सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई छठपूजा समापन


  •    न्युजभित्तो/१७ कार्तिक २०७६, आईतवार १०:०० 
  • काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएको थियो ।

    उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

    गुह्येश्वरी मन्दिर अघिको वाग्मतीबाट गौरीघाटसम्म नदीकिनारको दायाँबायाँ बेहुली झैँ सिङ्गारेर छठघाट बनाइएको थियो । यो स्थानमा ६५६ छठघाट निर्माण भएको थियो । यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठघाट सिङ्गारिएको थियो । यी छठघाटमा लाखौँ भक्तजनले हिजो बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामा सूर्य उपापना पर्व अन्त्य गरेको छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष रामबाबु महासेठले जानकारी दिनुभयो ।

       जनकपुरधाम

    आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

    व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।

    अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

    छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

    धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

    छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

    ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि दर्शनीय रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.