सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो


  •    न्युजभित्तो/२६ श्रावण २०८२, आईतवार १०:४२ 
  • कञ्चनपुर, २५ साउन । महेन्द्रनगरस्थित नेत्रज्योति संघद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ। उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका बिरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन्।

    अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ। अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार उक्त अवधिमा मोतियाविन्दु भएका छ सय ३४ जनाको शल्यक्रिया गरिएको छ भने पाँच हजार ४१३ जनालाई चस्मा वितरण गरिएको छ।

    ‘आँखा उपचार सेवालाई गुणस्तरीय बनाएका छौँ,’ उनले भने, ‘अन्य स्थानका तुलनामा सेवा सस्तो पनि छ, स्वदेशी वा विदेशी भनेर कुनै विभेद गरिँदैन, सबैलाई समान शुल्क लिएर समान व्यवहार गरी उपचार गरिँदै आएको छ।’

    उनका अनुसार यही कारणले अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ। अस्पतालमा सेवा लिनेमा एक हजार ६६७ जना भारतीय नागरिक रहेका छन्। नेत्र अधिकृत धामीका अनुसार भारतीय बिरामीको चाप बढ्नुमा अस्पतालको गुणस्तरीय, विभेदरहित सेवा र अतिरिक्त शुल्क नलिइनेलगायत रहेको छ।

    ‘मोतियाविन्दु, आँखामा मासु पलाएका, नेत्र ज्योतिको समस्या भएका, चस्मा लाग्ने, परेला फर्केकालगायत बिरामीको शल्यक्रिया मेसिनका माध्यमबाट अस्पतालमै गरिँदै आएको छ’, उनले भने, ‘जलविन्दु भएका, आँखाको नानी (रेटिना) प्रत्यारोपण गर्नुपर्ने जटिल प्रकृतिका बिरामीलाई शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा ‘रेफर’ गरिँदै आएको छ।’

    उनका अनुसार हाल दैनिक अस्पतालमा एक सय १५ देखि एक सय २० जनासम्म बिरामी आँखा उपचारका लागि पुग्ने गरेका छन्। बिरामीबाट लिने शुःल्कबापतको रकम बचत गरी अस्पताल सञ्चालनमा खर्च गरिँदै आएको उनको भनाइ छ।

    आर्थिक वर्ष २०८१/८२ मा विद्यालय र दुर्गम स्थानमा आँखा शिविर सञ्चालन गरी थप सेवा प्रवाह गरिएको छ। विद्यालयस्तरका छ शिविरमार्फत एक हजार ९०० विद्यार्थीलाई सेवा दिइएको थियो भने स्थानीय तहस्तरमा आयोजित शिविरबाट तीन हजार ९०० जनाले सेवा लिएका छन्।

    विसं २०४२ मा आँखा उपचार केन्द्रका रूपमा उक्त अस्पतालको स्थापना गरिएको थियो । पछि २०७० सालमा १० शय्याको आँखा अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो।

    अस्पताल सञ्चालन हुँदै आएको भवनमा शल्यक्रिया गर्न अप्ठेरो हुन थालेपछि भवन निर्माणका लागि नगरपालिका र प्रदेश सरकारलाई आग्रह गरेका छौँ, आश्वासन पाएका छौँ, अहिलेसम्म बजेटको टुंगो नलागेको नेत्र अधिकृत धामीले बताए।

    हाल वायु प्रदूषणका कारण आँखा पाक्ने (भाइरल) रोगको संक्रमण बढेको उल्लेख गर्दै सर्वसाधारणलाई यस रोगबाट बच्न दैनिक सफा पानीले आँखा सफा राख्ने, घरभन्दा बाह्य क्षेत्रमा जाँदा क्याप टोपी, कालो चस्माको प्रयोग गर्न उनले सल्लाह दिएको छ। रोगको संक्रमण भइहाले आँखा अस्पतालमा पुगेर चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने उनी बताउँछन्।

    विसं २०३५ मा स्थापना भएको नेपाल नेत्रज्योति संघ नेपालकै अग्रणी गैरसरकारी संस्था हो। यसले सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ। २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत संघले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ, भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.