सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुरानै विधिमा तस्कर फर्कंदा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा संरक्षणमा चुनौती


  •    न्युजभित्तो/१ मंसिर २०८०, शुक्रबार १३:०९ 
  • चितवन, १ मङ्सिर । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा तस्करले धरापमा पारेर मारेका छन् । दुवै गैँडा खाल्टोमा परेर मरेका हुन् ।

    विगत लामो समयदेखि तस्करले खाल्टो खनेर गैँडा धरापमा पारेका थिएनन् । करिव बीस वर्षअघि यसरी गैँडा मार्ने गरिएकामा पछिल्ला वर्षहरुमा गोली हानेर, करेन्ट लगाएर तस्करहरुले गैँडा मार्दै आएका थिए । निकुञ्जभित्र खाल्टो खनी धरापमा पारेर गैँडा मार्न थालेपछि निकुञ्जको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ । खाल्टो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेकोे यस घटनाले देखाएको छ ।

    निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै दुईवटा खाल्टामा गैँडालाई धरापमा पारेर मारिएको थियो । छ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दस दिनमा फेला परेको निकुञ्जको अनुमान रहेको छ । उहाँका अनुसार नजिकै अर्को खाडल पनि भेटिएको छ । पाँच सय मिटर वरपर हेर्दा थप खाल्डा भने भेटिएनन् । तस्करले खाल्टाको माटो केही पर लगेर फालेको देखिएको छ । कोदालो, गैँचीजस्ता साधन प्रयोग गरेर खाल्टो खनिएको अनुमान गरिएको छ । खाग लगेर खुर छाडिएको छ ।

    सोही क्षेत्रमा निकुञ्जले चाडपर्वको समयमा गस्ती बढाएको जनाएको थियो बिहीबार दुई मृत गैँडा भेटिँदा सोही क्षेत्रमा ५२ औँ दिनसम्म नियमित हात्तीको गस्ती थियो । दसवटा हात्तीमा निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले पूर्वी क्षेत्रमा गस्ती गरिरहँदा पनि दसैँ र तिहारको बीचको समयमा तस्करहरुले खाल्टोमा पारेर गैँडा मारेका हुन् । यो विधि प्रयोग गर्न समय लाग्ने सूचना अधिकारी तिवारीले बताउनुभयो । उहाँको भनाइमा तस्करले गैँडाको बाटो पहिचान गरी खाल्टो खनेर नजिकैबाट चियो गरेको देखिन्छ । गैँडा मरेपछि खाग काटेर लगेका हुन् । यो लामो समयसम्म निकुञ्जभित्र रहेर तस्करले निर्धक्कसँग गैँडा मारेको पाइएको छ । सो क्षेत्रमा रहेका गैँडामध्ये १२ वटा बाढीले बगाएकाले भारतीय भूमिमा पुगेर उद्धार गरी ल्याइएको थियो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले तस्करले पुरानो विधि प्रयोग गरेको पाइएको र यसले सुरक्षामा चुनौती थपिएको बताउनुभयो । निकुञ्ज प्रशासनले यो घटनालगत्तै रणनीतिक हिसाबले अनुसन्धान थालेको र तस्कर पक्राउ गर्ने जिकिर गर्दै उहाँले तत्काल पूरै निकुञ्ज ‘स्वीप’ गरिने जानकारी दिनुभयो ।

    निकुञ्जका सबै क्षेत्रमा पुग्नेगरी गस्ती बढाइने प्रमुख संरक्षण अधिकृत पुनको भनाइ थियो । कतिपय यस्ता घटना थाहै नहुने भन्दै उहाँले घटना भएको तेस्रो दिन गस्ती टोली पुगेको पनि बताउनुभयो । निकुञ्जभित्र यतिबेला बाक्लो झाडी भएकाले नजिकै पनि देख्न मुस्किल हुन्छ । प्रमुख संरक्षण अधिकृत पुनले भन्नुभयो, “सुरक्षामा चुनौती थपिएको छ । हामी यसलाई गम्भीररुपमा लिएर रणनीतिक हिसाबले काम गर्छांै ।”

    निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं हालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालले नयाँ चुनौती थपिएको बताउनुभयो । बीस(२५ वर्ष पहिले तस्करले प्रयोग गरेको विधि अहिले प्रयोग भएको भन्दै उहाँले खाल्टो खनुन्जेलसम्म पनि संयन्त्रले थाहा नपाउनु दुःखद् भएको बताउनुभयो ।

    विभाग, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल छलफल गरेर छानबिन र अनुसन्धान सूक्ष्मढङ्गले अघि बढाउने बताउनुभयो । समग्र सबै क्षेत्रमा चुनौती देखिएको भन्दै उहाँले सूष्मरूपमा निकुञ्जभित्र गस्ती गर्नुपर्नेमा जोड दिनुभयोे । उपमहानिर्देशक ढकालले भन्नुभयो, “निकुञ्जभित्र अरु पनि खाल्टा खनिएको र घटना भएको हुनसक्छ । सूष्म अध्ययन गर्नुपर्छ । समग्र संरक्षणका बिधि पद्धती, तरिकाको समीक्षा गरिनुपर्छ ।” उहाँले थप्नुभयो, “विभागले यो घटनालाई गम्भीररुपमा लिएको छ । स्थानीय समुदायसँग सहकार्य बढाएर संरक्षणमा लाग्नुपर्छ ।”

    सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरुमा वन्यजन्तु चोरी सिकारी निकै घटेर गएको थियो । कतिपय वर्षहरुमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका र तस्कर पक्राउ परेका थिए ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.