सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘टोर्नेडो’ पीडितका साथमा नेपाली सेना, स्थानीय भन्छन्, ‘सेना भगवान बनेर आयो’


  •    /१८ भाद्र २०७६, बुधबार २१:०३ 
  • अशोक घिमिरे
    वीरगञ्ज । जबजब मुलुकमा विभिन्न सङ्कट आइपर्छ तब सबैले सम्झन्छन् र गुहार्छन् नेपाली सेनालाई । राष्ट्रिय सुरक्षासम्बन्धी समस्या होस् वा कुनै पनि प्राकृतिक प्रकोपको समयमा पीडितको मनमा हुन्छ, “सेना कति बेला आइपुग्छ ?”

    आगलागी, डुबान, बाढीपहिरो, भूकम्प, कुनै ठूलो दुर्घटनामा पर्ने पीडितको सबैभन्दा नजिकमा रहेर नेपाली सेनाले आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छ । त्यतिमात्र होइन, संविधान र राज्यले सुम्पेको जिम्मेवारीबाहेक पनि जटिलभन्दा जटिल काम सेनाले जनस्तरमा ‘वाहवाही’ पाउने गरी फत्ते गर्दै आएको छ । पीडितको सबैभन्दा नजिकको साथी नै सेना बन्न पुगेको छ ।

    गत वर्षको चैत १७ गते राति आएको ‘टोर्नेडो’ बाट पीडित बारा चैनपुरका मुनीलाल राम बज्रपातको समयमा नेपाली सेना आफ्ना लागि भगवान् भएर आएको बताउनुहुन्छ । “रातको समय थियो, एक्कासी हुरी चल्यो, सबै उडायो”, उहाँले विगत सम्झँदै भन्नुभयो, “सेना नआएको भए हामी बाँच्दैनथ्यौँ होला, धन्न सेना आयो, उद्धार गर्यो, औषधि दियो, आज फेरि घर बनाएर दिएको छ । हाम्रा लागि सेना भगवान् नै बनेर आएको छ ।”

    पछिल्लो समय फेरि सेनाले चुनौतीका बाबजुद पनि ‘टोर्नेडो’ पीडितलाई आवास निर्माण गरेर पीडितको घाउमा मह्लमपट्टी गर्न सफल भएको छ । अत्यन्त छोटो समय, दिनरात नभनी, वर्षा र भेलको कुनै प्रवाह नगरी सेनाले बारा र पर्साका ‘टोर्नाडो’ पीडितका लागि सुविधा सम्पन्न आवास निर्माण सम्पन्न गरेको छ ।

    बारा र पर्साका विभिन्न स्थानीय तहमा पीडित जनताका लागि सेनाले चार महीनाको अवधिमा निर्माण गरेको ८ सय ६९ घर आज हस्तान्तरण गरिएको छ । विभिन्न कठिनाइका बाबजुद पनि तोकिएको समयमै सेनाले सो कार्य पूरा गरेको छ ।

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गएको चैत १७ गते साँझ करीब ८ बजेतिर बारा र पर्साका केही क्षेत्रमा एक्कासी आएको विध्वंशकारी ‘टोर्नेडो’पछि आफूलाई सबैभन्दा पहिले प्रधानसेनापति पूर्णचन्द्र थापाले टेलिफोन गरेर घटनाका बारेमा कुराकानी गरेको स्मरण गर्नुहुन्छ ।

    “हामी तत्कालीन अवस्थामा घटनास्थल पुग्दा पीडितको नजिकै केवल नेपाली सेनामात्र थियो । हामीले प्रभावित क्षेत्र बाराको फेटामा सबैभन्दा पहिले उद्धारका लागि सेनाको अनुहार देख्यौँ”, तत्कालीन अवस्थाको चित्रण गर्दै मुख्यमन्त्री राउत भन्नुहुन्छ, “त्यसपछिमात्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सङ्घसंस्था पुगे, जनता विपद्मा भएका बेला सबैभन्दा अगाडि मह्लमपट्टी लगाउन सेना नै पुग्यो ।”

    विशेषतः नेपाली सेनाले तराई–मधेशका क्षेत्रमा बारम्बार आइलाग्ने विभिन्न विपद्को उद्धार, राहत तथा पुनःनिर्माणमा आफूलाई अब्बल राख्दै आएको मुख्यमन्त्री राउतको भनाई छ। “गर्मीमा हुने आगलागी वा शीतलहर, वर्षामा हुने डुबान होस् या चिसोमा कठ्याङ्ग्रिनबाट जोगाउन सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, मुख्यमन्त्री राउतले सेनाले गरेको कामबाट जनता सन्तुष्ट भएको उल्लेख गर्दै भन्नुभयो ।

    टोर्नेडोपछिको उद्धार, राहत वितरण र पुनःस्थापनाको चरणसम्म आइपुग्दा सेनाले प्रदेश सरकारसँग नजिकमा रहेर काम गरेकामा प्रदेश सरकार सेनाप्रति कृतज्ञ रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यो सामान्य जिम्मेवारी थिएन, जनतालाई समयमै घर बन्नुपर्छ भन्ने चाहना थियो, त्यो नेपाली सेनाले पूरा गरेको छ ।”

    ‘टोर्नेडो’ पीडितको आवास पुनःनिर्माण कार्यदलको नेतृत्व गर्नुभएका सेनाका सहायक रथी विनयविक्रम राणा निकै अप्ठ्यारो परिस्थितिमा आवास निर्माण सम्पन्न भएको सम्झनुहुन्छ । दिनरात नभनी पीडितको आवास निर्माणमा आफूसमेत जुटेको स्मरण गर्दै उहाँले भन्नुभयो, “हामीले बाढी, डुबान भनेनौँ, दिउँसोमा अत्यधिक गर्मी भएका कारण रातिमा टर्च बालेर जनताको घर बनायौँ ।”

    जनता आवास पुनःनिर्माण कार्यदलका अध्यक्ष तथा युद्धकार्य महानिर्देशनालयका निर्देशक उपरथी प्रभुराम शर्मा नेपाली जनतालाई विपद् पर्दा सेनाले सदैव मानवीय सहयोग गरेको बताउनुहुन्छ । राष्ट्र सेवामा समर्पित हुने र जनताको सुख, दुःखमा समेत सहयोगी हात मिलाउने अवसरका रुपमा आफूले पुनःनिर्माणलाई लिएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.