सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपामा अनुशासन उल्लङ्घन गर्नेमाथि कारवाही हुने


  •    /९ भाद्र २०७६, सोमबार १६:२० 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि विषयलाई पार्टीभित्र छलफल नगराई सार्वजनिक रुपमा लगिए स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हाल स्वास्थ्योपचारका लागि सिङ्गापुरमा हुुनुहुन्छ । नेपालको इतिहासमै आज उहाँले विदेशमा बसेर भिडियो कन्फरेन्समार्फत पहिलो पटक मन्त्रिपरिषद् बैठक सञ्चालन गर्नुभएको छ । सम्बन्धित व्यक्तिले दिएको स्पष्टीकरण पार्टीलाई चित्त नबुझे आवश्यक कारवाही गर्ने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    अध्यक्ष दाहालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा पार्टीभित्रको अनुशासन खस्कँदै गएको भन्दै पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गरिने सङ्केत गर्नुभएको थियो । पछिल्लो समय नेकपाका केही जिम्मेवार नेता, कार्यकर्ता सार्वजनिक रुपमै पार्टी र नेतृत्वका विरुद्धमा अनावश्यक टीकाटिप्पणीमा उत्रिएपछि बैठकले पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।

    बैठकको निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “पार्टीका नेता, कार्यकर्ता वा अन्य कुनै सदस्यका बारेमा पार्टीका तलदेखि माथिसम्मका जिम्मेवार व्यक्तिले कुनै विषय व्यक्तिगत रुपमा उठाउनु परेमा त्यसलाई पार्टीभित्र तथ्यसम्मत ढङ्गले वा आफूलाई लागेको विषय उठाउनुपर्ने छ ।”

    बैठकले नयाँ शक्ति पार्टी नेपाल र नेत्रविक्रम चन्द समूहबाट नेकपामा प्रवेश गरेकामध्ये चार जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । मनोनीत हुनेमा देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई र किरण राई हुनुहुन्छ ।

    पराजुली र धमला बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा प्रवेश गर्नुभएको थियो । त्यस्तै राईद्वय चन्दसमूहबाट नेकपा प्रवेश गर्नुभएको हो । पार्टी एकता प्रक्रियामा सामेल भएकामध्येबाट १० प्रतिशतसम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधानबमोजिम उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोयन गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

    बैठकले जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको छ । बैठकले राष्ट्रिय सुरक्षा विभागका प्रमुखमा भानुभक्त ढकाल र उपप्रमुखमा रामकुमार राईलाई तोकेको छ । यसअघि उपप्रमुख राईलाई खोटाङको सहइञ्चार्जको जिम्मेवारी दिइएको थियो ।

    विदेश मामिला विभागका उपप्रमुखमा विष्णु रिजाललाई थप गरिएको छ । नीति, अनुसन्धान प्रतिष्ठानका सहसंयोजकमा प्रमेश हमाललाई जिम्मेवारी दिइएको छ । हमाल यसअघि ललितपुरको सहइञ्चार्जको भूमिकामा हुनुहुन्थ्यो ।

    प्रादेशिक मामिला विभागका उपप्रमुखमा डोरमणि पौडेललाई चयन गरिएको छ । सहकारी तथा गरीबी निवारण विभागका उपप्रमुखमा कमल चौलागाईंलाई तोकिएको छ । यसअघि सहकारी विभागमा धर्मदत्त देवकोटा हुनुहुन्थ्यो । उहाँलाई सहकारी विभागबाट हटाइएको छ ।

    यस्तै कर्णाली प्रदेश सम्पर्क कमिटी इञ्चार्जको जिम्मेवारी सत्य पहाडीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका इञ्चार्जमा वीरमान चौधरीलाई जिम्मेवारी दिइएको छ । चौधरी कैलालीको सहइञ्चार्जको भूमिकामा हुनुहुन्थ्यो ।

    बैठकले जनवर्गीय सङ्गठनका सहइन्चार्जमा नयाँ व्यवस्था गरिएको छ । अखिल नेपाल नेपाल महिला सङ्घका सहइञ्चार्जमा अमृता थापा र सीता पौडेललाई थप गरिएको छ । आदिवासी जनजाति महासङ्घ नेपाल र सम्बद्ध सङ्गठनका सहइञ्चार्जमा सुरेश आले मगर र शेरबहादुर तामाङलाई थप गरिएको छ ।

    यसैगरी नेपाल दलितमुक्ति सङ्गठनका सहइञ्चार्जमा तिलक परियार र बोमलाल विश्वकर्मालाई थप गरिएको छ । त्यस्तै प्रेस सङ्गठन नेपालका सहइञ्चार्जमा महेश्वर दाहाललाई थप गरिएको छ ।
    जनसाँस्कृतिक महासङ्घ नेपाल र सम्बद्ध सङ्गठनका इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्जमा खगेन्द्र राई, खेलकूद महासङ्घ नेपालका सहइञ्चार्जमा जीवन घिमिरे र अजम्बर काङ्वाङ राई तथा प्रोगेसिभ इञ्जिनीयरिङ एशोसिएशनका सहइञ्चार्जमा रामकुमारी झाँक्री र शिक्षकसम्बद्ध सङ्गठनको सहइञ्चार्जमा हिम्मत कार्कीलाई तोकिएको छ ।

    बैठकले जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी पनि हेरफेर गरेको छ । पर्साका इञ्चार्जमा रामचन्द्र साह तेली र कास्कीका सहइञ्चार्जमा चूडामणि जङ्गलीलाई तोकिएको छ । जङ्गली यसअघि गोरखाका सहइञ्चार्ज हुनुहुन्थ्यो । कैलालीका सहइञ्चार्जमा दीपक देवकोटा, ताप्लेजुङका सहइञ्चार्जमा तीलकुमार मेयाङ्बो, सुनसरीका सहइञ्चार्जमा भगवती चौधरी र सिरहाका सहइञ्चार्जमा प्रमोदकुमार यादवलाई तोकिएको छ ।

    पार्टीको अर्को बैठकले अन्य निकायका इञ्चार्ज र सहइन्चार्जको टुङ्गो लगाउने उहाँले बताउनुभयो । प्रवास कमिटीका सम्बन्धमा स्पष्ट निर्देशिकासहित अर्को बैठकले निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र आयोगका बारेमा पनि आगामी बैठकबाट निर्णय प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

    बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनासमेत गरेको छ । बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य वामदेव गौतम, रामबहादुर थापा र प्रवक्ता श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.