सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै अन्धकारमा चितवनको पुरानो सदरमुकाम उपरदाङगढी


  •    न्युजभित्तो/३० आश्विन २०७६, बिहीबार ०९:५७ 
  •    कृष्ण आचार्य

    भरतपुर । चितवन देशकै सुगम जिल्लाको रूपमा परिचित छ । तर यही जिल्लाका बासिन्दा पनि बिजुलीको उज्यालोमा बस्न पाएका छैनन् । चितवनको पुरानो सदरमुकाम एवं ऐतिहासिक किल्ला उपरदाङगढीमा अझै बिजुली पुगेको छैन । हालको सदरमुकाम भरतपुरबाट करीब २५ किलोमिटरको दूरीमा रहेको इच्छाकामना गाउँपालिका–७ मा पर्ने उपरदाङगढीका नागरिक वर्षौदेखि टुकी र सोलार बाल्न बाध्य छन् ।

    सडक सञ्जालले जोडिए पनि बिजुली लैजानका लागि अहिलेसम्म ठोस पहल हुनसकेको छैन । बत्ती नहुँदा दैनिक जीवनयापन सहज नभएको उपरदाङगढीका स्थानीयवासी गणेश थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “दुनियाँ विकासको चरणमा कहाँबाट कहाँ पुग्यो, हामी भने अझै अन्धकारमा बस्न बाध्य छौँ ।” पर्यटकीय क्षेत्र, ऐतिहासिक किल्ला र चितवनको पुरानो सदरमुकाम भनिए पनि राज्यबाटै उपेक्षामा परेको गुनासो गर्दै उहाँले विद्युत् नहुँदा उपरदाङगढी घुम्न आउने पर्यटकलाई आवश्यक सेवासुविधा दिन नसकिएको बताउनुभयो ।

    “इच्छाकामना– ७ का अधिकांश क्षेत्रमा बिजुली बलेको छ तर उपरदाङगढीमा बिजुली ल्याउन बजेट छैन, वडाले हामी सक्दैनौँ भन्छ, गाउँपालिका अध्यक्षले छिट्टै आउँछ भन्ने आश्वासन दिनुहुन्छ”, थापाले भन्नुभयो । सोलारको व्याट्रीमार्फत मोबाइल चार्ज गर्ने गरेको बताउँदै उहाँले वर्षौँदेखिको बिजुली बाल्ने सपना जनप्रतिनिधि आएपछि पूरा हुने विश्वास गरेको बताउनुभयो । गढी क्षेत्रका करीब एक सय घरमा बिजुली पुगेको छैन ।

    इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले उपरदाङगढीमा बिजुली पुर्याउनका लागि यस वर्षदेखि सर्भेको काम गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा तल्लो क्षेत्रमा बिजुली पुर्याउँछौँ, आगामी वर्षसम्म उपरदाङगढीमा पनि बिजुली पुर्याउने लक्ष्य छ ।” उहाँले भौगोलिक विकटता र बजेट अभावकै कारण अहिलेसम्म बिजुली पुर्याउन नसकिएको बताउनुभयो । इच्छाकामना गाउँपालिकाका सबै वडामा बिजुली पुगे पनि सबै ठाउँमा पुर्याउन बाँकी रहेको उहाँको भनाइ छ । यस वर्ष इच्छाकामना गाउँपालिकामा बिजुलीका लागि रु छ करोड २० लाख बजेट विनियोजन भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    इच्छाकामना गाउँपालिका–७ का वडाध्यक्ष बमबहादुर थापामगरले उपरदाङगढीमा बिजुली लैजान ढिलाइ भएको स्वीकार गर्नुभयो । उहाँले यस वर्षदेखि प्राथमिकताका साथ काम गरिने बताउनुभयो । घरधुरी कम भएका कारण पनि विद्युत् प्राधिकरणका तर्फबाट बिजुली लैजान आलटाल गरिएको उहाँको दाबी छ ।

    प्रदेशसभा सदस्य घनश्याम दाहालले छिट्टै उपरदाङगढीमा बिजुली पुर्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले अहिलेसम्म विविध कारणले बिजुली पुर्याउन नसकिएको भए पनि अब कुनै बहानामा छुट नहुने बताउनुभयो । प्रदेश सरकारका तर्फबाट पनि यसका लागि सक्दो पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

    सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको थियो । विसं २०१६ सम्म महत्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए । ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने तत्कालीन दाहाखानी गाविस र हालको इच्छाकामना गाउँपालिका–७ मा पर्छ । समुद्री सतहदेखि एक हजार २७५ मिटर उचाइमा पर्ने यो किल्ला तत्कालीन बाइसे–चौबिसे राज्य एकीकरणका बेला अङ्ग्रेज फौजविरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गर्नुभएको थियो ।

    गढी सन् १८०० मा निर्माण भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको पुरातत्व विभागले जनाएको छ । अहिले गढीमा ऐतिहासिक किल्ला, तोप हान्न बनाइएका नौ आकर्षक स्थान, कोतघर र विभिन्न मन्दिरको भग्नावशेष देख्न सकिन्छ । चारैतिर विशाल र ठूला कुँदिएका ढुङ्गाले बनेको पर्खाल हेर्दैमा आकर्षक देखिन्छ । अहिले दैनिक ४० देखि ५० पर्यटक गढी घुम्नका लागि जाने गरेका छन् ।

    गढीबाट मनास्लु र अन्नपूर्ण हिमाल, प्राकृतिक दृश्यावलोकन र चितवनको समथर फाँट तथा निकुञ्जलाई राम्ररी नियालेर मनोरञ्जन लिन सकिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.