सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिद्धबाबा भिर सधैँको पीर


  •    न्युजभित्तो/२३ आश्विन २०७६, बिहीबार ११:३४ 
  • निरा गौतम
    रुपन्देही । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुङ्गा खस्यो । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुङ्गा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए । ढुङ्गा खसेर बसको अगाडिको भागमा बज्रिँदा बसका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ बस्ने ३५ वर्षीय कमल राउत गम्भीर घाइते भए । बसमा सवार अन्य यात्रु भने सकुशल नै रहे ।

    झण्डै चार हप्ताअघि भदौ २७ गतेका दिन यही सडकखण्डकोे सिद्धबाबा क्षेत्रमा एकैचोटि दुई वटा गाडी पहिरोले पुर्यो । पाल्पातर्फ जाँदै गरेको लु१ज २६१७ नंको जीप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु२च ५९३८ नंको स्कारपियो पहिरोले पुरिँदा गुल्मी छापचौरका कमल सुनारले ज्यान गुमाए । अन्य चार जना घाइते भए ।

    यो घटनाको ठीक एक महीना अगाडि गत असार २८ गते सिद्धबाबा क्षेत्रमै पहिरोमा परेर पाल्पा मित्यालका धनबहादुर सुनारीले ज्यान गुमाए । लु५०प ४६७१ नंको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गर्दा सुनारी पहिरोमा परेका थिए । पहिरोसँगै बगेर भिरमा अड्किएका सुनारीको शव ३ घण्टापछि प्रहरीले भिरबाट निकालेको थियो ।

    हिउँद होस् या बर्खा सिद्धबाबा क्षेत्रमा गइरहने पहिरोले यहाँको यात्रा निकै कष्टकर र त्रासदीपूर्ण बन्ने गरेको छ । यात्रु तथा सवारी चालकले ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको गुनासो गर्छन् । “सिद्धबाबा त अहिले सारै डरलाग्दो भयो, सडक पार नगर्दासम्म कहाँनिर ढुङ्गा खस्छ भनेर गाडी कुदाउनुपर्छ”, विगत १० वर्षदेखि बुटवल–तम्घास–अर्घाखाँची रुटमा सवारी चलाउँदै आएका कुलबहादुर रास्कोटी भन्नुहुन्छ, “अब यो सडकको विकल्प खोज्नुपर्छ ।”

    मौसम खराब हुने बित्तिकै सिद्धबाबामा पहिरो र ढुङ्गा खस्ने भएका कारण बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जातर्फ जाने सवारी चालकहरु डराउँछन् । ‘पानी परेका बेला त्यतातिर गाडी जान मान्दैनन्, गए पनि ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता छ’, बुटवल पाल्पा बस काउन्टरका कर्मचारी जोग बहादुर श्रेष्ठको भनाई छ ।

    सिद्धबाबा क्षेत्र हुँदै प्रत्येक दिन सानाठूला गरी चार हजार एक सय सवारी गुड्ने गरेका दोभान प्रहरी चौकीका हवल्दार पाराशोर डाँगीले जानकारी दिनुभयो । बुटवल बसपार्कबाट पाल्पाका लागि दैनिक ५२ वटा बस छुट्छन् । तीमध्ये नौ वटा पाल्पाका खानीगाउँ, दर्लम, बतासे लगायतका स्थानमा पुग्छन् । प्रत्येक १५÷१५ मिनेटमा सिद्धबाबाको जोखिमयुक्त सडक पार गरेर सवारी चालक र यात्रुहरुले यात्रा गर्ने गर्छन । “अप्ठ्यारो भनेर के गर्नु हरेक दिन यात्रा गर्नुपर्ने बाध्यता छ, सिद्धबाबा पुगेपछि यात्रु पनि सारै डराउँछन्”, लु२ख ४२९८ नंको बसका सहचालक नारायण बहादुर रानाको अनुभव छ, “सिद्धबाबा भिर कटेपछि बल्ल सास फेर्छौं ।”

    “बुटवल आउने काम परिरहन्छ तर सिद्धबाबाको सडकले सातो लैजान्छ, न त हिँडेर निर्वाह हुन्छ”, पाल्पा तानसेनकी मैना सुवेदी भन्नुहुन्छ, “भगवानको नाम जपेर यात्रा गर्छु ।” सिद्धबाबा क्षेत्र हुँदै पश्चिम नेपाल बस व्यवसायी प्रालिका झण्डै तीन सय गाडी आवतजावत गर्ने गरेको अध्यक्ष दधिराम खरेलले बताउनुभयो । “सडकको अवस्था ज्यादै नाजुक भयो”, अध्यक्ष खरेल भन्नुहुन्छ, “सरकारले सडकको विकल्प खोज्नुपर्छ ।”

    सिद्धबाबा सडकको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले वैकल्पिक सडकका रुपमा बुटवलदेखि चरङ्गे हुँदै झुम्सासम्मको सडक निर्माण प्रक्रिया शुरु गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नुरमोहम्मद खाँले जानकारी दिनुभयो । यो सडक निर्माणका लागि रु १० करोड बजेट विनियोजन भएको उहाँको भनाइ छ ।

    सिद्धबाबा सडकको जोखिम सधैँका लागि अन्त्य गर्न सरकारले सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएको पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । “सिद्धबाबा सडकको विषयलाई सरकारले गम्भीर रुपमा लिएर सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “केही महीनामै टेन्डर गर्ने तयारी छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.