सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक ‘सामा–चकेवा’ पर्व आज शुरु हुँदै


  •    न्युजभित्तो/१५ कार्तिक २०७६, शुक्रबार १०:२९ 
  • महोत्तरी ।  मिथिलामा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चकेवा पर्व आज शुरु हुँदैछ ।    
        
    कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन बोलीचालीमा ‘सामा’ भनिने सामा–चकेवा पर्व शुरु गर्ने मैथिल परम्परा छ । यसै परम्पराअनुसार मिथिलाका ललना (छोरीचेली, दिदीबहिनी) ले आज सामा खेल शुरु गर्ने तयारी गरेका हुन् । कात्तिक शुक्ल पञ्चमीका दिन शुरु गरिने यो पर्व एघारौँ दिन कात्तिक पूर्णिमाका सामा–चकेवाको विसर्जन गरी समापन गरिनेछ ।    
        
    आजदेखि दश दिनसम्म मिथिला क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै दीर्घायुको कामनाका साथ सामा–चकेवा खेल्नेछन् । कात्तिक शुक्ल पञ्चमीका दिन (आज) मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँ/नगर बस्ती छेउका खेत तथा पाखामा गएर सामा–चकेवा बनाउन दाजुभाइको हातबाट माटो खनेर ल्याई सो माटो मुछेर विभिन्न प्रकारका कलात्मक सामा–चकेवा (माटाका मूर्ति, आकृति) बनाउनेछन् । सामा–चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्ग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइनेछ । रङ्गिसकेको सामा–चकेवा रातको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियोबाली गाउँ/नगर बस्तीका चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर दश दिनसम्म गीत, नाच गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने चलन छ ।    
        

    मिथिलानी (मिथिलाका नारी) ले सामा खेल्न बनाएका सामग्रीमा सामा, चकेवा, सप्तर्षि, बृन्दावन, चुगला (कुरौटे) र सतभैया नाम दिइएका पात्र हुने गर्छन् । सामा खेल्नेबेला दाजुभाइको सौर्य बखान गरिएको सुरिलो भाकाका गीतसँगै चुगलालाई गालीफजिती पनि गर्ने गरिएको छ । यसरी ‘चुगला’ लाई गरिने गालीमा कुरा लगाएर माया प्रेम टुटाउन खोज्ने कुरौटेको कहिल्यै भलो नहोस् भन्ने भाव समेटिएको हुन्छ ।    
        
    दाजुभाइ–दिदीबहिनीबीच प्रेम दर्शाउने यो पर्व करीब साढे पाँच हजार वर्षपहिले द्वापर युगबाट शुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा ‘मुक्ति’ बताउनुहुन्छ ।    
        
    कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको झाको भनाइ छ ।

    सामाचकेवा पर्वमा प्रयोग भएका आकृतिले पनि यो पर्व द्वापर युगमै शुरु भएको छनक दिन्छ । श्रापमा परेका बहिनी सामा र उनका प्रेमी चक्रधर (चकेवा) लाई श्रापमुक्त गराउने उपायबारे साम्बले सप्तर्षिबाट अर्ती पाएपछि शिवको तपस्या गरेका बताइन्छ । त्यसैगरी श्रीकृष्णको अतिप्रिय नन्दन वन रहेको बृन्दावनमा आगो लागेको कथा खेलमा वर्णित छ । यद्यपि यो आगो लाग्यो भन्ने कुरा चाहिँ सामा र चकेवाको प्रेमसम्बन्धबारे चलेको चर्चाको प्रचारतर्फ सङ्केत रहेको विद्वानहरु बताउँछन् ।    
        
    सामा खेल्दा मिथिलानीले “बृन्दावनमें आइग लागल कोई न मुझाव रे.., हमर साम्ब भैया बृन्दावनके आइग मुझाव रे…!” (बृन्दावनमा आगो लाग्दा कसैले निभाएनन्, हाम्रै दाइ साम्बले त्यो निभाए) भन्ने भावको गीत गाएबाट पनि यो कुरा देखिने विद्वानहरुको मत छ । सामा खेलमा समूहगतरूपमा चेलीबेटी तथा छोरीबुहारी “गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइदिय” (गाउँका ठूला भनेकै मेरा ठूला दाजु हुन्, उनले पोखरी खनेर सुगन्धित चम्पा फूल लगाइदिनेछन्) भन्ने भावका गीत गाउने गर्छन् । दाजुभाइको बहादुरी र सौर्यको बखान गर्दै संसारमा असम्भव मानिएका परोपकारी काम आफ्ना दाजुभाइले भने सहजै गर्ने दिदीबहिनीको गीतको भाव हुने गरेको छ । दिदीबहिनीले समूहमा गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् ।    
        
    दश दिनसम्म सामा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामा–चकेवालाई पुनः रङ्गरोगन गर्ने गर्छन् । दिनभरि ती आकृति सुकाएर बेलुका सामा–चकेवालाई दहीचिउरा खुवाउने र दाजुभाइको फार (पोल्टा) भराउने चलन छ । यसलगत्तै दाजुभाइबाट सामा–चकेवा फुटाउन लगाएर ती टुक्रा बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले बस्ती नजीकको निर्जन जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।    
        
    मिथिलाका चेलीबेटीबीच यो खेल अत्यन्त प्रिय छ । सामान्यतया सामा माइतमै खेलिने भए पनि माइत पुग्ने अनुकूलता नभएका दिदीबहिनीले घरमै यो पर्व मनाएर समापनमा दाजुभाइलाई आफ्नो घर बोलाउने गर्छन् । मिथिलामा सामा–चकेवा पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेमको प्रतीक मानिएको छ ।    
        
    यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोलछिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यो पर्व मनाउँछन् । सामा–चकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप मिथिलामा यो पर्व लोकप्रिय बनेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.