सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिँदै छ काठमाडौँ 


  •    न्युजभित्तो/१९ आश्विन २०७६, आईतवार २०:०३ 
  •    रमेश लम्साल र नारायण ढुङ्गाना

    काठमाडौँ / दशैँको बिदामा राजधानी काठमाडौँका सडक सुनसान प्रायः छन् । अरु बेला भीडभाडले आवागमनमा असर पर्ने उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी गुडिरहेका छन् ।    
        
    निजी सवारीसाधन अलिक बढी चलेका भए पनि सार्वजनिक सवारीसाधन कम चल्दा राजधानीले थकाइ मारेजस्तो देखिन्छ । दशैँले सबैलाई छोपे पनि केहीलाई भने दशैँभन्दा अरु नै महत्वपूर्ण कामले फुर्सद दिएको छैन । राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडेमेल चलिरहेको छ । लाग्छ, उनीहरुलाई दशैँको छुट्टीको कुनै परवाह छैन ।    
         
    राजधानीको मुटुमा रहेको तीनकुनेलाई नयाँ आकार दिन रामचन्द्र बस्नेत र उहाँको समूह लागिपरेको छ । कल्की, पाम, धुपीका बिरुवा रोपिएका छन् । विभिन्न प्रजातिका फूल रोपिएको छ । काठमाडौँ महानगरका कर्मचारी पनि उत्तिकै मेहनत गरिरहेका छन् । कोही ढुङ्गा मिलाइरहेका छन् भने कोही बिरुवा रोपिरहेका छन् । “त्यो बिरुवा अलिक ठाडो बनाएर रोप्नु प¥यो”, दुबोको चपरी मिलाइरहेका एक कामदारले आफ्ना सहकर्मीलाई भने, “सबै बिरुवा र फूल मिलाएर रोप्नुपर्छ के ? अनि पो राम्रो हुन्छ त ।”    
        
    काठमाडौँ महानगरपालिकाको बा १ ग ३३९९ नम्बरको ट्याकङ्र उनीहरुको अगाडि रोकियो । भर्खरै टाँसिएको दुबोको चपरीमा पानी सिञ्चन गर्न थाल्यो । “अलिक मिलाएर है, अलिक मिलाएर, ट्याङ्करका चालकले पानी सिञ्जन गर्न लाग्दै गर्दा अर्का कामदारले भने, राम्रो हुनुपर्छ, पानी हाल्दा बिरुवा ढल्केलान् नि ! आफ्नै छोराछोरीजस्तै माया लाग्छन् यी बिरुवाका पनि”, परिचय दिनभन्दा आफ्नै काममा व्यस्त देखिए ती कामदार ।    
        

    तीनकुनेको खाली जग्गालाई बगैँचा बनाउन शिवपुरी नर्सरीका बस्नेत र उहाँको आठ जनाको समूह खटिएको छ । “सात हजार चपरी त लाग्ला कि ?”, उहाँले भन्नुभयो, “कूल छ हजार चपरी लाग्ने अनुमान भए पनि मिलाएर लाग्दा थप एक हजार बढी लाग्ने देखिएको छ ।”    
        
    दुबोको चपरी राख्न नेपाली सेनाका जवान पनि खटिएका छन् । महानगरका कर्मचारी, दैनिक ज्यालादारीमा ल्याइएका कामदार पनि छन् । “चाडबाडको मौकामा कामदार पाउन गाह्रो छ, तर यो जसरी भए पनि पूरा गर्नैपर्ने छ”, बिरुवा रोपिरहेका एक मजदूरले टाउको ठाडो नपारिकन नै भने ।    
        
    चिनियाँ राष्ट्रपति सि चिनफिङको यही असोज अन्तिम साता हुने भ्रमणको पूर्वसन्ध्यामा काठमाडौँका सडक तथा विभिन्न क्षेत्र फूलका बिरुवा रोपेर सिँगार्न पाउँदा आफूलाई पनि खुशी लागेको बस्नेतको भनाइ छ । “दैनिक रु दुई हजारमा पनि कामदार पाउन गाह्रो छ । काम धेरै भए पनि दशैँको टीकाको भोलिपल्टसम्म त सकिएला कि ?”, बस्नेतले अनुमान गर्नुभयो । शिवपुरी नर्सरी सञ्चालन गर्दै आउनुभएका बस्नेतले चाडबाडको समयमा पनि राज्यले दिएको काम गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।    
        
