बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार : नेता खनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सार्नुभएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रुपमा तयार रहेको बताउनुभएको छ ।
चीनमा आयोजना गरिएको ‘गुआङ्ग्डोङ्ग २१औँ शताब्दी म्यारी टाइम सिल्करोड अन्तर्राष्ट्रिय एक्स्पो’ लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एशियामा बिआरआईका विरुद्ध लक्षित गर्दै चलेका अभियानको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो । उहाँले त्यस्ता अफवाहविरुद्ध एक भएर लड्न नेपाल तयार रहेको बताउनुभयो । नेता खनाल चिनियाँ सरकारको निमन्त्रणमा चारदिने चीन भ्रमणमा हुनुहुन्छ ।
नेता खनालले सन् २०१७ मा बिआरआईमा नेपाल र चीनबीच भएको समझदारीपछि नेपाल औपचारिक रुपमा बिआरआईमा सहभागी हुने मुलुक बनेको बताउनुभयो । उहाँले विभिन्न चरणमा द्विपक्षीयरुपमा विभिन्न समझदारी भएको स्मरण गर्नुभयो । ती समझदारीपत्र बिआरआईको आधारपत्र तयार गर्न सहायक भएको उहाँको भनाइ थियो ।
नेपाल र चीनबीच एक हजार ६०० वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै नेता खनालले अब साँस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिनुभयो । बिआरआईको प्रवाभकारी कार्यान्वयनका लागि नेपाल–चीन आर्थिक करिडोरको विकास गर्न उहाँले प्रस्ताव गर्नुभयो । त्यसैगरी ‘ट्रान्स हिमालय इकोनोमी करिडोर’को स्थापना र नेपाल चीनबीचको रेल सञ्जालको सम्बन्धले सिल्क रोडको ल्हासा–काठमाडौँ–भारत खण्डलाई पुनःजीवित पार्ने र जसको लाभ नेपालले लिनसक्ने उहाँको भनाइ थियो ।
सम्बोधनका क्रममा नेता खनालले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धका बारेमा स्मरण गर्नुभएको थियो । “काठमाडौँको साँस्कृतिक उत्कृष्टता चीनले आयात गरेको थियो, जुन आज पनि बेइजिङको सेतो प्यागोडाशैलीमा देख्न सकिन्छ, जुन अरनिकोद्वारा निर्माण गरिएको थियो”, उहाँले भन्नुभयो । उहाँले दुई देशबीच गहिरो साँस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको र इतिहासको विभिन्न कालखण्डमा दुई देशबीच वैवाहिक सम्बन्धसमेत स्थापित भएको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री खनालले अर्थतन्त्र, वातावरण संरक्षण, प्रविधि हस्तान्तरण, संस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा दुवै देशले सहकार्य गर्नसक्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो । “आज नेपालले आर्थिक समृद्धि चाहेको छ, जुन दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धका आधारमा विकसित हुनसक्छ”, उहाँले भन्नुभयो, “कर नीति, कानून, नीति नियम र मुद्राको आदानप्रदानको सिधा प्रणालीलाई सहज बनाउने र अन्य गतिविधिमा दुई देशबीच एक समझदारी हुनु आवश्यक छ ।”
चीनमा आयोजित अर्को एक कार्यक्रममा उहाँले पर्यावरणको संरक्षण, हिमाली क्षेत्रमा बढ्दो मौसम परिवर्तन र वातावरणीय मुद्दालाई दुवै मुलुकले एक साथ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपाल–चीनबीच कृषि तथा चिया, पर्यटन र अन्य विविध क्षेत्रमा द्वीपक्षीय सहयोग आदानप्रदान हुनसक्ने औँल्याउनुभयो । पूर्व प्रम खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उहाँले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल बनाउन चीन सरकारको सहयोगको अपेक्षा गर्दै नेपालले चिनियाँ पर्यटकलाई दिनसक्ने सुविधाका बारेमा दुई देशकाबीच सहकार्य गर्न सकिने बताउनुभयो ।
तपाईको प्रतिक्रिया