सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा डेँगु संक्रमितको संख्या दुई हजार ४६ पुग्यो, वर्षासँगै अझै बढ्ने चिन्ता


  •    /३१ भाद्र २०७६, मंगलवार १५:३३ 
  • तिलकराम रिमाल

    चितवन । जिल्लामा डेँगु रोगको संक्रमण बढ्दै गएर दुई हजार ४६ पुगेको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यो संख्या पुगेको हो । सोमबार रातीबाट चितवनमा लगातार वर्षा भईरहेकाले पानी जमेर डेंगुको संक्रमण अझै बढ्ने खतरा देखिएको छ ।

    स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले ६ हजार ६ सय ३९ जनाको रगतको नमुना परीक्षण गरिएकोमा २ हजार ४६ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

    साउन महिनामा भन्दा भदौ महिना लागेपछि संक्रमितको संख्या बढ्दै गएको छ । सरकारी र निजी अस्पतालहरु ज्वरोका बिरामीले भरिएका छन् । डेङ्गुको संक्रमण बढेसँगै जनचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा भईरहेको केसीले बताउनुभयो ।

    लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियानसँगै जनचेतनामूलक कार्यक्रमहरु गरिंदै आएको उहाँले बताउनुभो । कार्यालयसँगै सामाजिक संघ संस्था, व्यवसायिक संघ संगठनहरुले पनि अभियान सञ्चालन गरिरहेका छन् ।

    डेङ्गुका बिरामी थपिदैं जाँदा रगत परीक्षण गर्ने किट अभाव हुने गरेको छ । अभाव हुन नदिन स्थानीय निकायका साथै निजी क्षेत्रले पनि सहयोग गर्दै आएका छन् । उद्योग वाणिज्य संघ चितवनले मंगलबार भरतपुर अस्पताललाई पाँच सय वटा डेँगु परीक्षण किट उपलव्ध गराएको छ । संघका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त प्रमुख डा। प्रकाश खतिवडालाई किट हस्तान्तरण गर्नु भएको हो । यस अघि भरतपुर महानगरपालिकाले एक हजार वटा र रोटरी क्लवको अगुवाईमा पाँच सय वटा किट अस्पताललाई उपलव्ध गराईएको थियो ।

    भरतपुर अस्पतालमा दैनिक चार सय भन्दा बढि ज्वरोका बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । जस मध्ये १ सय ५० हाराहारीको डेङ्गु परीक्षण गरिने गरेको छ । अस्पतालमा निःशुल्क रुपमा डेँगु परीक्षण हुन्छ भने निजी अस्पताल र मेडिकल कलेजहरुमा महंगो शुल्क तिर्नु पर्ने बाध्यता रहेको छ ।

    भरतपुर अस्पतालमा चालु आर्थिक वर्षमा २ हजार ५ सयभन्दा बढीको डेँगु परीक्षण गरिएको र ती मध्ये ६ सय जनामा डेँगु पोजेटिभ देखिएको पौडेलले जानकारी दिनुभयो । डेँगु देखिंदैमा अस्पताल भर्ना भएर उपचार गर्नु नपर्ने बताउँदै उहाँले कतिपयलाई घरमै बसेर औषधि खान र जटिल भएमा पुनः आउन सुझाएर पठाउने गरिएको बताउनुभयो ।

    मुख्य रुपमा भरतपुरको बाक्लो बस्ती भएको र मुख्य शहरी क्षेत्रका वासिन्दामा डेंगुको संक्रमण बढी देखिएको छ । भेक्टर कन्ट्रोल निरीक्षक केसीका अनुसार भरतपुर महानगरपालिको मुख्य बजार क्षेत्रमा पर्ने वडा नं। १, २, ३, ४, १०, ११ र १२ डेंगुबाट बढी प्रभावित भएका छन् ।

    चालु आर्थिक वर्षको साउन यता दुई जनाको मृत्यु भएको छ । एक जनाको डेंगुको कारण र अर्का एक जनाको डेंगु र स्क्रबटाईफस दुवैको संक्रमणका कारण मृत्यु भएको केसीले जानकारी दिनुभयो ।

    डेंगु गराउने लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्छ । पाँच एमएल पानी जमे पनि त्यसमा एडिज जातको लामखुट्टले अण्डा पार्ने गर्दछ । डेँगुबाट संक्रमित सोही जातको लामखुट्टेले टोकेमा रोगको संक्रमण हुने गर्दछ । घर र घर वरीपरी कुनै पनि भाडा र जमिनमा पानी जम्न नदिन चिकित्सकहरुले सुझाएका छन् । वर्षापछि पानी जम्ने र जमेको पानीमा लामखुट्टेले फुल पारेर संख्या बढाउने गर्दछन् ।

    यसैगरी जिल्लामा साउन र भदौ महिनामा ५५ जनामा स्क्रबटाईफसको संक्रमण देखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.