सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितुवाको आक्रमण नरोकिँदा त्रास, बीस महिनामा आठ बालबालिकाले गुमाए ज्यान


  •    न्युजभित्तो/२ माघ २०७६, बिहीबार १७:२० 
  • तनहुँ । बीस महीनाको अवधिमा तनहुँका तीन पालिकामा चितुवाको आक्रमणबाट आठ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ६, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालबालिकाले ज्यान गुमाएका हुन् ।

    भानुमा पछिल्लो समय चितुवाको आक्रमण रोकिए पनि अझै ढुक्कसँग बस्ने अवस्था नरहेको स्थानीय मायादेवी अधिकारीले बताउनुभयो । “चितुवाले कतिबेला आक्रमण गर्ने हो थाहा छैन, ढुक्कसँग बस्न सकेका छैनौ,” उहाँले भन्नुभयो, “साँझ पर्न थालेपछि सतर्कता अपनाउने गरेका छौ ।”

    चितुवा आतङ्कका कारण साँझ ५ बजेपछि घरबाट बाहिर निस्कन बन्द गरिएको शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका फूलमाया नेपालीले बताउनुभयो । “साँझ पर्न थालेपछि चितुवा देखिन थालेकाले सबै घरभित्रै बस्ने गरेका छौं,” उहाँले भन्नुभयो । स्थानीय महिला घाँस दाउरा गर्न जङ्गलमा जान छाडेका छन् । स्थानीयवासी काजी खत्रीले विद्यालय पुर्याउन र विद्यालयबाट ल्याउन अभिभावक बालबालिकासँगै जाने गरेका सुनाउनुभयो ।

    भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा आक्रमणबाट सबैभन्दा बढी भानुवासी प्रभावित भएकाले ढुक्कसँग बस्नसक्ने अवस्था निर्माण गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिका–१, २, ३ र ४ का सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि नौ वटा काठको खोर बनाइएको छ । उहाँका अनुसार चितुवा नियन्त्रणका लागि उक्त खोर प्रभावकारी देखिएको छ ।

    पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढ्दै गइरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो । मानवबस्तीमा चितुवा प्रवेश गरी बालबालिकालाई आक्रमण गर्न थालेपछि जिल्लास्थित डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नगरपालिका र सामुदायिक वनका पदाधिकारीले नरभक्षी चितुवा नियन्त्रणका विभिन्न प्रयासहरू जारी राखेको बरालले जानकारी दिनुभयो ।

    चितुवा नियन्त्रण गर्न भानुमा थापिएको काठको खोरमा हालसम्म पाँच र ब्यास नगरपालिका–९ को फलामको खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आइसकेको छ । उक्त चितुवालाई सुरक्षित रुपमा अन्यत्रै स्थानान्तरण गरिएको छ ।

    चितुवाका आहारा मृग, बँदेल, खरायो आदि लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बरालले बताउनुभयो । “ठूलो मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकोले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ,” बरालले भन्नुभयो । अँध्यारो र घर आसपास झाडी भएको ठाउँबाट चितुवाले आक्रमण गर्ने देखिएकोले त्यसमा सर्तक हुन भनिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले तनहुँमा चितुवा नियन्त्रणका लागि प्रदेश सरकारबाट रु तीस लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।

    डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट ज्यान गुमाउने भानुका ६ बालबालिकाका परिवारलाई राहतस्वरुप जनही रु दश लाख उपलब्ध गराइसकेको र बाँकी दुई बालकका परिवारलाई राहत वितरणका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.