सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए तमु ल्होसार, कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी


  •    न्युजभित्तो/१५ पुष २०७६, मंगलवार २१:४३ 
  • काठमाडौँ । गुरुङ समुदायले पुरानो मृग वर्षलाई बिदाइ गरी नयाँ मुसा वर्षलाई स्वागत गरेर हर्षोल्लासका साथ ‘तमु ल्होसार’ पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येकवर्ष पुस १५ गते नयाँ वर्षका रुपमा ल्होसार मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको हो ।

    परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसा, गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।

    यस अवसरमा तमू ह्यूल छोँज धीँ गुरुङ राष्ट्रि«य परिषद्ले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभयो । तमू ल्होसारका मूलसमारोहमा सहभागी हुनुभई उहाँले विभिन्न जिल्लाबाट राजधानी आई बसेका गुरुङ समुदायले प्रस्तुत गरेको मौलिक पहिचानसहितको सांस्कृतिक झाँकी अभिरुचिपूर्वक हेर्नुभएको थियो ।

    कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले हिमाल, पहाड र तराई एवं गरीब तथा धनीका बीचको खाडल अहिलेको स्थिर सरकारले पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय एकताको प्रदर्शन गरी समृद्ध नेपाल निर्माण गर्न सबै जातजातिको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले ५९ जातिका पर्व सार्वजनिक बिदा दिनुपर्ने साझा माग रहेको बताउनुभयो ।

    दुईवर्ष अघिदेखि प्रतिष्ठानको बजेट समेत कटौती गरिँदा काम गर्न नसकिएको उहाँको गुनासो थियो । यसवर्ष रु तीन करोड मात्र बजेट दिइएको प्रतिष्ठानले जनाएको छ । ३७.८ प्रतिशत जनसङ्ख्या रहेको जनजातिलाई लोकतान्त्रिक गणतन्त्र आएपछि अन्याय भएको उपाध्यक्ष गुरुङको भनाइ थियो ।

    वर्तमान सरकारले जनजातिका पर्वको पाँच वटा बिदा काटेर विभेद गरेकोप्रति गुरुङ समुदायले विरोध जनाएका छन् । वर्षभरको १५ दिन सार्वजनिक बिदामा ११ दिन एउटै धार्मिक एवं सामाजिक समुदायका लागि दिइनु विभेद्को उदाहरण भएको गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङको तर्क थियो ।

    नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले तमु ल्होसारलाई राष्ट्रिय पर्व घोषणा गर्न माग गर्नुभयो । तमु जातिलाई मात्र बिदा दिँदा विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको बताउनुहुँदै ल्होसार, माघी र माघे सङ्क्रान्तिलाई मासेर नेपाल भ्रमण वर्ष पनि सफल नहुने उहाँको विचार थियो ।

    कार्यक्रममा परिषद्का सल्लाहकार गणेशमान गुरुङले पुस १५ लाई राष्ट्रिय बिदा दिनुपर्ने माग गर्नुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले गुरुङ समुदायबाट मन्त्री बन्नुभएका मन्त्री पार्वत, गुरुङ समुदायको इतिहासका विषयमा चीनको सिचुवान विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका टेकबहादुर गुरुङ, १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीद्वय पार्वती गुरुङ र मीनु गुरुङ लगायतलाई सम्मान गर्नुभएको थियो ।

    टुँडिखेलमा १५० भन्दा बढी कक्ष स्थापना गरी गुरुङ समुदायले उत्पादन गरेका चीजबीजका साथै खानालगायत सांस्कृतिक प्रदर्शनी पनि गरिएको थियो । मूलसमारोहको कार्यक्रमअघि वसन्तपुरबाट शहरका विभिन्न भाग परिक्रमा गर्दै टुँडिखेलसम्म विभिन्न जिल्लाबाट राजधानी आइबसेका गुरुङ समुदायले सांस्कृतिक झाँकीसहित प्रदर्शनी गरेका थिए । पर्वका अवसरमा आज बेलुकीसम्म नै लोकदोहोरीलगायत सांस्कृतिक प्रदर्शनी, गीत, नृत्यलगायत प्रदर्शनी गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.