सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा असल करदातालाई स्टिकर


  •    न्युजभित्तो/१२ आश्विन २०८०, शुक्रबार १३:०४ 
  • चितवन, १२ असोज। भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताकामा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो ।

    महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान थालेसँगै स्टिकर वितरण सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको थियो । करको दायरा आएकाहरूलाई स्टिकर वितरण गरिएको हो ।

    महानगरपालिकाले विभिन्न पाँच शीर्षकमा फरक–फरक स्टिकर तयार गरेको छ । व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँच रङका स्टिकर तयार भएको जनाउँदै उहाँले तीन स्टिकर टाँस्न सुरु गरिएको बताउनुभयो । क्रमशः अन्य स्टिकरसमेत टाँस्दै जाने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “करदाताले जुन कर तिर्नुहुन्छ, उहाँहरूको फार्ममा सोही स्टिकर टाँस्न सुरु गरेका छौँ ।” स्टिकरका आधारमा अनुगमन तीव्र बनाइने उहाँले बताउनुभयो । वडा र टोल विकास समितिहरूलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आह्वान गर्न लगाइएको छ ।

    महानगरपालिकाले कर सङ्कलनका लागि ‘टास्कफोर्स’समेत बनाउँदै छ । यसले कर सङ्कलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमनसमेत गरिने छ । महानगरमा उठ्नुपर्ने करको २० प्रतिशतमात्रै उठेको भन्दै उहाँले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी कर उठाइने बताउनुभयो । चालु आवमा महानगरले रु एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । उहाँले चालु आवमा रु दुई अर्बभन्दा बढी राजस्व उठाउने योजना बनाइएको बताउनुभयो ।

    गत आवमा रु एक अर्ब २५ करोड हाराहारीमात्रै राजस्व सङ्कलन भएको थियो । अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाइने जनाउँदै उहाँले दायरा बढाएर कर सङ्कलन गर्न लागिएको बताउनुभयो । महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत् प्राधिकरणलगायतका कार्यालयसँग समन्वय गरेर कर सङ्कलन अभियानलाई अघि बढाएको छ । महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत बञ्चित हुने गरी योजना अघि सारिएको हो ।

    चालु आवमा हालसम्म रु १७ करोड कर सङ्कलन भएको छ । महानगरप्रमुख रेनु दाहालले चालु आवमा राजस्व सङ्कलनलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार असल करदाताकामा स्टिकर टाँस्न सुरु गरिएको छ । विगतका वर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको भन्दै उहाँले चालु आवमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताउनुभयो । महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उहाँको भनाइ छ ।

    महानगरमा सङ्कलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर सङ्कलनलाई अभियानका रूपमा अघि बढाएको उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.