सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुम्ला एक महिनाभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिदै


  •    न्युजभित्तो/५ माघ २०७६, आईतवार ०९:२५ 
  • बाजुरा । हुम्ला जिल्ला अब एक महिनाभित्र राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोलामाथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन ।

    हुम्लालाई सडक सञ्जालले जोड्न नेपाली सेनाले अहोरात्र काममा जुटिरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले कालीकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्मको एक सय ४५ किलोमिटर सडकको निर्माण जिम्मा पाएको छ । ती मध्ये कालीकोट ४० किलोमिटर, बाजुरा ४४ किमि र बाँकी हुम्ला जिल्लामा रहेको जनाइएको छ ।

    कर्णाली करिडोरअन्तर्गत सो खोलामा बेलिब्रिज निर्माणसँगै बाजुरा र हुम्ला सडकसँग जोडिएका हुन् । पुलले जोडेको हुम्ला र बाजुरालाई एक महिनाभित्र सवारी साधनले पनि जोड्ने छ ।

    सेनाले कवाडी खोला बेलिब्रिज निर्माण कार्य सम्पन्न गरेको जनाएको छ । लगातारको वर्षा र हिमपातका कारण सडक निर्माण तथा आवश्यक सामान ढुवानी गर्न सेनालाई समस्या बनाएको जनाइएको छ । कवाडी नदीमा बेलिबिज्रको काम सम्पन्न भएसँगै हुम्लामा सवारी साधन सहजरुपमा सञ्चालन हुनेछन् ।

    कर्णाली करिडोरको तिथिचौर क्याम्पका सहसेनानी शङ्कर सिलवालले महिना दिनभित्र हुम्लाको अदानचुली गाँउपालिकाको गल्फागाडसम्म यातायात सञ्चालन हुने जानकारी दिनुभयो ।

    कवाडी नदीमा बेलिबिज्र जडानपछि हुम्ला जिल्लाको १६ किमि बाटोमा यातायात सञ्चालन हुने देखिन्छ । हुम्ला र बाजुराको सिमानामा पर्ने कवाडी नदीसम्म ८४ किमि रहेको छ । त्यहाँबाट अदानचुली गाउँपालिकाको गल्फागाडसम्म १६ किलोमिटर रहेको छ ।

    दशकौँसम्म खच्चड, भेडा र मान्छेले ढुवानी गर्नुपर्ने बाध्यता केही समयमै हट्ने हुम्ला ताजाकोट मैला गाँउपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिनुभयो । सडकसँग जोडिएसँगै हुम्ला जिल्लाको तल्लो क्षेत्रका स्थानीय खुशी भएका छन् ।

    गाडी चढ्ने रहरसँगै सहज ढुवानी सेवा पनि पाउने भएपछि स्थानीय खुशी देखिएका छन् । हुम्लावासी वर्षौँदेखि हिँडेर नै यात्रा गर्नुपर्ने र महँगीको मार सहनुपर्ने बाध्यतामा छन् ।

    सडक निर्माणमा पनि सेनाले तीव्र गतिका साथ काम गरिरहेको छ । हुम्लाका स्थानीयले हाल हप्तादिन भन्दा बढी हिँडेर बाजुरा कालीकोट पुगेर गाडीको यात्रा गर्ने गरेका छन् । सवारी सुविधा नहुँदा महँगो हवाई भाडा खर्च गर्नुपर्ने बाध्यता रहेको छ । बिरामीलाई समेत समयमै सुविधा सम्पन्न अस्पतालमा पुर्याउने आशमा हुम्लावासी छन् । सो सडक खण्ड सेनाले विस २०७१ चैतबाट निर्माण शुरु गरेको हो ।

    लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटतालगायत प्रतिकूलता औँल्याउँदै सरकारले २०७१ मा सो करिडोरलाई विशेष परिस्थितिको सडकमा परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । यस सडकको निर्माणमा दुई अर्ब ८४ करोड ११ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.