सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि…


  •    न्युजभित्तो/४ पुष २०८०, बुधबार ११:१९ 
  • झापा, ४ पुस । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाउनुभयो ।

    पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । मधुमेहको बिरामी उहाँ हरेक बिहान पाँच बज्नु अगावै निन्द्राबाट ब्युँझिनु हुन्छ । उक्त बिहान पनि सबेरै ब्युँझिनु भएको उहाँ आँगनबाट घरभित्र पसेको केहीबेरमै लुसुक्क छिरेरे हात्तीले घरको पर्खाल भत्काएको थियो । हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किएका थिए । गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पुर्‍यायो । एक्लै लुसुलुसु आउने जङ्गली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको न्यौपाने बताउनुहुन्छ । गाउँका मानिस घरधन्धा, गोठको काम र विद्यार्थीका लागि सबेरै उठ्ने गर्छन् । ‘मर्निङ वाक’ हिँड्ने चलन पनि गाउँमा छ । तर बिहानीपख लुसुलुसु गाउँ छिर्ने बानी परेका हात्तीका कारण विद्यार्थीको पठनपाठनसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

    जिल्लाका अधिकांश स्थानमा कक्षा ११ र १२ का मात्र नभएर स्नातक तहको कक्षा बिहान सञ्चालन हुने गरेको छ । “हाम्रो छोरो झिसमिसेमै साइकल चलाएर सात किलोमिटर टाढा धुलाबारीमा पढ्न जान्छ,” मेचीनगर–१५ सुकुम्वासी बस्तीका दुर्गाबहादुर बुढाथोकी भन्नुहुन्छ, “बाक्लो हुस्सु लागेको हुन्छ । हात्ती पनि जताततै भेटिन थालेका छन् । कलेज पठाउन पनि डरमर्दो भइसक्यो ।” झापाका १५ वटै पालिका हात्ती प्रभावित छ । डिभिजन वन कार्यालय झापाले जिल्लाको वन क्षेत्रमा हाल तीन दर्जनभन्दा बढी हात्तीले आश्रय लिइरहेको जनाएको छ । जिल्लाको सबैतिर अभिभावकहरु आफ्ना छोराछोरीलाई बिहानीपख स्कुल–कलेज पठाउन डराउन थालेका छन् ।

    बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले बस्तीमा दिनहुँ जङ्गली हात्ती पस्ने गरेको बताउनुभयो । साँझ नपर्दै बस्ती पस्ने हात्तीले मानिसलाई आक्रमण गर्ने, बाली खाएर क्षति पु¥याउने र घर भत्काउने उपद्रो गर्दै आएका छन् । जङ्गली हात्तीबाट जीउधन जोगाउन स्थानीयवासी रातभर जागा बस्ने गरेको बाँस्तोलाले बताउनुभयो । स्थानीय युवाहरु साँझ पर्ने बित्तिकै हात्तीको गस्तीमा खटिने र रातभर जाग्राम बस्ने गरेको उहाँले जानकारी दिनुभयो ।

    अभिभावकहरुलाई छोराछोरी हात्तीको लखेटाइमा पर्लान् कि भन्ने चिन्ता थपिएको छ । “जसोतसो रातभर जाग्राम बसेर हात्ती लखेट्छौँ,” उहाँले भन्नुभयो, “स्कुल पठाउँदा समेत चिन्ता हुन थालेको छ । अब घर र सडक कतै पनि सुरक्षित रहेन ।” आज बिहान कलेज जाँदा हात्तीसँग जम्काभेट भएकी कृतिका उहाँकी दाजुकी छोरी हुन् । कृतिकासँगै भतिज किरण बाँस्तोला सडकमा कलेज बसको हर्न बज्ने बित्तिकै घरबाट निस्किएको जनाउँदै उहाँले भन्नुभयो, “चिसोका कारण बाक्लो हुस्सु लागेको थियो । उनीहरु यताउता नहेरी गाडी रहेको सडकतिर उक्लँदै थिए । एक्कासि सडकमा हात्ती आइपुग्यो ।”

    दुवै विद्यार्थी विर्तामोडको निधि कलेजमा पढ्छन् । आज भागेर ज्यान जोगाउन सफल उनीहरु भोलिदेखि कलेज कसरी जाने भन्ने कुराले चिन्तित छन् । दिनभर स्थानीय आदर्श सामुदायिक वन क्षेत्रमा लुकेर बस्ने पाँच हात्ती साँझ पर्ने बित्तिकै एक्लाएक्लै गाउँ छिर्ने गरेको उहाँको भनाइ छ । दैनिकजसो गाउँ डुल्ने जङ्गल हात्तीका कारण बुद्धशान्तिको जङ्गल आसपासका बच्चादेखि वृद्धवृद्धासम्म घरबाट बाहिर निस्कन डराउँछन् ।

    डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जिल्लाभर जङ्गली हात्तीको बिगबिगी रहेको स्वीकार गर्नुभयो । उहाँले जलथल, पृथ्वीनगर, रङ्गेडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको बताउनुभयो । विभिन्न वनमा छरिएर बसेका र हूल बाँधेर हिँड्ने हात्ती नियन्त्रण गर्न स्रोत र साधनको समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकैपटकमा दश ठाउँबाट हात्ती गाउँ पस्यो भनेर खबर आउँछ । कार्यालयसँग जम्मा एउटा गाडी छ । प्रहरीको सहयोग लिएर हात्ती धपाउने काम गरिरहेका छौँ ।” उहाँले झापाको जङ्गलमा हाल ४० वटा जङ्गली हात्ती रहेको अनुमान गरिएको बताउनुभयो ।

    दैनिक घर भत्किएका र बालीनाली खाइदिएको लगायतका समस्या हुने गरेको गुनासो बढ्न थालेको उहाँले जानकारी दिनुभयो । हात्तीलाई जङ्गलबाट बाहिर निस्कन नदिन मेचीनगर, भद्रपुर र हल्दिबारीको जङ्गल वरिपरि राज्यको करोडौँ लगानीमा दर्जनौँ किलोमिटर लामो विद्युतीय घेराबेरा गरिएको छ । स्थानीयले आफूखुशी घरलाई वरिपरिबाट विद्युत् तारले घेर्ने समेत उपाय गर्दै आएका छन् । तर विद्युत् तार पन्छाउन अभ्यस्त भइसकेको हात्तीले मानव बस्तीलाई निशाना बनाउन छाडेको छैन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.