    फोहरमैला र अतिक्रमणले खण्डहर जस्तै बनेको तीनकुने पार्कले नयाँ जीवन पाउँदैछ । काठमाडौँ महानगरको संयोजनमा नितान्त नयाँ बन्दै गएको सो पार्कलाई थप स्थायित्व दिए राम्रो हुने स्थानीयको भनाइ छ । करीब दुई दशकपछि नेपाल भ्रमणमा आउन लाग्नुभएका चिनियाँ राष्ट्रपतिको स्वागतमा कुनै कमी कमजोरी नहोस् भनेर सबै खटेका छन् । विश्वमा नै भौतिक पूर्वाधारको विकासमा चमत्कार नै गरेको छिमेकी राष्ट्रका राष्ट्रप्रमुखको नेपाल भ्रमणलाई केन्द्रमा राखेर भइरहेका यावत तयारी हेर्दा लाग्छ, राजधानीलाई सधँैले होइन कामले छापेको छ ।    
        
    सडक कालोपत्रे गर्र्ने, ट्राफिक सङ्केत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोटबिरुवा रोप्ने काम धमाधम भइरहेको छ । काठमाडौँको तीनकुने पार्क क्षेत्रमा दुबो रोपेर सुन्दर बनाउन थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राजधानीको मुख्य शहर क्षेत्रमा यसरी सजावटको काम भइरहेको छ ।    
        
    यस्तै काठमाडौँको न्यूरोडमा फूलका बिरुवा रोपेर पानीका फोहरा निर्माणको कामसमेत चलिरहेको छ । धुलो भएको क्षेत्रमा बढार्ने र रङरोगनको काम तीव्र पारिएको छ । मजदूरहरु दशैँ नभनी माइतीघर मण्डलालाई सजाउन व्यस्त भएका छन् । मण्डलामा पनि विभिन्न प्रकारका रङको संयोजन गरिएको छ । नगर सजावटको काम भने काठमाडौँ महानगरपालिकाले लिएको छ । टीकाको भोलिपल्ट सम्ममा बोटबिरुवा रोप्ने काम सक्ने योजना रहेको तीनकुनेमा फूल रोप्दै गरेका एक मजदुरले जानकारी दिनुभयो । सजावटमा नेपाली सेना, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाका कर्मचारीहरु खटिएका छन् ।    
        
    विगतमा पनि अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरु नेपाल आउँदा यसैगरी सिङ्गार्ने गरिएको थियो । सडक पुल निर्माणाधीन क्षेत्रमा नेपालका प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेस प्रिन्ट’ गरी ‘वाल’ बनाएर सजाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, से फोक्सुन्डो ताल, विपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथका ठूला ठूला तस्विर राखिएका छन् । सडक विभागले नियमितरूपमा नै गर्दै आइरहेको कालोपत्रे गर्ने कामसमेत गरिरहेको छ ।    
        
    चिनियाँ राष्ट्रपति सिको भ्रमणका लागि सरकारले तयारी थालेको छ । सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा बस्न भनिएको छ भने सरकारी कर्मचारीलाई पनि आवश्यक पर्दा उपस्थित हुन भनिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वराज पोखरेलले उच्चस्तरका विदेशी पाहुन आउने भएमा सोहीअनुसारको सुरक्षा दिने गरी तयारीमा रहेको जानकारी दिनुभयो ।    
        
    यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि आआफ्नो क्षेत्रको तयारी गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि राससलगायत अन्य सरकारी सञ्चारमाध्यमसँगको अन्तरवार्ताका क्रममा चिनियाँ राष्ट्रपतिको भ्रमण आपसी सम्बन्ध र सद्भाव वृद्धि गर्नमै केन्द्रित हुने बताउनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.