सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्जिनियर बनेका चेपाङ समुदायका होमराज गाउँको सेवामा


  •    न्युजभित्तो/२७ मंसिर २०८०, बुधबार १२:५९ 
  • भरतपुर, २७ मङ्सिर । चेपाङ समुदाय शिक्षाको क्षेत्रमा अन्य समुदायभन्दा पछाडि छन् । उच्च शिक्षाका साथै डाक्टर, इन्जिनियर जस्ता विषय अध्ययन गर्ने व्यक्ति पाउनै मुस्किल हुन्छ । पछिल्लो समय यस समुदायका केही व्यक्ति उच्च शिक्षा अध्ययन गरेर प्रतिष्ठित जागिरमार्फत समुदायको सेवामा लाग्न थालेका छन् । त्यसैमध्येका एक हुन् चितवनको इच्छाकामना गाउँपालिका–१ चौकीडाँडाका २३ वर्षीय होमराज चेपाङ । उहाँले इन्जिनियरिङ गरेर आफ्नै गाउँका नागरिकको सेवामा खटिनुभएको छ ।

    होमराज गत वर्षदेखि इच्छाकामना गाउँपालिका–२ मा सब–इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ । इन्जिनियर बन्न उहाँलाई अरु समुदायजस्तो सहज थिएन । “घरको दयनीय आर्थिक अवस्था, बिहान–बेलुका के खाने भन्ने चिन्ता रहेको परिवारमा इन्जिनियर त कल्पनाको विषय नै थियो”, उहाँले भन्नुभयो, “पढ्यो भने शिक्षक त बन्छ होला भन्ने बुवाआमाले सोच्नुभएको थियो । इन्जिनियर भन्ने त उहाँहरुलाई थाहै थिएन ।” जिल्लाको रत्ननगरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रले होमराजलाई सहयोग गरेको थियो । कालिका नगरपालिका–९ स्थित चर्तुमुखी माध्यामिक विद्यालयबाट एसएलसी दिएर बसेको बेला केन्द्रका अध्यक्ष केपीकिरण शर्मासँग भेट भएपछि उच्च शिक्षाको बाटो खुलेको उहाँले बताउनुभयो । “शर्मासँगको भेटमा उच्च शिक्षामा विज्ञान विषय पढ्ने इच्छा जाहेर गरेको थिएँ । शर्माले संरक्षण केन्द्रमा राखेर रत्ननगर–१२ स्थित पञ्चकन्या माध्यामिक विद्यालयमा कक्षा १२ सम्म विज्ञान विषय अध्ययनका लागि भर्ना गरिदिनुभयो”, होमरमजले भन्नुभयो ।

    होमराजलाई विज्ञान विषय अध्ययन गराउन धेरैसँग सहयोग मागेको शर्माले बताउनुभयो । “सामाजिक सञ्जालमार्फत मागिएको सहयोगमा धेरैले साथ दिनुभयो । गणित सानैदेखि होमराजको रुचिको विषय थियो”, उहाँले भन्नुभयो ।कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएर पास भएपछि होमराजलाई इन्जिनियर विषय पढ्ने इच्छा भएकाले सामाजिक सञ्जालमार्फत पुनः सहयोग मागेर भरतपुरको नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा भर्ना गरिदिएको शर्माले सुनाउनुभयो । “केही समयपछि विदेशमा रहनुभएका एक जना साथीले सहयोग गर्नुभयो र होमराजलाई इन्जिनियर अध्ययन गराउन सफल भयौँ”, उहाँले भन्नुभयो ।

    निरन्तरको लगनशीलता र मेहनतले होमराजले इन्जिनियर पास गर्नुभयो । उहाँ चेपाङ समुदायबाट इन्जिनियर पास गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँसँगै धादिङका मनिष चेपाङले पनि सोही वर्ष इन्जिनियरिङ पास गर्नुभएको थियो । इन्जिनियर पास गरेकै महिनामा होमराजले गाउँपालिकामा जागिर पाउनुभयो । “गाउँपालिकाले इन्जिनियरका लागि आवेदन माग गरेको थियो । आवेदन दिएँ र छनोट पनि भएँ”, होमराजले भन्नुभयो । अहिले इच्छाकामना–२ को चेपाङ समुदायमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । “म स्थानीय भएकाले पनि काम गर्दा सबैबाट साथ र सहयोग पाएको छु । यसले मलाई निकै खुसी लाग्छ”, होमराजले भन्नुभयो । उहाँले आफू इन्जिनियर भएर गाउँमा सेवा गरेकाले पढिरहेका भाइबहिनीलाई पनि हौसला मिलेको बताउनुभयो । “आफ्नै समुदाय भएकाले काम गर्न सजिलो छ । भाषा बुझ्न र बुझाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो ।

