सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दुई हात्ती कतार पठाइँदै


  •    न्युजभित्तो/१६ भाद्र २०८२, सोमबार १२:५७ 
  • चितवन, १६ भदौक । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ । उहाँले भन्नुभयो, “हात्ती राख्ने खोर निर्माणको प्रक्रिया अघि बढाइएको छ । खोर बनेपछि हात्ती पठाउँछौ ।” भैरहवा विमानस्थलबाट पठाइने भएकाले खोर निर्माणपछि दाउन्नेको बाटोको अवस्था हेरेर चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उहाँले बताउनुभयो । कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली ७ वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छावा हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले खोर निर्माणको काम अघि बढाएको छ ।

    कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार कोष र नेपालका लागि कतार राजदूतावासका बीचमा खोर निर्माण गरी भैरहवा विमानस्थल पु¥याएर जहाज चढाउने सम्मको कामका लागि सम्झौता भइसकेको छ । उहाँका अनुसार ‘कोटेसन’ मार्फत खोर निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । उहाँले भन्नुभयो, “दसैँअघि सम्ममा खोर बनाउने गरी तयारी गरेका छौँ ।”

    राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माणको प्रक्रिया अघि बढाएको हो । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरी बताउनुहुन्छ । खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पूजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् ।

    यसअघि नेपालले विभिन्न मित्रराष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ ।

    विसं २०४४ सालमा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये ६ वटाको मृत्यु भएको छ । यहाँ जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो हो ।

    यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.