सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली


  •    न्युजभित्तो/१३ भाद्र २०८२, शुक्रबार ११:३९ 
  • भद्रपुर (झापा), १३ भदौ । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटीरहनुभएको थियो ।

    शरीर कमजोर भए पनि उहाँको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै छ । कारण–जीवनसाथी जस्तै बनेको आरन, हथौँडा र फलामसँगको नाता । बराइलीको जन्म धनकुटाको पाख्रिबासमा भएको हो ।

    बाल्यकालदेखि नै आरन–हथौँडा देखेर हुर्किएका उहाँ २०३४ तिर झापाको साविक गोलधाप बजार आउनुभयो । यहाँ आएपछि उहाँले ‘दुर्गा फलाम रिपयरिङ सेन्टर’ नामक पसल खोजेर कुखुरी, बञ्चरो, हँसिया, चुलेसीजस्ता दैनिक जीवनमा प्रयोग हुने औजार बनाउन थाल्नुभयो । “धान रोप्ने बेला किसान हँसिया ‘माग’ गर्न आउँथे, मकै टिप्ने बेला चुलेसी बनाइदिन भन्थे । कसैको घरमा चक्कु बिग्रियो भने मर्मतका लागि यही पसल खोजिन्थ्यो”, बराइली भन्नुहुन्छ ।

    बराइलीका अनुसार सुरुदेखि नै कामको कमी कहिल्यै भएन । तर आज उमेरले ७० वर्ष टेक्दा साथीमध्ये कतिले पेसा छाडिसके, कतिले बुढ्यौलीले काम गर्न सकेनन् । बराइली भन्नुहन्छ, “अझै पनि पसलमै दिन बिताउँछन् । बिहान पसल सफा गर्छन्, फलाम तताउँछन् र हातले कुटेर औजार बनाउँछन् ।”

    जीवनमा धेरै उतारचढाव देख्नुभएका उहाँ हाल श्रीमतीसँगै गोलधापमा बस्नुहुन्छ । दुई छोरी विवाह गरेर आ–आफ्नो घरमा छन् । एक छोरा भारतीय सेनामा, अर्को दुबईमा वैदेशिक रोजगारीमा छन् । सन्तान बिर्तामोडमा बस्छन् तर बराइलीलाई भने गोलधापकै पसल प्रिय छ ।

    “मेरो जीवन यही आरनमै बित्यो, यही मेरो घर हो”, बराइली भावुक हुँदै भन्नुहुन्छ । तर उहाँसँगै यो सीप हराउने डर पनि बढेको छ । “छोरानाति कसैले सिक्न चाहेनन्, सबैको सपना सहर वा विदेशमै छ । अब मेरोपछि यो काम सकिने भयो,” उहाँले दुःखेसो पोख्नुभयो ।

    बराइलीमात्र होइन, देशभर परम्परागत सीप बोकेका कारिगर लोपोन्मुख अवस्थामा छन् । बढैया, शिल्पी, कामी वा लोहारसबैलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ । तर, बराइलीजस्ता सीपधारीहरू हाम्रो समाजका लागि जीवित प्रेरणा हुन् । जीवनभर पुर्ख्यौली पेसालाई अँगाल्नुभएका उहाँले परिवार पाल्न सके, समाजलाई योगदान दिए । तर अहिले उनको आरनमा गुन्जिने फलामको आवाज क्रमशः मन्द हुँदै गएको छ । बराइली भन्छन्, “म यो आरनसँगै बाँचेँ, यहीँ मर्छु पनि । तर यो सीप बाँचिराखोस् भन्ने मेरो चाहना हो ।”

    उहाँको चाहना केवल व्यक्तिगत इच्छामात्र होइन, मौलिक सीप जोगाउन समाज र सरकार दुवैको चुनौती पनि हो । अब प्रश्न उठ्छ – हामी मौलिक पेसा जोगाउन तयार छौँ वा बराइलीसँगै हराउँदै जान दिनेछौँ ? रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.