सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार


  •    न्युजभित्तो/२ भाद्र २०८२, सोमबार १५:५९ 
  • गोरखा, २ भदौ । ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा पनि गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर । आफूजस्तै दिनरात श्रम गरेर खाने दाँैतरीहरुसँग उहाँको समय बित्छ । 
    लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्दै आउनुभएको छ । घरले चर्चेको बाहेक कति पनि जग्गा नभएका उहाँलाई असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के । “थुक्ने जग्गा पनि आफ्नो छैन”, उहाँ भन्नुहुन्छ, “सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गामा सरकारले बनाइदिएको सानो घर र दुई÷चारवटा कुखुरा छन् । त्यत्ति हो । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छ ।” 
    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ रहेको छ । तीमध्ये गोरखाका चेतबहादुरको आठ सदस्य पनि विगत ४५ वर्षदेखि यही बसोबास गर्दै आएको छ । उहाँ २०३८ सालमा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आउनुभएको थियो । आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको चेतबहादुर बताउनुहुन्छ । ‘‘१० वर्षको हुँदा बा बित्नुभयो, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, उहाँले भन्नुभयो, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन् । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’ भनेपछि जानै प¥यो ।” 
    उहाँका दिदीबहिनी दुवैले तेह्रकिलो बजारमा बिहे गरेकाले आफूहरु पनि दिदीबहिनी नजिकै बस्न आएको उहाँले बताउनुभयो । “दुवैजनाले क्षेत्रीसँग बिहे गरेछन् । दिदीको बुढा गाडी चालक थिए, हामी पनि दिदीकै रेखदेखमा यहीँ बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर सवारी सहयोगीको काम गरेँ”, उहाँले भन्नुभयोे । 
    खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरु नवलपरासी पनि पुगेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नहुन्छ, “यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेपछि हामी आमा छोरा नवलपरासी पनि झ¥यौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्नुहुन्थ्यो । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन, अनि एक वर्षपछि तेह्रकिलोमै फर्कियौँ । म यहाँ आको केही वर्षपछि आमा पनि फर्किनुभयो ।”
    चेतबहादुरले २०–२२ वर्षको उमेरमा नजिकैको पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गर्नुभयो । बिहेपछि पैसा कमाउने लालसाले दुईपटक कतार र एकपटक साउदी पनि पुग्नुभयो । चेतबहादुर र कमलाको दुई छोरा र एक छोरी छन् । उहाँहरुको जेठो छोरो अनिल अर्काको गाडी चलाउँछन्् । छोरी अनिता तेह्रकिलोकै मगर परिवारमा बिहे गरेर गएकी छिन् भने कान्छो छोरो अशोक हाल वैदेशिक रोजगारीमा छन् । हाल उहाँको परिवारमा दुई छोरा, बुहारीहरु, तीनजना नाति र एक नातिनी छन् ।
    हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको उहाँले बताउनुभयो । उहाँलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । न उहाँले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ गरेका छन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखेर भने उहाँ खुसी हुनुहुन्छ । ‘‘अन्ततिरको कुसुन्डाहरुले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिको बारेमा केही थाहा हुन्थ्यो होला”, उहाँले भन्नुभयो । आफूहरुले अरू हिन्दूहरुसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “दसैँ, तिहार सबै मनाउँछौँ । अरूहरुले सरह नै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं । हाम्रो कुलायन पूजामा चाहिँ भाले चढाउनु पर्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.