सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन


  •    न्युजभित्तो/३० बैशाख २०८२, मंगलवार १०:३८ 
  • गैंडाकोट, २९ वैशाख । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सँस्कृति, विकास र साझेदारीको नमूनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताउनुभयो । उहाँले संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकासमा र रोजगारी सृजनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको साझेदारीको उत्कृष्ट नमूनाको रुपमा मौलाकाली केवलकार तथा यो पर्यटन पूर्वाधार रहेको बताउनुभयो ।

    मन्त्री पाण्डेले यस मोडललाई मुलुकका विभिन्न स्थानमा बन्ने अन्य पर्यटकीय संरचनाले अनुसरण गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति, पर्यटन तथा हवाई नीति छिटै परिमार्जन गर्ने बताउँदै यो क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

    समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा मौलाकाली केवलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधारको विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाएमा थप लगानी गर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो “उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।” उहाँले लगानीको वातावरण बनाउने काम सबै तहका सरकारको रहेको र लगानीको मौखिक आह्वान नभई निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार मानेर ठोस र व्यवहारिक नीतिमार्फत अर्थपूर्ण सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

    उहाँले अगाडि थप्नुभयो “मौखिक रुपमा गरिने आह्वानहरुले मात्र पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यवहारिक नीति मार्फत अर्थपूर्ण रुपमा सहजीकरण गर्नुपर्छ । सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी पर्यटकीय संरचनाहरु बनाउन जरुरी छ । म पुनः दोहोर्‍र्याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।”

    उहाँले पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकिने बताउँदै उहाँले पर्यटन पूर्वाधारको लगानीले तत्काल प्रतिफल दिने समेत बताउनुभयो । उहाँले भन्नुभयो “हामीले पर्यटन पूर्वाधारमा लगानी गर्ने हो भने पर्यटकको बसाई लम्बाउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ । पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ ।”

    “यसले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ, गरिबी घटाउने छ, मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ”, अध्यक्ष ढकालले भन्नुभयो । “त्यसैले म फेरि पनि भन्छु, सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा सरकारलाई बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह तथा सुझाव छ ।” उहाँले भन्नुभयो ।

    गैडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गैडाकोटमा ठूलाठूला पर्यटन पूर्वाधार बनेकोमा खुशी व्यक्तगर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफुहरु तयार रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै गैडाकोट नगरपालिकाका पूर्व मेयर छत्रराज पौडेलले पर्यटन पूर्वाधारको विकासले स्थानीयस्तरमा आर्थिक गतिविधि बढेको उल्लेख गर्दै यस्ता थप पूर्वाधार विकासमा राज्य तथा निजीको ध्यानाकर्षण समेत गराउनुभयो ।

    धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले केबलकारको निर्माणपछि मन्दिरमा आउने दर्शनार्थीहरुको संख्या बढेको बताउनुभयो । उहाँले होटलको सञ्चालनसँग मन्दिरमा आउने तीर्थालु तथा भक्तजनहरुको संख्या थप बढ्ने अपेक्षा समेत गर्नुभयो ।

    मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको यस होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन् ।

    केबलकार सहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।

    आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ । हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रकृयामा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.