सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आएन दशैँ दलित बस्तीमा, न मिठास न उल्लास


  •    न्युजभित्तो/१६ आश्विन २०७६, बिहीबार ०९:५६ 
  • वीरेन्द्र कर्ण
    वीरगञ्ज । प्रदेश नं २ का आठ जिल्लामा दशैँको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै हुरीले…..” । एक सय ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका उही थोत्रो लुगामा फोहरमैलामा खेलिरहेका छन् । बस्तीमा दशैँको उल्लास देखिएको छैन ।

    “दुई छाक टार्न धौ धौ हुन्छ, बच्चाहरु नाङ्गै छन्, हाम्रो केको दशैँ हुनु र ? हाम्रो लागि त दशैँ होइन दशा पो रहेछ”, स्थानीयवासी बाबुलाल माझी टाउकामा हात राखी पीडा पोख्नुहुन्छ, “यसपालि मात्रै हो र, हाम्रो लागि त प्रत्येक वर्ष दशैँ दशा मात्रै हुने गरेको छ ।”

    गाउँकै अन्य बस्तीमा दशैँको रमाइलो छाएको छ । नयाँ नयाँ लुगा, मीठा खानेकुराको जोहो गरिएको छ, तर यहाँको दलित बस्तीमा भने दुई छाक भात नै ठूलो कुरा भएको छ । “मीठो मसिनो खाने र नयाँनयाँ लुगा लगाउने कसलाई मन पर्दैन”, बस्तीका भरछिया माझी भन्नुहुन्छ, तर हामीले आफ्ना बालबालिकालाई दुई छाक दाल, भात, तरकारी खुवाउनु भनेको सपना जस्तो भएको छ ।”

    बस्तीका बालबालिका नदीखोलामा चहार्दै माछा, घोघी र गंँगटा खोज्न यताउता भौँतारिरहेको देखिन्छ । बस्तीमा पुग्दा अधिकांश बालबालिकाको शरीरमा कपडा थिएन । त्यहाँका बूढापाकाको एउटै भनाइ थियो, “हाम्रा बालबलिकाको बाँच्ने परिवेश यस्तै हो । नत पेटभरि खाना नै हुन्छ न त राम्रो तथा सुकिला कपडा नै हुन्छ । सबै मीठो मसिनो खाइरहेका छन् तर हाम्रो घरमा चुल्हो बल्ने स्थिति नै छैन । नजीकको गाउँमा दशैँ मेला लागेको छ । बालबालिकाले मेला भर्न कराइरहेको भए पनि उनीहरुलाई मेला पठाउन सकिएको छैन ।”

    गएको चुनावका बेला त नेताहरु आएर ठूल्ठूला भाषण गरेर गए तर मुसहर बस्तीको दयनीय र कारुणिक अवस्थालाई उकास्नेतर्फ कसैले ध्यान नदिएको लोरिक माझी बताउनुहुन्छ । लोरिकले भन्नुभयो, “हाम्रो दैनिकी कसरी बितिरहेको छ कसले हेर्ने ? भोट लिने नेताहरु आजसम्म फर्केर आएका छैनन्, हामी त भोट बैंँक मात्र हौँ ।”

    बारा जिल्लाको सदरमुकाम कलैयाको बरियारपुर सडक खण्डको भुतही पुलदेखि करीब दुई किमीको दूरीमा रहेको मुसहर बस्तीको छेउमै खोला रहेकाले वर्षाको समयमा बस्ती जोखिममा पर्ने गरेको अधिकारकर्मी श्यामबाबु यादव बताउनहुुन्छ । मजदूरीबाहेक कुनै रोजगारी नरहेकाले उनीहरुले चाडपर्वमा रमाइलो गर्नु भनेको मीठो सपना देख्नु मात्र भएको यादवको भनाइ छ ।

    सधैँ अभाव र पीडामा बाँचिरहेका मुसहरहरु छाप्रो तथा छानाविहीन घरमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै तनु माझी भन्नुहुन्छ, “न त घरमा अन्न छ न वस्त्र नै, शिक्षाको कमीको कारण मजदूरी नै जीविकोपार्जन गर्ने माध्यम भएकोले सधैँभरि साहु महाजनको ऋृणमा नै डुब्नुपर्छ । रोजगारीको अर्को विकल्प हामीसँंग छैन ।”

    दशैँ जस्ता चाडपर्व त धनी मानिसको लागि भएको र चाडपर्व आउँदा आफूहरु झन् ऋणमा डुब्ने गरेकाले आफ्ना लागि यस्तो चाडपर्व नआइदिए हुने लक्ष्मण सदा बताउनुहुन्छ । उहाँले पीडा पोख्दै भन्नुभयो, “हामी त नेताहरुको लागि भोट बैंक भएकोले सबै दलले हामीबाट फाइदा मात्र लिने गर्छन् ।”

    मुसहर बस्तीमा जसोतसो गरी भात पाके पनि दाल र तरकारीको समस्या हुने गर्छ । दाल, तरकारी किन्ने पैसा छैन । दैनिकी ज्यालादारी गरी ल्याइएको चामल पकाउँदा भात त पाक्छ तर दाल तरकारीको समस्या भने यथावत रहने सेवकी सदा जानकारी दिनुहुन्छ । सङ्घीय सरकारले नै दलितलाई हेला गरेको र प्रदेश सरकारले पनि बेवास्ता गरेको दलित अधिकारकर्मी सिकेन्द्र पासवान आरोप लगाउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.