सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या


  •    न्युजभित्तो/१८ मंसिर २०८२, बुधबार १४:२४ 
  • चितवन, १७ मङ्सिर । एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने गरेको पाइएको छ । यहाँका सङ्क्रमितहरुले खुल्दा रोजगारी र घरपरिवारमा समस्या हुने गरेको एवं नखुल्दा सेवा पाउन समस्या हुने गरेको बताएका छन् ।

    माडी नगरपालिकाकी अस्मिता महतो (नाम थर परिवर्तित)ले सङ्क्रमित भनेर खुल्दा रोजगारी नपाउने र नखुल्दा सेवा नपाउने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “खुल्दा पनि समस्या नखुल्दा पनि समस्या कसरी हामीले काम गर्ने रु” 

    आफुले काम गरिराखेको संस्थाले एचआइभी सङ्क्रमित भन्ने थाहा पाएपछि कामबाट निकाला गरेको उहाँले बताउनुभयो । आफूले एआरटी खान थालेको थाहा भएपछि रोजगारी खोसिएको उहाँले गुनासो गर्नुभयो । परिवार चलाउन समस्या परेर काम गर्दा पनि रोजगारीबाट निकालिएको गुनासो गर्दै उहाँले सङ्क्रमित भनेर खुल्दा समस्या भएको बताउनुभयो ।

    परिवारबाट सहयोग पाए पनि काम गर्ने स्थानमा भने सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो । भरतपुर महानगरपालिकाकी ५६ वर्षीया अम्बिका देवकोटा (नाम थर परिवर्तित)ले सङ्क्रमित नखुल्दा पनि समस्या हुने गरेको गुनासो गर्नुभयो । आफूले विसं २०६९ देखि एचआइभी एड्स सङ्क्रमित भएर औषधि खाँदै गर्दा पनि अहिलेसम्म खुल्न नसकेको उहाँले बताउनुभयो । 

    औषधि खाँदै गरेको भए पनि घरमा छोरालाई बाहेक कसैलाई थाहा नदिएको उहाँको भनाइ छ । उपचारका क्रममा आफ्नो व्यापार व्यवसाय सबै गुमाएको भए पनि उहाँ अहिलेसम्म खुलेर आउन सक्नुभएको छैन । उहाँले भन्नुभयो, “किराना व्यवसाय गरेका थियौँ, त्यो पनि सकियो, अहिले ज्याला मजदुरी गरेर बस्नुपरेको छ ।”  

    कालिका नगरपालिकाकी अस्मिता सुवेदी (नामथर परिवर्तित) आफूलाई सङ्क्रमित भएको थाहा पाएपछि परिवारबाट समेत हेला हुनुपरेको बताउनुहुन्छ । आफू अहिले ५६ वर्ष भए पनि सुरुआती समयमा सासू र नन्दले घरबाट बाहिर निकालेपछि त्रिपाल टाँगेर बस्नुपरेको गुनासो गर्नुभयो । 

    उहाँले भन्नुभयो, “श्रीमान्का कारण आफूले परिवारबाट पाउनुपर्ने दुःख पाएको छु, परिवारले खान नदिएर छिछि र दुरदुर गर्ने गरेका थिए ।” पानी लिन धारामा जाँदासमेत परिवारका सदस्यले अन्य धारा प्रयोग गर्ने गरेको भए पनि अहिले खुलेपछि भने पाउने सहयोग पाएको उहाँको भनाइ थियो । अहिले औषधि खाँदै समाजमा परिवर्तनका लागि काम गर्दै आएको उहाँले बताउनुभयो । आफू घर परिवार र समाजमा परिचित भए पनि मिडियामा नाम नराख्न उहाँको आग्रह छ ।  

    बागलुङका ६५ वर्षीय रामचन्द्र आचार्य (नाम थर ठेगाना परिवर्तित)ले खुलेर आउन नसक्दा समाजमा गुम्सिएर बस्नुपरेको बताउनुभयो । खुलेर आउँदा समाजले सुरुवातमा समस्या परे पनि अहिले त्यस्तो समस्या नभएको भन्दै सबैले मिलेर एड्ससँग लड्नुपर्ने उहाँले बताउनुभयो । आफूलाई सङ्क्रमण देखिएपछि काम गरेको कम्पनीले निकालेर नेपाल आउँदा घरपरिवारबाट समेत घृणाको व्यवहार बेहोर्नुपरेको उहाँले बताउनुभयो । रोजगारी गर्न जाँदासमेत कार्यालयका अन्य कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा समस्या झेल्नु परेको उहाँले बताउनुभयो ।

    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले सन् २०३० सम्ममा एचआइभी एड्स सङ्क्रमण शून्यमा झार्ने योजनासहित काम गरिएको बताउनुभयो । अहिले सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको स्वास्थ्यलाई मध्यनजर गर्दै काम गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले पहिलेको तुलनामा खासै ठूलो समस्या नभए पनि यसलाई शून्यमा झार्नका लागि समुदायमा चेतना बढाउन आवश्यक छ ।” 

    एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआइभी सङ्क्रमितलाई समाजले सहज रुपमा लिएर राम्रो व्यवहार गरिदिनुपर्ने बताउनुभयो । खुलेर नियमित औषधि खाएमा रोग नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.