सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ अब हट्ने


  •    न्युजभित्तो/१५ कार्तिक २०७६, शुक्रबार १५:२६ 
  • सञ्चिता घिमिरे
    काठमाडौँ । सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो ।

    अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ । प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’ अबको केही दिनभित्रै सञ्चालनमा ल्याइने भएको छ । डेढ महिना पहिले ल्याइएको उक्त उपकरणको जडान र परीक्षण सकिएकाले अब सञ्चालनमा ल्याउन लागिएको हो ।

    अबको केही दिनसम्म परीक्षण भएपछि उपकरण पूर्णरूपमा सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ । उपकरणका धेरै भाग छुट्टिएर आउने हुँदा त्यसको जडान र प्रविधि जडानको काम यो अवधिमा भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार उपकरणमा ‘सफ्टवेयर’ कै लागि लामो समय लागेको हो । उहाँले भन्नुभयो, “हाम्रो सबै विवरण भएका कम्प्युटर र प्रिन्टरको जडानका लागि समय लागेको हो ।”

    अहिले परीक्षणका लागि चालक अनुमतिपत्र छपाइ भइरहे पनि अहिलेसम्म पूर्णरूपमा सञ्चालनमा आउन बाँकी रहेको उहाँले बताउनुभयो । परीक्षणका क्रममा कुनै पनि किसिमका समस्या नआएकाले पूर्णरूपमा सञ्चालन गर्न समस्या छैन । छपाइका क्रममा कार्ड स्पष्ट आएको छ । उहाँले भन्नुभयो, “पूर्णरूपमा चलाउन अब कुनै बाधा छैन ।”

    विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनबाट झण्डै साढे सात लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । यो सङ्ख्या अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तिर्ण र नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीको हो । यो उपकरण पूर्णरूपमा सञ्चालन हुँदा तीनदेखि चार महिनामा सबै कार्ड छापिसकिने विभागले अनुमान गरेको छ ।

    काठमाडौँ उपत्यकामा सेवाग्राहीले आवेदन दिएकै दिनमा अनुमतिपत्र पाउने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । काठमाडौँ उपत्यका बाहिरबाट विवरण आउन र छापिएपछि बाटोमा समय लाग्दा मात्रै ढिलाइ हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उपकरणका कारण अब ढिलो हुँदैन ।”

    ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ खरीद गरेको थियो । उपकरणले चाँडो काम गर्ने भएकैले विभागले ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले रु १० लाख कार्ड खरीदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । तीमध्ये चार लाख कार्ड आइसकेको र बाँकी छ लाख आउने क्रममा रहेको विभागले जनाएको छ ।

    विभागले गत वर्ष ग्लोबल खरीद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो । अहिले विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत अनुमतिपत्र पाएका छैनन् । कतिपय कार्ड भने छापिएको लामो समय हुँदासमेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन भएको कार्यालयहरुले बताउँदै आएका छन् ।

    स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान भएका छन् । भक्तपुरका अनन्त नेपाल स्मार्ट चालक अनुमतिपत्र बने÷नबनेको बुझ्न तीन पटकसम्म कार्यालय पुग्दा पनि नबनेको भन्दै फर्कन परिरहेको बताउनुभयो । उहाँले भक्तपुरको जगातीबाट चालक अनुमतिपत्रका लागि परीक्षा पास गर्नुभएको थियो ।

    तीन पटकसम्म पनि त्यहाँ कार्यरत कर्मचारीले विभागबाट बनेर नआएको भनेपछि उहाँ एक पटक बुझ्नका लागि विभाग पुग्नुभयो । विभागले चालक अनुमतिपत्र बनेपछि कार्यालयमा नै जान्छ भन्ने र कार्यालयमा तीन पटकसम्म नआएको बताएपछि अहिले कतै पनि जान छाडेको उहाँले बताउनुभयो ।

    सडकमा छड्के जाँच हुँदा उहाँले कार्यालयमा राजश्व तिरेको कागज देखाएर हिँड्ने गर्नुभएको छ । उहाँले भन्नुभयो, “रसिदको नम्बर नबुझिने भएर अहिले लेमिनेशन गरेर बोकेको छु ।”

    विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको थियो । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये अहिले तीनवटा मात्रै काम गर्ने अवस्थामा छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.