सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ : अध्यक्ष दाहाल


  •    /२९ भाद्र २०७६, आईतवार १३:२१ 
  • काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

    नेपाल बुद्धिजीवी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै सैन्य गठबन्धनको गन्ध नभएको बरु सामूहिक ढङ्गले विकास र सामाजिक सद्भावको लक्ष्य रहेकाले सबै दल, बुद्धिजीवी र जनसहभागितामा राष्ट्रिय विकास र हितलाई केन्द्रमा राखेर यस्ता पहलमा सामेल हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

    अध्यक्ष दाहालले भन्नुभयो, “बिआरआई मानव जातिको समृद्धि र तादाम्यसहितको समाज विकासको परिकल्पनाका लागि हो । यसमा सबैको सामूहिक प्रयास आवश्यक छ । यो कुनै देश महाशक्ति बन्नका लागि होइन । यो नेपालको रेल कनेक्टिभिटी, सडक पूर्वाधार र सञ्चार विकासमा अझ लाभदायक छ । हामीले लामो छलफल र गृहकार्य गरेरै यसमा हस्ताक्षर गरेका हौँ ।”

    चीनले सन् २०१३ मा शुरु गरेको उक्त बिआरआई विश्वव्यापी रणनीतिमा एशिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकासहित विश्वका १५२ मुलुकको पूर्वाधार विकास, बजार र लगानीको सहभागिता हुनेछ ।

    उहाँले संविधान निर्माणपछिको स्थिरता र आर्थिक समृद्धिको चरणमा नेपाल प्रवेश गरेको सन्दर्भमा चीन र भारत दुई विशाल छिमेकीको बीचमा हुनुका नाताले नेपालले आफ्नो इतिहास, भूगोल र परम्पराअनुकूल लिँदै आएको असंलग्न र स्वतन्त्र विदेश नीतिका आधारमा दुवै देशको विकासबाट सहकार्यका आधारमा लाभ लिने सही वातावरण बनेको पनि उल्लेख गर्नुभयो ।

    बिआरआईबारे नेपालका सबै दलको समान मत रहनु समृद्धिका लागि सकारात्मक सङ्केत भएको भन्दै उहाँले नेपालको गुणात्मक र चौतर्फी राष्ट्रिय विकास र बिआरआईका सन्दर्भमा आफू प्रधानमन्त्री हुँदा र अन्य अवस्थामा पनि चीन र भारतको भ्रमणका क्रममा दुवै देशबाट नेपालले सहकार्यको लाभ लिनुपर्ने र त्रिदेशीय साझेदारीको रणनीति तयार गर्नुपर्नेमा जोड दिएको स्मरण गराउनुभयो ।

    अध्यक्ष दाहालको भनाइ थियो, “एक्काइसौँ शताब्दीमा चेतना, सूचना प्रविधि र भौतिक क्षेत्रमा भएको विकासको चापले नयाँ ढङ्गले प्रभावित गरेको छ । यसमा तालमेल मिलाउनुपर्छ । सरकार, पार्टी, बुद्धिजीवी र आम जनता मिलेर सामना गर्न सक्दा गुणात्मक ढङ्गले राष्ट्रको चौतर्फी विकास हुन्छ । संवेग र आवेगले होइन विवेकले नेतृत्व गरोस्, जनताका हितमा विकास निर्माण हुन सकोस् । यसमा सबै दल एक ठाउँमा उभिनुपर्छ ।”

    कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले बिआरआईमा हस्ताक्षर गरिसकेको स्थितिमा नेपालले सोचेजस्तो प्रगति गर्न नसके पनि नयाँ संविधान, सङ्घीयता र देशमा देखिएको स्थिरतासँगै दीर्घकालीन महत्वका काममा सबै दलको सहमतिका आधारमा सरकारले कामको अगुवाइ गर्ने बताउनुभयो । उहाँले तिनै तहका सरकारमा सबै कानून तयार नहुनु र पर्याप्त जनशक्ति नहुनुले बिआरआई परियोजनाले गति लिन नसकेको स्वीकार्दै पछिल्लो समयमा छिमेकी भारत र चीनसँगको सम्बन्धमा अझ सुधार आएको अवगत गराउनुभयो ।

    यसका केही मूलभूत मान्यताले यो साझेदारीमा विश्वको ध्यान आकर्षित गरेको र यो मानवहितका लागि भएको बताउनुभयो । यसमा कुनै पनि देशको सार्वभौमिकताका आधारमा हुने छनोटको योजनालाई सहयोग हुने र लगानीका लागि कुनै बाध्यकारी ढाँचा नभएकाले नेपालले आफ्ना योजनाको छनोट गरेर कार्यान्वयनको ढाँचाका लागि तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    मन्त्री ज्ञवालीले सीमापार हिमालयन परियोजनाअन्तर्गत अरनिको राजमार्ग, किमाथाङ्का नाका, स्याँब्रुबँेसी करिडोर, ट्रान्समिशन लाइन विस्तार, हवाई सेवाको सम्झौता आदि कामको तयारी भइरहेको बताउनुभयो ।

    नेपाली काङ्ग्रेसका नेत्री सुजाता कोइरालाले विगतमा आफ्नो पार्टी सरकारमा हुँदा पनि बिआरआईमा सकारात्मक पहल भएको उल्लेख गर्दै राष्ट्रिय हित र विकासलाई ध्यान दिएर गरिने काममा प्रतिपक्षको साथ रहेको बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बिआरआईबाट नेपालको आर्थिक विकासका क्षेत्रमा लाभ हुनसक्ने भएकाले यसका लागि सरकारले ढिलाइ गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

    सङ्गठनका अध्यक्ष डा दिनेश देवकोटाले सरकारले अघि सारेको समृद्धिको लक्ष्यमा बुद्धिजीवीले आफ्नो स्थानबाट साथ दिने जनाउँदै गोष्ठीबाट प्राप्त सुझाव सरकार र पार्टी नेतृत्वलाई बुझाइने जानकारी दिनुभयो । संवादमा विभिन्न कार्यपत्र प्रस्तुत भई छलफल हुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.