    होमराजले गाउँमा जागिरसँगै समुदायमा सरकारी सेवा र सुविधाका बिषयमा सबैलाई जानकारी गराउने गरेको बताउनुभयो । “सिटिइभिटीमा चेपाङ समुदायबाट तीनवर्षे प्राविधिक शिक्षा लिन चाहनेले निःशुल्क पढ्न पाइन्छ । मैले यो कुरा सबै विद्यार्थी भाइबहिनीलाई भन्ने गरेको छु । भविष्यमा पनि आफ्नै गाउँठाउँमा रहेर सेवा गर्ने चाहना छ”, उहाँले भन्नुभयो । चेपाङ संरक्षण केन्द्रका अध्यक्ष शर्माले होमराजले इन्जिनियर पढेर गाउँपालिकामा जागिर खाँदै चेपाङ समुदायमा पैरवीसमेत गरिरहेका भन्दै यसले आफूहरूलाई खुसीसँगै उत्साह जागेको बताउनुभयो । उहाँले चेपाङ समुदायमा शिक्षामार्फत छिटो सुधार गर्न सकिन्छ भन्ने उदाहरण होमराज बनेको बताउनुभयो । उहाँका अनुसार केन्द्रमा अहिले एक सय ४२ चेपाङ बालबालिका आवासीयरूपमा अध्ययन गरिरहेका छन् । पछिल्लो समय चेपाङ समुदायबाट प्राविधिक शिक्षा पढ्ने बढ्दै गएको शर्माको भनाइ थियो ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङ समुदायका लागि होमराज उदाहरण बनको बताउनुभयो । “होमराजसँग केन्द्रमा गाउँपालिका अध्यक्ष हुनुभन्दा अघि नै भेट भएको थियो”, उहाँले भन्नुभयो, “अध्यक्ष बनेपछि पालिकामा रोजगार दिने अवसर मिल्यो ।” गाउँपालिकाले होमराजलाई चेपाङ समुदाय र स्थानीय भएकाले प्राथमिकता दिएको भन्दै उहाँले त्यो भन्दा धेरै उहाँसँग भएको योग्यता र क्षमताले पहिलो नम्बरमा छनोट भएका जानकारी दिनुभयो ।

    होमराजले गाउँमा सेवा गर्दा सका अन्य बालबालिकमा पनि प्रेरणा मिलेको अध्यक्ष गुरुङले बताउनुभयो । “हामी पनि पढ्न सक्दारहेछौँ । पढेपछि जागिर पाइने रहेछ भन्ने नयाँ पिँढीलाई सन्देश गएको छ”, उहाँले भन्नुभयो, “यस समुदायमा पढ्ने र पढाउने बानीको विकास हुनेछ ।” गाउँपालिकामा तीनरचार जना चेपाङ समुदायका कर्मचारी रहेको उहाँले बताउनुभयो । एचए र नर्सलाई पनि गाउँपालिकाले रोजगार दिएको जनाउँदै अध्यक्ष गुरुङले उनीहरू सबैले इमान्दारिताका साथ काम गरिरहेका बताउनुभयो ।पछिल्लो समय उच्च शिक्षासँगै प्राविधिक विषयतर्फ यस समुदायको आकर्षण बढेको अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाले गत वर्ष विभिन्न समुदायका विपन्न र चेपाङलाई छात्रवृत्ति प्रदान गरेको थियो । “गत वर्ष ५२ जनालाई छात्रवृत्ति उपलब्ध गराएका छौँ । छात्रवृत्तिका कारण कक्षा १२ सम्म र प्राविधिक शिक्षा पढ्न उनीहरूलाई सहज भएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । इच्छाकामना गाउँपालिकामा मात्र झण्डै १२ हजार चेपाङ समुदायको बसोबास छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.