्क्षालाई चुनौती दिइरहेको र यसले संवेदनशील क्षेत्रमा व्यापार नियमका लागि सहमति हुनबाट रोकिरहेको छ ।

    प्रमुख थिङ्कट्याङ्क र विश्वव्यापी संस्थाहरूसँगको सहकार्यमा शनिबार भएको अर्को एक बहसमा अन्तरराष्ट्रिय आर्थिक सङ्कट, द्वन्द्व समाधान र दिगो शान्ति स्थापनामा क्षेत्रीय तथा विश्वव्यापी पात्रहरूको जिम्मेवारीबारे छलफल भएको छ ।

    अन्तरराष्ट्रिय नीति अनुसन्धान केन्द्र, कोनराड एडेनौअर फाउन्डेसन र गल्फ अनुसन्धान केन्द्रसँगको सहआयोजनामा भएकोे सत्रले रणनीतिक अलगावको युगमा खाडी मुलुक र युरोपेली सङ्घ ९इयु० सम्बन्धको बहस गरेको छ । यसमा परिवर्तनशील भू–राजनीतिक गतिशीलता र नवीकृत सहकार्यका अवसरहरूको मूल्याङ्कन गरिनेछ ।

    फोरमले गेट्स फाउन्डेसनसँगको साझेदारीमा विश्वव्यापी स्वास्थ्य वित्त पोषणको अस्थिरतालाई पनि सम्बोधन गर्ने बताएको छ । जसमा घट्दो अन्तरराष्ट्रिय सहायताले हासिल गरेको प्रगतिलाई जोखिममा पार्ने अवस्थामा प्राथमिक स्वास्थ्य सेवा प्रणालीहरूलाई सुदृढ पार्न नयाँ खोजबारे बहस भएको छ ।

    कृत्रिम बौद्धिकतालाई दुईधारी तरबारका रूपमा चित्रण गरिएको समस्यालाई जेजु पिस इन्स्टिच्युटको सहकार्यमा हुने अर्को सत्रको बहसमा एआईको जिम्मेवार सैन्य प्रयोगमा केन्द्रित भएर यसको विस्तृत विश्लेषण गरिएको छ ।

    ‘सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसन’सँगको एक सत्रमा बदलिँदो विश्व व्यवस्थामा जोखिम र अवसरहरू, व्यापार, कूटनीति र शक्तिको पुनःसंरक्षणमा यसको प्रभावको मूल्याङ्कनसहित विकसित हुँदै गरेको अमेरिका–चीन सम्बन्धको अध्ययन र असरबारे बहस भएको थियो ।

    विश्वका १६० भन्दा बढी मुलुकका छ हजार बढी सहभागी र करिब ५०० वक्ताले दोहा फोरमलाई अझ प्रभावशाली र गरिमामय बनाएको छ । विश्वव्यापी संवाद मञ्चका रूपमा फोरमले सहयोग, जवाफदेहिता र साझा प्रगतिलाई अगाडि बढाउँदै कूटनीतिलाई साझेदारीसँग जोड्न प्रयास गरेको छ ।

    उद्घाटन समारोहमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जस्सिम अल थानीले भन्नुभयो, “विश्वमञ्चमा कतारको भूमिका संवाद र मध्यस्थता कायम राख्न केन्द्रित छ । हामी कुनै पक्षको समर्थन नगरी, द्वन्द्व समाधान र मानवीय पीडा अन्त्यका लागि सहयोग गर्छौं ।” उहाँले गाजा र युक्रेनमा शान्ति स्थापनाको प्रयासमा कतारले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो ।

    फोरमको अर्को एक सत्रले बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनसँगको साझेदारीमा विश्वव्यापी स्वास्थ्य वित्त पोषणको अस्थिरताबारे छलफल गरेको थियो । त्यसक्रममा घट्दो अन्तरराष्ट्रिय सहायताले विश्वका स्वास्थ्य कार्यक्रमको प्रगतिलाई जोखिममा पार्ने अवस्था सृजना गरेकाले प्राथमिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न नयाँ संरचनाको खोजी गर्न जरूरी भएकामा जोड दिइएको थियो ।

    दोहा फोरम २०२५ मा विश्वप्रसिद्ध उद्यमी र माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि विश्वव्यापी स्वास्थ्य प्रणाली सुदृढ पार्न वित्तीय सहयोग र प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भविष्यका स्वास्थ्य चुनौती सामना गर्न हामीले सामूहिक प्रयास गर्नुपर्छ र प्रणालीगत सुधारमा ध्यान दिनुपर्छ ।”

