सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाजुभाइले दिदीबहिनीको दीर्घायुका लागि व्रत बस्ने पर्व ‘अटवारी’


  •    न्युजभित्तो/८ भाद्र २०८२, आईतवार ११:३७ 
  • घोडाघोडी (कैलाली), ८ भदौ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज आफ्नो मौलिक पर्व ‘अटवारी’ विशेष आस्था र हर्षोल्लासका साथ मनाउँदैछन् । माघीपछिको दोस्रो ठूलो पर्वका रूपमा लिइने अटवारी विशेषगरी पुरुषहरूले निराहार व्रत बसेर मनाउने महत्त्वपूर्ण पर्व हो । कुनै महिलाहरू पनि स्वेच्छाले व्रत बस्ने गर्छन् ।

    यो पर्व हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार मनाइने गरिन्छ । आइतबार मनाइने हुनाले यो पर्वलाई ‘अटवारी’ भनिएको हो । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । यो पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । अटवारी पर्वको धार्मिक महत्व महाभारतको कथासँग जोडिएको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरी बताउनुहुन्छ ।

    थारू समुदायमा पाण्डव पुत्र भीमलाई वीरता र शक्तिको प्रतीकका रूपमा पुज्ने गरिन्छ । धार्मिक मान्यताअनुसार पाण्डवहरू अज्ञातबासमा रहँदा भीमले आफ्ना दाजुभाइ र परिवारको रक्षाका लागि आइतबारको दिन पानीसमेत नपिई निराहार व्रत बसेका थिए । त्यही व्रतको प्रभावले उनले अपार शक्ति प्राप्त गरेको विश्वास गरिन्छ । सोही किंवदन्तीअनुसार व्रत बस्दै अटवारी पर्व मनाउने प्रचलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो । यस पर्वमा सूर्यको पनि विशेष पूजा गरिन्छ ।

    अटवारी पर्वको तयारीस्वरूप बर्तालुहरूले शनिबार राति खाना खाने चलन छ, यसलाई ‘भन्सरीया भात’ भनिन्छ । नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष चौधरीका अनुसार आइतबार बिहानैदेखि बर्तालु पानीसमेत नपिई निराहार व्रत बस्छन् । व्रत बसेको दिन स्नान गरी पूजापाठ गर्ने चलन छ ।

    पूजापछि विभिन्न मौलिक परिकारहरू पकाइन्छ । जसमा अन्दीको चामलको रोटी अनिवार्य हुन्छ । त्यसैगरी फुलौरी, केरा, काँक्रो, अम्बा, दही र गेडागुडीजस्ता खानेकुरा पकाइने गरेको अध्यक्ष चौधरी बताउनुहुन्छ ।

    यस पर्वको सबैभन्दा विशिष्ट सांस्कृतिक पक्ष ‘अग्रासन’ हो । व्रत खोल्नुअघि तयार पारिएका सबै परिकारबाट एक–एक भाग छुट्याएर आफ्ना विवाहित तथा अविवाहित दिदीबहिनीका लागि राख्ने गरिन्छ । यही छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अध्यक्ष चौधरीले भन्नुभयो, “अग्रासन नछुट्याएसम्म बर्तालुले केही पनि खाँदैनन् । यो दिदीबहिनीप्रतिको अगाध स्नेह र सम्मानको प्रतीक हो ।”

    पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै बर्तालुहरूले पुनः स्नान गरी पूजा गर्छन् । सोमवार पूजाआजा गरेपछि व्रत खोलिन्छ । त्यसपछि दाजुभाइले आफ्ना दिदीबहिनीका लागि छुट्याइएको ‘अग्रासन’ र अन्य कोसेली लिएर उनीहरूको घर पुग्छन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिन्छन् र दाजुभाइले ल्याएको प्रसाद ग्रहण गर्छन् । यसले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका सचिव अमन चौधरीले बताउनुभयो ।

    अटवारी पर्वले थारू समुदायमा सामाजिक एकता र पारिवारिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने गरेको सचिव चौधरीले बताउनुभयो । यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत र दाङलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।

    पर्वको महत्वलाई सम्मान गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसअघि, प्रदेश सरकारले अटवारी पर्वका अवसरमा साउन २५ गते बिदा दिने निर्णय गरेको थियो । तर तिथि फरक परेकाले थारू समुदायको आग्रहमा बिदाको मिति संशोधन गरिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.