सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आठ वर्षपछि मुद्दा जितिन् पूजाले


  •    न्युजभित्तो/११ कार्तिक २०७६, सोमबार २३:१७ 
  • विनोद सिंह विष्ट
    बैतडी । विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन् । एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी थिइन् ।

    पाटन नगरपालिका–१ साविकको कैलपाल गाविसबाट उनी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी थिइन् । चौध वर्षीया पूजा एसएलसीको गेसपेपर किन्न पसलमा जाँदा पसलेहरुबाटै सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।

    जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र चाँदनी फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अमर अवस्थीले उनीमाथि कुकृत्य गरेका थिए । उनीहरु दुबैलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । सर्वोच्चको फैसलापछि पूजाले आफूले ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन् – “न्याय पाउँछु भन्ने आश मरिसकेको थियो । ढिलै भए पनि न्याय पाएँ ।”

    गेसपेपर किन्न गएको सम्म याद छ उनलाई र त्यसपछि के भयो भन्ने थाहा छैन । उनले भनिन् – “गुमेको होश काठमाडौँमा उपचारपछि आयो । जीवनमा सबै थोक गुमाएको जस्तो लाग्छ ।”

    जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गर्दा निकै खुशी लागेको पूजा बताउँछिन् । उनले भनिन् – “न्यायको खुशी साट्न नपाउँदै फेरि पुनरावेदनमा जानुपर्यो ।”

    छ भाइबहिनीमध्ये चौथो सन्तान हुन् पूजा । आमाबुवाले घरमै खेतीकिसानी गरेर छोराछोरी पढाइरहेका थिए । पूजाका बुवा रामसिंहले भने – “छोरीलाई पढाएर ठूलो मान्छे बनेको हेर्ने धोको थियो, बीचमै यस्तो घटना घट्यो । आठ वर्षपछि न्याय पाउन सकें, खुशी छु ।”

    घरपरिवारको आर्थिक अवस्था पनि कमजोर थियो तर पनि उनले जीवनदेखि हार खाएन । लड्दै गए । सर्वोच्चमा लामो समय मुद्दा लम्बिँदा पूजाले धेरै व्यवधानको सामना गर्नुपर्यो । काठमाडौँमा छ वर्षसम्म रक्षा नेपाल संस्थाले जिम्मेवारी लिएको भए पनि पछि संस्थाले आफूमाथि गलत दृष्टिकोणले हेरेको पूजाको दुःखेसो छ । “मलाई उक्त संस्थाले पढाइ र बासको व्यवस्था गरेको थियो,” उनले भनिन् – “पछि केही दिन मसाज सेन्टरमा काम गर्ने केटीका कोठामा राखिदियो ।”

    पूजा अहिले कानून विषयको स्नातक चौथो वर्षमा पढिरहेकी छन् । गएको दुई वर्षदेखि उक्त संस्थाबाट निस्किएर होस्टल बस्दैआएकी छन् ।

    कलेज पढ्दा खेरि सात महिनासम्म शुल्क तिर्न नसकेको स्मरण गर्दै उनले भनिन् – “कलेजमा पनि सबै कुरा भन्नुपथ्र्यो म यस्तो समस्याबाट यहाँसम्म पुगेँ भनेर ।” दुई वर्षदेखि घरपरिवारले र दाङ तुलसीपुर घर भई हाल अमेरिकामा बस्दै आएकी लीला डांगीले आफूलाई सहयोग गर्दै आएका उनले बताइन् ।

    पूजा अझै पनि समाजमा घुलमिल हुन सकेकी छैनन् । समाजले आफूमाथि अझै पनि गलत दृष्टिले हेर्न गरेको उनले सुनाइन् र भनिन् – “घरबाहिर निस्कन समेत गार्हो हुने गरेको छ । दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै मैले न्याय पाउँदिनँ, समाजमा पुनःस्थापनाको ग्यारेण्टी हुनुपर्छ ।”

    बलात्कार भएपछि घरपरिवार सबै छोड्नुपर्ने र गाउँ समाजमा फर्किएर सामान्य रुपले जीवन जिउन नसकिने उनको अनुभव छ । अदालतले न्याय दिन ढिलाइ गरेको गुनासो गर्दै उनले भनिन् – “न्याय दिने कुरा त छिटो गर्नुपर्छ । न्यायमा राजनीति हुनुहुँदैन ।”

    काठमाडौँस्थित चक्रवर्ती कानून कलेजमा स्नातक चौथो वर्षमा अध्ययनरत पूजाको न्यायालयमा जागीर खाने उद्देश्य छ ।
    विसं २०६८ चैत ९ गते गेसपेपर किन्न स्टेशनरी पसलमा पुगेकी उनलाई लागुपदार्थ मिसाएको मिठाइ ख्वाएर बेहोस बनाई बलात्कार गरिएको थियो । बलात्कृत बोहरा पसल नजीकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

    घटनापछि प्रहरीले जाहेरी लिन मानेन । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर पनि प्रहरीले लिन मानेन । विद्यार्थीले बजार बन्द गरेपछि मात्रै उनीहरूलाई प्रहरीले पक्राउ ग¥यो र मुद्दा चलायोे । बोहराका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा उजूरी हालिएको थियो ।
    बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहराको उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो । बैतडी जिल्ला अदालतमा भट्ट र अवस्थीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

    बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र जनही ५०÷५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । बैतडी जिल्ला अदालतले गरेको त्यही फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते उल्ट्याउँदै अभियुक्तद्वयलाई निर्दोष सावित गरेको थियो । त्यो फैसला सर्वोच्च अदालतमा पुगेर उल्टियो ।

    सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई नै सदर गरिदिएको हो । उक्त मुद्दाको कात्तिक ७ गते बिहीवार किनारा लाग्यो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.