सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह


  •    न्युजभित्तो/२२ मंसिर २०८०, शुक्रबार ११:०१ 
  • काठमाडौंं, २२ मंसिर । पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

    आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ ।

    यसैगरी कोषले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कैलाशचौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चौरसहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ ।

    पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि नेपाली सेना तथा पशुपति क्षेत्र विकास कोषको सहयोगमा निःशुल्क पालको व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार आफैँ उपस्थित भई बत्ती बाल्न नसक्नेका लागि कोषमा रु दुई हजार एक सय शुल्क बुझाई बत्ती बालिदिने व्यवस्थासमेत मिलाइएको छ । त्यस्ता भक्तजनले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकामा रहेको पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्ने छ ।

    बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, जाँड–रक्सी र अन्य नशालु पदार्थ सेवन तथा बिक्री÷वितरणमा रोक लगाइएको छ । बालाचतुर्दशी पर्व आउँदो सोमबार अर्थात् यही मङ्सिर २४ गतेबाट सुरु हुँदैछ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।

    पशुपतिनाथमा लाग्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै गौशाला मित्रपार्क सडकबाट पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानाबाट पश्चिम, गौशाला तिलगङ्गा चक्रपथबाट उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीबाट दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरूपमा रोक लगाइएको कोषका सदस्यसचिव खत्रीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै हामीले जिल्ला प्रशासन कार्यालयमार्फत भगवान् पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ, उक्त सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने छ ।”

    यसैगरी बालाचतुर्दशी पर्वका लागि पशुपतिनाथमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले निःशुल्क ९१३ हजार स्क्वाएर फिट० टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको सदस्यसचिव खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “बालाचतुर्दशी पर्व लाग्ने कैलाशडाँडा र कोर एरियालाई व्यवस्थित बनाइएको छ, भक्तजनलाई कुनै समस्या आउन दिइने छैन ।”

    पशुपतिनाथमा यही मङ्सिर २४ र २५ गते लाग्ने बालाचतुर्दशी पर्वलाई सभ्य र भव्यताका साथ सफल पार्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण जनशक्ति खटिएको पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक डा खतिवडाले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.