सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब पोखराबाट अष्ट्रेलिया उडान


  •    न्युजभित्तो/१२ भाद्र २०८२, बिहीबार ११:२६ 
  • काठमाडौँ, १२ भदौक ।  पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । 
    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उहाँले बताउनुभयो । 
    आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ । “सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने योजना बनाएको छ । पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ ।  औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ । छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला”, सूचना अधिकारी भूलले भन्नुभयो । 
    यो उडान भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ । 
    यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो । असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो ।
    पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ ।
    यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई÷तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताउनुभयो । उहाँका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि  अनुमति मागेको छ । 
    भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो । “चार्टर्ड उडान दिगो भएमा काठमाडौँजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ । सुरुमा भूटान एयरलाइन्सले काठमाडौँ–पारो–काठमाडौँ उडान गर्नेछ । उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ”, सूचना अधिकारी भूलले भन्नुभयो । भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ ।
    हाल हिमालय एयरलाइन्सले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान सुरु गरेको थियो । विमानस्थलमा हिमालयका साथै सिचुवान र भूटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ । 
    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भयो । यो विमानस्थलमा अन्तरराष्ट्रिय उडान विस्तार हुने क्रम जारी छ ।
    तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब लागतमा निर्माण भएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यस विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । 
    हाल भूटानको सरकारी वायुसेवा कम्पनी ड्रुक एयर र भूटान एयरलाइन्सले काठमाडौँमा नियमित उडान गरिरहेका छन् । भूटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ प्रयोग गरेर पारो–काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ–पारो भएर हप्ताको चार दिन उडान गरिरहेको छ । ड्रुक एयरले पारो–काठमाडौँ–पारो–दिल्ली–काठमाडौँ ‘ओभर फ्लाइट’ गरिरहेको छ । आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडान अनुमति पाएर सेवा सञ्चालन भएमा त्यसले पनि यसको प्रचारमा टेवा पुग्ने विश्वास गरिएको छ ।
    प्राधिकरणका अनुसार चार्टर्ड उडान अनुमति दिन केही समस्या नभए पनि नियमित उडानका लागि भने अब पोखरा र भैरहवा वेस भएर उडान गर्नेगरी अनुमति दिइनेछ । नेपालले हाल ४२ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । हवाई सम्झौता पुनरावलोक गर्दा भैरहवा र पोखरा उडान थपिनेछ । कुनै पनि वायुसेवा कम्पनीलाई पोखरा र भैरहवाबाट चार्टर्ड उडान गर्न दिन कुनै समस्या नभएको सूचना अधिकारी भूलले बताउनुभयो । प्राधिकरणको विवरणमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर नेपालका तीन हवाई सेवा प्रदायक कम्पनीसहित ३० एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् ।
    भैरहवामा जजिरा र थाई एयर एसियाले उडान गर्दै    
    भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन् । यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित भएको थियो । थाई एयर एसियाले अक्टोबाटर २६ देखि सुरु हुने ‘विन्टर सेडुअल’ मा उडान गर्नेगरी तयारी गरेको छ । हप्तामा दुई उडान गर्ने एयरलाइन्सको योजना छ । यस्तै, जजिरा एयरले पनि विन्टर ‘सिजन’मा उडान गर्ने योजना बनाएको छ । हाल भैरहवाबाट नियमित उडान गरिरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान लामो समयदेखि हुन सकेको छैन । 
    काठमाडौँ मलेसिया र मलेसियाबाट भैरहवा उडान गरिरहेको एयरलाइन्सले विमानको अभावमा उडान स्थगित गरेको जनाइएको छ । गौतमबुद्ध विमानस्थलमा विभिन्न चार्टर्ड उडान सञ्चालन भइरहेका छन् । प्राधिकरणका सूचना अधिकारी भूलले विन्टर सिजनबाट थाई एयर एसिया र जजिरा एयरलाइन्सले नियमित उडान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    जजिराले हाल कुवेतबाट काठमाडौँ उडान गर्दै आएको छ । भैहरवाबाट जजिरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुवै विमानस्थलमा अरू विदेशी वायुसेवा पनि आकर्षित हुने प्राधिकरणको विश्वास छ ।
    जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरिसकेको छ । विसं २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरेको यस वायुसेवाले त्यसअघि साढे दुई महिना उडान गरेर प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो । एयरलाइन्सले पुनः नियमित उडान सुरु गर्न लागेको हो ।
    पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ । हाल यहाँबाट हुने अन्तरराष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो । सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो । यी दुई विमानस्थलको अन्तरराष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ ।
    यी दुवै विमानस्थलको अन्तरराष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.