सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हामी कतै झुक्दैनौँ, कतै ढल्कँदैनौँ : प्रधानमन्त्री ओली

"‘मित्रताको मूल्य नै सर्वाधिक’ "

  •    न्युजभित्तो/१६ आश्विन २०७६, बिहीबार १८:३० 
  •    श्याम रिमाल/प्रकाश सिलवाल

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताउनुभएको छ ।

    राष्ट्रिय समाचार समितिसहित सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा आज अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार–सरकार र जनता– जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गर्नुभयो ।

    “उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ”, उहाँले भन्नुभयो । “दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ ।”

    प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “महामहिम राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमण एकदम सफल हुन्छ”, उहाँले भन्नुभयो । चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ ।

    एक प्रश्नको जवाफमा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले दुई पार्टीबीच आपसी सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरुलाई बदनाम गर्ने प्रयास हो भन्दै बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लाग्ने बताउनुभयो । “हाम्रा आवश्यकताअनुसार हामी अगाडि बढ्छौँ, सी पथमा नेपाल गयो भन्नु सङ्कीर्णता हो, विचारशून्यता हो, असहिष्णुता हो ।

    भारतीय स्वतन्त्रता सङ्ग्राममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुवै ठीक रहेको प्रसङ्ग उल्लेख गर्दैै उहाँले सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागु गरिने स्पष्ट गर्नुभयो ।

    नेपाल अन्तरराष्ट्रिय जगतमा सुनिन र देखिन थालेको हो त ? भन्ने जिज्ञासाका सन्दर्भमा प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय हित, न्यायोचितता र अन्तरराष्ट्रिय उत्तरदायित्वका साथ अन्तरराष्ट्रिय सम्बन्धमा ध्यान दिएको जनाउनुभयो । नेपाल स्वाधीन मुलुकका रुपमा विगतदेखि रहे पनि त्यस स्वाधीनतालाई खुम्चाएर र चाउर्याएर आफैँ प्रयोग नगर्ने स्थितिबाट अहिले बाहिर निस्किएको जिकिर गर्नुभयो ।

    “नेपालले आन्तरिक र बाह्य रुपमा स्वतन्त्ररुपमा आफ्नो स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ । त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ । हामी कतै झुक्दैनौँ । कतै ढल्कँदैनौँ । नेपाललाई भूपरिवेष्टितबाट भूडित, जलजडित, हवाइजडित र सञ्चारजडित बनाउन लागेका छौँ ।”

    प्रधानमन्त्री ओलीले नेपालले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको तथा अन्तरराष्ट्रिय सम्बन्ध पनि माथि उठेको उल्लेख गर्नुभयो । “नेपाल अन्तरराष्ट्रिय मञ्चमा सुनिन थालेको वास्तविक हो”, उहाँले भन्नुभयो ।

    नेपालको राष्ट्रिय छवि वृद्धि भएकामा ढुक्क हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल नेपालको रुपमा आफ्नो स्वतन्त्र आधारभूत नीतिमा उभिन्छ । हामी क्षणिक लाभमा बहकिएर हिँड्दैनौँ । राष्ट्रिय हित, चरित्र र स्वाधीनताका लागि काम गर्छौँ । हाम्रो सार्वभौमिकता, विश्वबन्धुत्व, शान्तिको पक्षधरता, न्यायपूर्ण विश्वव्यवस्थाका नीति, संयुक्त राष्ट्रसङ्घका बडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्तमा हामी अडिग रहन्छौँ ।”

    गत वर्षको राष्ट्र सङ्घको महासभामा आफूले गरेको सम्बोधनमा उठाइएका विषयहरुलाई राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरेसले समापनमा अवसरमा महत्व दिई स्मरण गर्नु एवं उल्लेख गर्नुलाई पनि महत्वपूर्ण मान्नुपर्ने उहाँको तर्क थियो ।

    प्रधानमन्त्री ओलीले चाडपर्वका समयमा नयाँ नोट सटही र बजारलार्ई सरलीकृत गर्न सरकारको तयारीबारेको जिज्ञासामा अघिपछिभन्दा यस बेला व्यापार र भीडभाडजस्ता चाडको स्वभाव र चाडले उत्पन्न गरेका परिस्थति हुने भए पनि यस्तो अवस्थामा जनतालाई बढीभन्दा बढी सुविधा कसरी दिन सकिन्छ भन्नेतर्फ सरकारको ध्यान गएको बताउनुभयो ।

    उहाँले बडादशैँमा यातायात, सुरक्षा र बजार नियन्त्रणका बारेमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउँदै बढी गतिमा सवारी साधन चलाएर दुर्घटना हुन नदिन र बजाउ भाउ बढी हुन नदिन सरकारले सचेतना अपनाएको र सुपथ मूल्यका पसलहरु सञ्चालन गरेको उल्लेख गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.