सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक


  •    न्युजभित्तो/२२ आश्विन २०७६, बुधबार १९:१९ 
  • प्रकाश सिलवाल

    काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ ।

    बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ । विगतदेखि सडक विस्तारको काम भइरहेको अवस्थामा छिटोछिटो काम सकाउन र रङरोगन गर्न अहिले मुख्य सडकमा चापाचाप देखिन्छ ।

    चिनियाँ राष्ट्रपति सी चिनपिङ

    राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो । भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने छ । राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीका यसअघिका चीन भ्रमणमा भएको केरुङ–काठमाडौँ रेल, कनेक्टिभिटी, ऊर्जा र अन्य क्षेत्रमा भएका द्विपक्षीय सम्झौता र छलफलले सीको भ्रमणमा सार्थकता पाउने अपेक्षा गरिएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

    नेपाल र छिमेकी चीनबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको तथा पछिल्लो समयमा आपसी मित्रता र सहकार्य थप अभिवृद्धि गर्न दुवै मुलुकको नेतृत्व तयार देखिएकाले राष्ट्रपति सीको राजकीय भ्रमणले जनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ । ‘अतिथिदेवो भवः’ को आदर्शलाई व्यवहारत अपनाइरहेको नेपालले विशिष्ट पाहुनाको भ्रमणमा जनस्तरबाट समेत स्वागत हुँदै आएको छ ।

    तेइस वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राख्न थालिएको छ । मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाउन थालिएको छ । बबरमहल र टेकुस्थित पुलमा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका राष्ट्रिय सम्पदा र विभिन्न पर्यटकीय महत्वका तस्वीर फ्लेक्स बनाइराखिएको छ जसले एकै हेराइमा पनि नेपालको पहिचानलाई बुझाइदिनेछ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा यो भ्रमण र नेपालको तयारीले विश्वजगतमा नेपालको थप पर्यटन प्रवद्र्धन हुने ठानिएको छ ।

    यतिबेला त्रिभुवन अन्तरराष्ट्रय विमानस्थल, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोडलगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ । काठमाडौँ शहरको सौन्दर्य अभिवृद्धिमा कार्यरत काठमाडौँ महानगरपालिका तीनकुनेस्थित खुलास्थललाई कृत्रिम उद्यान (आइल्याण्ड) बनाई हरियाली तुल्याइँदै छ । कतिपय स्थानमा अस्थायी संरचना बनाई आकर्षक बनाएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले शहरलाई सुन्दर, हराभरा र स्वच्छ राख्न आफूहरुले काम गरिरहेको बताउँदै विभिन्न आइल्याण्ड, उद्यान निर्माण र सडकका बारहरुमा रङ्रोगन भइरहेको बताउनुभयो । स्वागतका झण्डा राखिने खम्बाहरु पनि महानगरपालिकाले सजाउँदैछ । प्रवक्ता डङगोलले भन्नुभयो, “हामीले जिम्मा पाएअनुसार सरसफाइको काम व्यापक भइरहेको छ । शहरलाई सफा र हरियाली बनाइनेछ । सडक बत्तीहरुको व्यवस्थापनको काममा पनि हामी लागेका छौँ ।”

    राष्ट्रपति सी आउँदा त्रिभुवन विमानस्थलदेखि मुख्य सडकका दायाँबायाँ दुई देशको झण्डा फहराएर विद्यार्थी बस्नेछन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुलाई पनि विद्यार्थी पठाइदिन सरकारले आग्रह गरेको जानकारी दिनुभयो ।

    सडक अनुगमनमा भौतिकमन्त्री

    काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा सोल्टीमोडस्थित सडकमा भेटिनुभएका मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताउनुभयो ।

    सोहीस्थलमा मन्त्रीका साथ पुग्नुभएका सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले काठमाडौँ उपत्यकाको सडक मर्मत हरेक वर्ष मनसुनपछि नियमित हुने गरेको र हाल विशिष्ट पाहुनाको भ्रमण हुने भएकाले थप ध्यान दिइएको बताउनुभयो । काठमाडौँ उपत्यकाको सडक मर्मतको जिम्मेवारी सिएम कन्स्ट्रक्सनले लिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.