सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्ती सफारीको विकल्प खोज्दै चितवनको पर्यटन व्यवसायी


  •    न्युजभित्तो/२८ श्रावण २०८०, आईतवार १६:३६ 
  • नारायण अधिकारी,

    चितवन,२८ साउन । पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् ।

    विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी राम्रो मानिँदैन । बरु यसको विकल्पमा हात्ती सेञ्चुरी सुरु गरिएको पाइन्छ । हात्तीलाई खुल्ला ठाउँमा छाड्ने प्रक्रियालाई हात्ती सेन्चुरी भनिन्छ । कतिपय देशमा हात्तीसँग पर्यटक घुमाएर पर्यटन व्यवसाय गरेको पाइन्छ ।

    सौराहाका पर्यटन व्यवसायीबीच सामूहिक योजना नबनेपछि केहीले पर्यटकलाई हात्तीसँगै घुमाउन सुरु गरिसकेका छन् । एकै ठाउँमा खुल्लारुपमा हात्तीलाई छोडेर तीनै हात्तीसँग पर्यटकलाई विभिन्न गतिविधिमा समावेश गरी मनोरञ्जन दिन थालिएको छ ।

    सौराहाको सपना भिलेजका सञ्चालक ध्रुब गिरीले छ वटा हात्तीलाई खुल्ला ठाउँमा छोडेर पर्यटकीय गतिविधि गर्दै आउनुभएको छ । हात्ती सफारी बन्द गरेर उहाँले पर्यटकलाई हात्तीका विभिन्न गतिविधिमा समावेश गरी हात्ती सफारीभन्दा बढी आम्दानी गरिरहनुभएको छ । उहाँको भनाइमा बिहानीमा ‘एलिफेन्ट सनराइज बुस वाक (झाडीमा हात्तीसँगै घुम्ने) प्याकेज तयार गरिएको छ । यो प्याकेज अन्तर्गत पर्यटक काँसको झाडीमा हात्तीको अघि–पछि घुम्छन् ।

    उनीहरुले बिहानी खाजा (ब्रेक फाष्ट) हात्तीसँगै खुलारुपमा लिन्छन् । गिरीका अनुसार यो प्याकेजवापत पर्यटकसँग रु तीन हजार पाँच सय लिइन्छ । हात्ती सफारी गर्दा रु दुई हजार पाँच सय मात्रै आउने भन्दै उहाँले सफारीभन्दा बढी आम्दानी हात्ती सेञ्चुरीबाट हुने गरेको सुनाउनुभयो ।

    गिरीले आफ्नै करिब २२ विघा जमिनमा हात्ती पालन गरिरहनुभएको छ । दिनभर हात्तीसँग रमाउन चाहने पर्यटकका लागि अर्को प्याकेज ‘डे विथ एलिफेन्ट’ पनि छ । यो प्याकेज अन्तर्गत ‘सनराइज बुस वाक’ पनि पर्छ । विहानको खाजापछि होटलमा फर्किएसँगै पर्यटक हात्तीको सरसफाइमा जुट्छन् ।

    उनीहरुले हात्तीको दिसा सफा गर्ने, केरा ल्याउने, हात्तीका लागि दाना बनाउने र खुवाउने गर्दछन् । उनीहरुले दिउँसोको खाना पनि हात्तीसँगै रमाएर खान्छन् भने बेलुकाको खाना पनि हात्तीसँग रमाउँदै लिने गर्छन् । यो प्याकेजका लागि प्रति पर्यटकले रु १५ हजार लाग्छ ।

    समूहमा काम गर्न सबै इच्छुक नभएपछि बिगत तीन वर्षदेखि आफूले ‘हात्ती सेञ्चुरी’ सुरु गरिरहेको गिरीको भनाइ छ । “हात्तीलाई बाँधेर पाल्नु पर्दैन र सफारी पनि गर्नु पर्दैन । त्योभन्दा बढी सञ्चुरी मेडलबाट आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सौराहाका अन्य व्यवसायीले सङ्गठितरुपमा सेञ्चुरी मोडलमा हात्तीको प्रयोग गर्न केही वर्षदेखि गृहकार्य गरिरहेका छन् ।

    क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार थाइल्याण्ड गएर यो मोडलबारेमा अध्ययन गरिएको थियो । हात्ती सेञ्चुरीका लागि एक अमेरिकी संस्थाले सहकार्यको प्रस्ताव पनि गरेको भन्दै उहाँले त्यसले पूर्णता भने पाउन नसकेको बताउनुभयो । तत्कालिन समयमा कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि लागू भएको बन्दाबन्दीका कारण उक्त प्रयास स्थगित भएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो “हात्ती बिनाको पर्यटन सौराहामा सम्भव छैन, त्यसैले हामीले यसको विकल्प सोच्नैपर्छ ।” हात्ती सफारी दिगोरुपमा सम्भव नरहेको भन्दै उहाँले ढिलो चाँडो हात्ती सेञ्चुरीमा जानुको विकल्प नभएको बताउनुहुन्छ ।

    सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे युरोपेली, अमेरिकन, अष्ट्रेलियनलगायतका देशका पर्यटकले प्याकेजमा हात्ती सफारी छाडेको उहाँको भनाइ छ । जनावरमाथि चढेर उनीलाई सास्ती दिनु हुँदैन भन्ने मान्यता अनुसार त्यसो गरिएको हो । थाइल्याण्ड, कम्बोडिया, भियतनामलगायतका देशमा हात्ती सेञ्चुरी राम्रो भएको घिमिरेको भनाइ छ । उहाँले भन्नुभयो, “हात्तीले खाएको, नुहाएको, हात्तीसँगै हिँडेको जस्ता गतिविधिको अवलोकन गराइ पर्यटकबाट आम्दानी गर्न सकिन्छ ।”

    सौराहामा हाल ‘युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था’ सञ्चालनमा छ । संस्था अन्तर्गत हाल ३० वटा हात्ती छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा निजी हात्तीको सङ्ख्या ४२ वटा छ । कोरोना महामारी सुरु हुनुअघि हात्तीको सङ्ख्या ८० थियो । संस्थामा मात्र कोभिडअघिसम्म ६५ हात्ती रहेकोमा कोभिडपछि यो सङ्ख्या घटेर ३० मा सीमित भएको उहाँको भनाइ छ ।

    व्यवसायीहरुले हात्ती पाल्न नसकेपछि बाहिरबाट ल्याइएका हात्ती फिर्ता गरेको उहाँको भनाइ छ ।  एउटा हात्ती पाल्न मासिक करिब रु एक लाख २० हजार खर्च हुने खतिवडाले जानकारी दिनुभयो । एउटा वयस्क स्वस्थ हात्तीको मूल्य औसतमा रु एक करोड ५० लाख पर्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.