सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकैलाई कारबाही हुनैपर्छः महामन्त्री थापा


  •    न्युजभित्तो/२४ माघ २०८०, बुधबार १३:५७ 
  • काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उहाँले सुशासनको प्रत्याभूति नागरिकले बालेर मात्रै महसुस नगर्ने भन्दै यसका लागि सरकारको काम गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री थापाले भन्नुभयो, “कुनै घटना मात्रैका आधारमा संसद्ले पनि आफ्ना मत बनाउनुहुँदैन । सार्वजनिक जग्गा हडप्ने, कीर्ते नागरिकता बनाउने, सहकारीमा जनताले जम्मा गरेको रकम ठगी गर्ने काण्डमा संलग्न जोसुकै व्यक्ति, जुनसुकै दलको वा जतिसुकै आर्थिकरुपमा सम्पन्न होस्, त्यस्ता व्यक्तिलाई कानुनबमोजिम कारबाही हुनुपर्छ ।”

    उहाँले संविधान कार्यान्वयनसँग जोडिएका कानुन बनाउन, अर्थतन्त्र चलायमान बनाउन, सङ्घीयता कार्यान्वयन गर्नेलगायत विषयमा सरकारले पनि प्रयत्न अघि बढाएको बताउनुभयो । यस विषयमा संसद्ले पनि नयाँ ढङ्गले प्रभावकारी रुपमा बैठक सञ्चालन गर्ने योजना अघि बढाएको सन्दर्भमा सबै जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्ने उहाँको भनाइ थियो । अब आरोप प्रत्यारोपभन्दा सकारात्मक रुपमा काम गर्न सबैलाई आग्रह गर्दै महामन्त्री थापाले आफ्नो पार्टीले पनि यस पटक थप जिम्मेवारीपूर्वक प्रस्तुत हुने सङ्कल्प गरेको अवगत गराउनुभयो ।

    मुलुकको शिक्षा क्षेत्रमा आमूल सुधार गरी व्यवहारिक बनाउन सकेमा केही हदसम्म अध्ययनका लागि विदेश जाने विद्यार्थी रोकिन सक्ने धारणा व्यक्त गर्दै उहाँले मुलुकमा दक्ष जनशक्ति उत्पादनका लागि पनि शिक्षामा आमूल परिवर्तनको खाँचो औँल्याउनुभयो । “सदनमा सांसदले लोकरिझाइका लागि नभई मुलुक र जनताको हितका लागि समय तालिकामा काम गर्नुपर्नेछ । अनि मात्र हाम्रो जिम्मेवारी निर्वाह हुनेछ”, उहाँले भन्नुभयो । महामन्त्री थापाले स्वास्थ्य सेवालाई पनि गुणस्तरीय र सुलभ बनाएर आमजनतामा सेवा पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले आफूले केही दिन अघि मात्र पार्टीको अभियानका क्रममा मुलुकका विभिन्न स्थानमा पुग्दा पूर्वाधारको अवस्था बेहाल अवस्थामा भएको पाएको बताउनुभयो । “हामीले पूर्वाधार समयमै निर्माण गर्न सकिरहेका छैनौँ, यो कुनै दल र व्यक्तिको मात्र सरोकारको विषय नभई समग्रतामा असफलता हो”, उहाँले भन्नुभयो, “यसमा कुनै कानुनमा समस्या भएमा त्यस्तो कानुन बदल्ने अधिकार यो संसद्सँग छ । यस पटक संसद्मा यस्ता विषयमा घनिभूतसँग छलफल गरेर समाधानको बाटो पहिल्याउनुपर्ने छ । अनिमात्र नागरिकमा परिवर्तनको आशा र भरोसा जाग्नेछ । यो सबैको जिम्मेवारी हो ।”

    सरकार वा सम्बन्धित निकायले निर्देशन दिएर मात्र जनताका समस्या समाधान नहुने तर्क गर्दै महामन्त्री थापाले यसका लागि अतिरिक्त कार्य गर्नुपर्नेमा जोड दिनुभयो । काम गर्ने तरिका नबदली परिणाम फरक नआउने उहाँको भनाइ थियो ।

    उहाँले रुसी सेनामा काम गर्न गएका युवाको उद्धारका लागि सरकारले थप पहल गर्नुपर्ने धारणा राख्नुभयो । विभिन्न प्रलोभन दिएर रुसमा युवा लैजाने गिरोहलाई पनि कारबारी गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    फरक प्रसङ्गमा उहाँले जङ्गली जनावरबाट किसानको बालीनाली जोगाउन सरकारले काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले मुलुकमा विप्रेषण भित्र्याउने युवाका कारण नै आज अर्थतन्त्र जोगिएको उल्लेख गर्दै आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन पुँजीगत खर्च बढाउन सुझाव दिनुभयो । अर्थतन्त्रमा सुधारका लागि संरचनागत सुधार आवश्यक रहेकामा जोड दिँदै उहाँले त्यसका लागि सर्वप्रथम जनतामा आत्मविश्वास जगाउने गरी सरकारले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

    महामन्त्री थापाले भन्नुभयो, “हामी संसद्मा ठूलो दल भएका नाताले जनजीविकालगायतका यावत सवालमा सरकारसँग सहयात्रा र सहयोग गर्न चाहन्छौँ । संसद्लाई सार्थक बनाउन शतप्रतिशत जिम्मेवारी निर्वाह गरौँ ।” साथै उहाँले संसद्ले सदनमा राखेका विषय सरकारले निरन्तर जवाफ दिने अवस्थाका लागि काम गर्न आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.