सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी


  •    न्युजभित्तो/२३ श्रावण २०८२, बिहीबार १६:४३ 
  • फिक्कल (इलाम), २२ साउन । गाउँघरमा गाईपालनलाई अझैपनि परम्परागत र सामान्य आम्दानीको स्रोत मान्ने गरिन्छ । इलामको सूर्योदय नगरपालिका-३ रुङसुङका गोपाल आचार्यले यो सोच परिवर्तन गर्दै गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । उहाँले गाईपालनलाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउँदै आउनुभएको हो । 
    आचार्यले ‘पञ्चामृत गाईफार्म’ सञ्चालन गरी दूध बिक्रीबाट मात्र मासिक रु दुई लाख ८८ हजारदेखि रु तीन लाख ६० हजारसम्म आम्दानी गर्दै आएको जानकारी दिनुभयो । फार्मबाट दैनिक १६० देखि २०० लिटरसम्म दूध उत्पादन हुने जनाउँदै उहाँले नजिकै पञ्चामृत डेरी उद्योगमा प्रतिलिटर रु ६० का दरले बिक्री गरिरहेको बताउनुभयो ।
    विसं २०७० मा राष्ट्रिय वाणिज्य बैंकबाट रु १० लाख ऋण लिएर गाईपालन व्यवसाय सुरु गर्नुभएका आचार्यका फार्ममा अहिले ३४ वटा माउगाई छन् । “तीमध्ये १२ वटा दूहुना र बाँकी ब्याउने अवस्थामा छन् । फार्ममा बाच्छाबाच्छीका लागि छुट्टै गोठ निर्माण गरिएको छ । व्यवसाय थाल्दा कुनै अनुभव थिएन, गाई दूहेर दूध बेच्ने मात्रै सोचेको थिएँ”, उहाँले भन्नुभयो, “विस्तारै यसको सम्भावना ठूलो रहेछ । अनुभवले सिकाउँदै लगेको छ ।”
    आचार्यले गाईपालनबाट भएको आम्दानी सोही व्यवसायमा पुनःलगानी गर्दै आउनुभएको छ । हालसम्म करिब रु ३० लाख निजी लगानी भएको फार्मको मूल्य अहिले रु एक करोड हाराहारीमा पुगेको उहाँले जानकारी दिनुभयो । दूध ढुवानीका लागि आचार्यले फार्मको आम्दानीबाट पिकअप गाडी खरिद गर्नुभएको छ । सो गाडीमार्फत बिहान दूध बिक्री गर्न डेरीसम्म लैजाने र दिउँसो गाईका लागि दानापानी ओसारपसार गर्दै आएको उहाँले बताउनुभयो ।
    पारिवारिक सहयोगसँगै फार्ममा तीन जनाले रोजगारी पाएका आचार्यले जानकारी दिनुभयो । दुई जनाले फार्मका लागि एक जना गाडी चलाउन कर्मचारी राखेको उहाँले बताउनुभयो । “आफूमात्र खटेर भ्याइँदैन, गाईफार्ममा दुई जना कामदार र पिकअपमा एकजना ड्राइभर राखेको छु”, उहाँले भन्नुभयो, “उनीहरूको तलबमा मात्र मासिक रु ४२ हजार खर्च हुन्छ ।”
    उहाँले गाईपालनसँगै २०० रोपनी क्षेत्रमा घाँसखेती पनि विस्तार गर्नुभएको छ । गाईलाई आवश्यक पर्ने घाँस जोहो गर्न उहाँले आफ्नै ७० रोपनी र १३० रोपनी जमिन भाडामा लिएर घाँसखेती लगाउनुभएको हो । बीस रोपनी क्षेत्रमा सुपरनेपियर, ४० रोपनी क्षेत्रमा अम्रिसो र बाँकीमा डाले तथा स्थानीय प्रजातिका भुँइघाँस रोप्नुभएको छ । 
    उहाँले गाईको गोबरबाट तयार पारिएको मल बिक्रीबाट वार्षिक रु एक लाख अतिरिक्त आम्दानी गर्दै आएको जानकारी दिनुभयो । आचार्यले उत्पादित मल स्थानीय चिया सहकारी संस्था तथा चिया किसानले खरिद गरेर लैजाने गरेका बताउनुभयो ।
    आचार्यलाई फार्म सञ्चालनका लागि आंशिक सरकारी सहयोग पनि प्राप्त भएको छ । कोशी प्रदेश सरकारले दुई वर्षअघि दूध दूहुने उपकरण खरिदका लागि रु दुई लाख ५० हजार अनुदान दिएको छ भने भकारो सुधारका लागि सूर्योदय नगरपालिकाबाट रु २० हजार पाउनुभएको छ ।
    गाईपालन व्यवसायबाट सफलता प्राप्त गर्नुभएका आर्चायले लम्पीस्कीन रोगका कारण १४ वटा माउगाई गुमाउनुपरेको उल्लेख गर्नुभयो । बिमाबाट रु ४० हजार क्षतिपूर्ति पाएको भन्दै उहाँले अन्य सरकारी सहयोग नपाएको गुनासो गर्नुभयो । “बिमाबापत रु ४० हजार मात्रै पाएँ, अन्य कुनै राहत कतैबाट पाइएन”, उहाँले भन्नुभयो, “तर पनि मैले हिम्मत हारेको छैन, अझ व्यवसाय विस्तार गर्ने योजनामा छु ।”
    पैसा कमाउन विदेश गइरहन नपर्ने भन्दै आचार्यले स्वदेशमा नै सीप विकास गरी स्वरोजगारमूलक काम गर्न सकिने धारणा राख्नुभयो । “बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा बसेर स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन गाउँमै व्यावसायिक गाईपालन सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “बैंकको कर्जा विस्तारै तिरिसक्न लागेँ, अर्कोवर्ष कर्जा चुक्ता गरेपछि अझ गाई थप्ने योजनामा छु ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.