सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लक्ष्यभन्दा बढी राजस्व सङ्कलनको अभियानमा भरतपुर महानगर,१५ दिनभित्र करको दायरामा आउन अपिल


  •    न्युजभित्तो/२ आश्विन २०८०, मंगलवार १६:१० 
  • चितवन, २ आश्विन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन उद्देश्यसहित अभियान सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको छ । साथै राजस्वको दायरा आउनेलाई स्टिकर प्रदान गरिनेछ

    महानगरपालिकाले विभिन्न पाँच शीर्षकमा फरक–फरक स्टिकर तयार गरेको छ । व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँचवटा रङ्गका स्टिकर टाँसिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “करदाताले जुन कर तिर्नुहुन्छ, उहाँहरुको फार्ममा सोही स्टिकर टाँस्ने छौँ ।” त्यसपछि टोल(टोलसम्म पुगेर अनुगमन गरिनेछ । अहिले नै वडा र टोल विकास समितिहरुलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आह्वान गर्न लगाइएको छ ।

    महानगरपालिकाले कर सङ्कलनका लागि टास्कफोर्समेत बनाउँदै छ । यसले कर सङ्कलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमन समेत गरिने छ । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पहिलो चरणमा व्यापक प्रचारप्रसार गरेर व्यवसाय दर्ता गर्न आग्रह गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगर क्षेत्रभित्र दर्ता नगरी व्यवसाय गर्न सम्भव छैन”, उहाँले थप्नुभयो, “कर तिरौँ र विकास गरौँ भन्ने अभियानका साथ हामी अघि बढेका छौँ ।”

    महानगरमा उठ्नुपर्ने करको २० प्रतिशत मात्रै उठेको भन्दै उहाँले चालु आवमा लक्ष्यभन्दा बढी कर उठाइने बताउनुभयो । चालु आवमा महानगरले रु एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । उहाँले चालु आवमा रु दुई अर्बभन्दा बढी राजस्व उठाउने योजना बनाइएको बताउनुभयो ।

    गत आवमा रु एक अर्ब २५ करोड हाराहारी मात्रै राजस्व सङ्कलन भएको थियो । अधिकारीले भन्नुभयो, “करै नतिरी व्यवसाय गर्छु भन्नु भएन, अटेर गरेर दर्ता नगरेका व्यवसाय बन्द हुनेछन् ।” अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाइने भन्दै उहाँले दायरा बढाएर कर सङ्कलन गर्न लागिएको बताउनुभयो । महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत् प्राधिकरणलगायतका कार्यालयसँग समन्वय गरेर कर सङ्कलन अभियानलाई अघि बढाएको छ । महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत वञ्चित हुने गरी योजना अघि सारिएको हो ।

    चालु आवमा हालसम्म रु १२ करोड कर सङ्कलन भएको छ । महानगरपालिकाले आइतबार दैनिक एक सय जनालाई मोबाइलमा म्यासेज पनि पठाउन पनि सुरु गरेको छ । यससँगै सिनेमा हल, सञ्चार माध्यमहरु, माइकिङलगायतका माध्यमबाट प्रचारप्रसार भइरहेको छ ।

    महानगर प्रमुख रेनु दाहालले चालु आवमा राजस्व सङ्कलनलाई अभियानकै रुपमा अघि बढाइएको जानकारी दिनुभयो । विगतका वर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको भन्दै उहाँले चालु आवमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताउनुभयो । महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उहाँको भनाइ छ । महानगरमा सङ्कलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ वटा टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर सङ्कलनलाई अभियानका रुपमा अघि बढाएको उहाँले बताउनुभयो ।

    विगतका वर्षहरुमा घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएकामा गत वर्षबाट यो कर स्थानीय तहमा जम्मा गर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयमार्फत टोलटोलमा प्रचार अभियान अघि बढाइएकाले सबै करको दायरामा आउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले विज्ञहरुको सहभागितामा करसम्बन्धी छलफल सञ्चालन गर्न लागिएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.