    कतारको अल–राया दैनिकले दोहा फोरम २०२५ को महत्त्वलाई विशेष रूपमा उजागर गर्दै यो फोरम अहिलेको संवेदनशील विश्व परिस्थितिमा अत्यधिक आवश्यक भएको टिप्पणी गरेको छ । “फोरमले राजनीतिक तनाव, मानवीय सङ्कट र तीव्र प्रविधि–परिवर्तनका बीच विश्वलाई न्यायपूर्ण दिशातर्फ अघि बढाउन योगदान गर्नेछ”, दैनिकले लेखेको छ । 

    दोहा फोरमले कतारलाई केबल आयोजकमात्र नभई विश्वको भविष्य निर्माणमा सक्रिय साझेदारका रूपमा स्थापित गरेको छ । फोरममा आयोजित विभिन्न सत्रहरूमा मध्यस्थता, गाजा सङ्कट, विश्व स्वास्थ्यका लागि वित्तीय स्रोत, कृत्रिम बौद्धिकताको रणनीति र प्रमुख शक्तिहरूबीचको सम्बन्धजस्ता प्रमुख विषयलाई प्राथमिकता साथ उठाएको छ । यी छलफलहरूले दिगो, सन्तुलित र न्यायपूर्ण विश्व निर्माणका लागि व्यावहारिक समाधान खोज्नु अपरिहार्य रहेको सन्देश दिएको सहभागीहरूको भनाइ छ ।

    दोहा फोरम २०२५ ले बहुपक्षीय कूटनीतिप्रतिको कतारको दृढ प्रतिबद्धता पुनःपुष्टि गरेको र विश्वका गम्भीर चुनौती समाधान गर्न संवाद र सहकार्यको बाटो सुदृढ बनाएको अल–रायाले जनाएको छ ।

    सत्यको खोजीका लागि मिडिया शक्तिको भूमिका 

    अन्तरराष्ट्रिय मिडियासँगको सहकार्यमा ‘मिडियाको शक्ति र सत्यको खोज’ शीर्षकमा सम्पन्न अर्को एक महत्वपूर्ण छलफल कार्यक्रममा विश्वका विभिन्न देशका वरिष्ठ सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो । 

    स्काई न्यूजकी पत्रकार याल्दा हाकिमले सञ्चालन गरेको ‘प्यानल’ छलफल कार्यक्रममा विश्वमा देखिएका जल्दाबल्दा समस्या र समाधानका उपायलगायतका विषयमा घनीभूत छलफल भएको थियो । अमेरिकी राजनीतिक बहस कार्यक्रम टकर कार्लसन नेटवर्कका कार्यकारी प्रमुख र सहसंस्थापक नील पटेलले सहआयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले गाजा क्षेत्रमा स्थलगत समाचार सङ्कलनमा खटिने पत्रकारहरूको सङ्घर्ष र साहसको स्वागत गरेका थिए । 

    उनीहरूले स्मार्ट उपकरण र मोबाइल फोनमा विशेषगरी सामाजिक मिडिया प्लेटफर्महरूमा सधैँजसो प्रस्तुत हुने आधुनिक पत्रकारिताको अभ्यासमा नयाँ मिडियाको बढ्दो महत्त्वलाई पनि जोड दिए । यसले आधुनिक युगमा समाचार र सूचनाको प्रसारमा क्रान्ति ल्याएको र प्रविधिको विकाससँगै आमसञ्चारकर्मीहरू त्यसमा अभ्यस्त हुनुपर्नेमा जोड दिइएको थियो ।  

    वक्ताहरूले पत्रिका, रेडियो स्टेसन, समाचार एजेन्सी र टेलिभिजन नेटवर्कसहित परम्परागत मिडियाद्वारा उत्पादित समाचार सामग्रीको वितरण विस्तार र गति बढाउन यी प्लेटफर्महरूको महत्त्वमा जोड दिनुभएको थियो ।  

    उनीहरूले केही आधुनिक मिडिया उपकरणहरूको नकारात्मक पक्षलाई पनि छलफलका विषयमा समावेश गरेका थिए । विशेषगरी अपुष्ट जानकारीको द्रुत प्रसार वा गलत वा भ्रामक सामग्री उत्पन्न गर्ने एआई प्रविधिहरूबारे पनि कार्यक्रममा विशेष रूपमा उठान गरिएको थियो ।

    समापनका अवसरमा ‘प्यानलिस्ट’हरूले अविश्वसनीय, प्रमाणित स्रोतको अभाव भएका भ्रामक वा मनगढन्ते समाचारहरू फैलाउने मिडियाबाट जोगिन, सिर्जनशील र सार्थक पत्रकारितालाई प्राथमिकता दिन,  सञ्चारकर्ममार्फत समाजको विकास र प्रगतिमा योगदान पुर्याउन र एआईको सदुपयोग गरी अझ परिष्कृत एवं जिम्मेवारपूर्ण पत्रकारिता गर्न आग्रह गर्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.