सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह


  •    न्युजभित्तो/२८ आश्विन २०७६, मंगलवार १६:०७ 
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गर्नुभयो ।

    राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान, सीप अनुभव र उद्यमशीलतालाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिगत तथा सामूहिक लगानीमार्फत समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन गैरआवासीय नैपालीलाई आग्रह गर्नुभयो ।

    “पूर्वाधार विकास, कृषिको आधुनिकीकरण एवं व्यावसायीकरण, औद्योगिकीकरण र आर्थिक समृद्धि अहिलेको हाम्रो साझा प्राथमिकता हो । सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय साझा आकाङ्क्षा पूरा गर्ने दिशातर्फ केन्द्रित छन्, विकास र समृद्धिको यो यात्रा एउटा अभियानका रुपमा अघि बढिरहेको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीलाई थप प्रोत्साहन र सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको छ ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित नेपाल अहिले आर्थिक सामाजिक विकासको युगान्तकारी चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व, दिगो शान्ति र स्थिरता कायम भएको बताउनुभयो ।

    नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग र उपयोग गर्ने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यो संवैधानिक व्यवस्थालाई व्यवहारमा उतार्न गैरआवासीय नेपालीसम्बन्धी नयाँ ऐन र नागरिकता ऐनलाई संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको बताउनुभयो । उहाँले आगामी दिनमा गैरआवासीय नेपालीलाई ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेपालको विकास र समृद्धिमा योगदान गर्ने उद्देश्यका लागि स्थापना भएको सङ्घको सक्रिय भूमिकाको प्रशंसा गर्दै उहाँले आगामी दिनमा मुलुकको विकास निर्माणमा थप सहयोग गर्नसमेत आग्रह गर्नुभयो । पूर्वाधार निर्माण, शैक्षिक उन्नयन, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्न पनि उहाँले जोड दिनुभयो । देशभित्र र देश बाहिर रहेका हामी नेपाली एउटै परिवारका पारिवारिक सदस्य रहेको भन्दै उहाँले हरेक दुई वर्षमा हुने सम्मेलन पारिवारिक मिलन समेत रहेको बताउनुभयो ।

    “देशभक्ति र मातृभूमिप्रतिको समर्पण भौगोलिक सीमाभित्रमात्र सीमित हुँदैन । राष्ट्र र राष्ट्रियताको भावना मानवजातिको विकासक्रमको उच्चतम मान्यता हो । यसले मानिसलाई व्यक्ति, परिवार र समाजभन्दा माथिल्लो तहमा सङ्गठित गरी साझा राष्ट्रिय आकाङ्क्षा एवं उद्देश्यप्राप्तिका लागि प्रेरणा दिन्छ”, उहाँले भन्नुभयो ।

    राष्ट्रपति भण्डारीले आ–आफ्नो जीवनयात्रा, बाध्यता र परिस्थितिले संसारको जोसुकै कुनामा छरिएर रहेका भए पनि सबै नेपाली एकै परिवार भएको उल्लेख गर्नुभयो । उहाँले देश बाहिर बसेका र देशभित्र रहेका नेपालीबीच निरन्तर सम्पर्क, आवतजावत, सहयोग, सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एनआरएनको भूमिका नेपाल र नेपालीको परिचय, पहिचान र उन्नतिमा मात्र सीमित नभई नेपाल र विश्वलाई भाइचारा र सद्भावनामा जोड्ने पनि हो भन्नुभयो । विश्वशान्तिका अग्रदूतको पवित्र जन्मभूमिसँग गहिरो सम्बन्ध भएका गैरआवासीय नेपालीहरुले सहिष्णुता, करुणामैत्रीको सन्देशलाई बलियोसँग आत्मसात् गर्दै उहाँले विश्वमा सद्भावना दूतका रुपमा प्रस्तुत गर्नुपर्दछ भन्नुभयो ।

    भौतिक आर्थिक सम्पन्नता र सफलतासँगै आफ्नो भाषा, साहित्य, कला तथा संस्कृतिको जगेर्ना र संरक्षणमा ध्यान पुर्याउँदै युवापुस्तामा हस्तान्तर गर्नुपर्ने दायित्वलाई नभुल्न पनि उहाँले आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले विश्वमा प्राकृतिक सम्पदाको दिगो उपयोग हुन नसक्दा जलवायु परिवर्तन भई वातावरण विनास, तापमान वृद्धिसँगै जैविक विविधता र मानवजातिको अस्तित्व नै सङ्कटमा परेको परिप्रेक्षणमा संसारभर छरिएर रहेका गैरआवासीय नेपालीले आ–आफ्नो स्थानबाट स्वच्छ वातावरण प्रवर्धनका निम्ति प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन बनाउन सङ्घले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलन, नेपाल भ्रमण वर्ष अभियानलगायतलाई सफल बनाउन गैरआवासीय नैपालीको भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई अगामी दिनमा थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले आफूहरुले एनआरएनसँग सहकार्य गरेर मुलुकको आर्थिक विकासमा सरकारलाई सहयोग गर्ने बताउनुभयो । एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन सङ्घले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सङ्घ लाग्ने बताउनुभयो । उहाँले पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी गर्ने बताउनुभयो । सम्मेलनमा ८१ मुलुकबाट दुई हजार पाँच सय प्रतिनिधि सहभागी छन् । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ तीन दिनसम्म सम्मेलन सञ्चालन हुनेछ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.