सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग साझेदारी गरिन्छ : प्रधानमन्त्री


  •    न्युजभित्तो/२३ आश्विन २०७६, बिहीबार २१:४९ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाउनुभएको छ । भ्रमणको पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल आयोजना गरी प्रधानमन्त्री ओलीले उक्त जानकारी दिनुभएको हो । चिनियाँ राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालमा राजकीय भ्रमण हुँदैछ ।

    प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रहिआएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छौं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहन्छौँ ।” पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले चीनसँग सडक र पूर्वाधारमा कनेक्टिभिटीका विषयमा मुख्य छलफल हुने जनाउँदै किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा–छहरे सुरुङ निर्माण, अरनिको मार्ग स्तरोन्नति आदि विषययमा चीनसँग वार्ता हुने र विस्तृत तयारी नेपाल सरकारले गर्ने बताउनुभयो ।

    नेपाली काङ्ग्रेसका नेता डा प्रकाशशरण महतले राष्ट्रपति सीको भ्रमण हुने कुरा खुशीको विषय हो भन्दै राष्ट्रिय हित र आवश्यकताका आधारमा तयारीका साथ चीनसँग सहकार्य गर्न सुझाव दिइएको बताउनुभयो । आफूहरु नेपालमा चिनियाँ लगानी बढ्नुपर्छ, ‘बेल्ट एण्ड रोड’ इनिसियटिभमा नेपालमा सहभागी हुनुपर्छ र त्यसको प्रतिफल आउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्री डा महतले ऋण लिएर रेलजस्ता ठूला आयोजना भने हतारोमा शुरु नगर्न ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले नेपालको विदेश नीतिमा कुनै अन्योल हुने खालको वातावरण सिर्जना नगर्न पनि सरकारसँग आग्रह गर्नुभयो । करीब चार घण्टा चलेको छलफलमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिनुभएको थियो भने सहभागी नेता एवं विज्ञले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमण ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धिसम्झौता गर्न सुझाव दिनुभएको थियो ।

    छलफलमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्गेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.