सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वादीले पेशा फेरे, फेरिएन समाजको हेराइ


  •    /६ बैशाख २०७६, शुक्रबार २०:३९ 
  • – लक्ष्मी भण्डारी

    वीरेन्द्रनगर (सुर्खेत)
    क्रान्तिलाई मैले सलाम गरिसकेंँ
    क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ ।

    दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिँंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तीकृत नेपाली समुदायका लागि । सामन्तवादको किल्लाका रूपमा रहेको राजतन्त्रले बिदा लिएको धेरै भइसक्यो ।

    मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा लिप्त छ । शासन व्यवस्थाको लगाम गणतन्त्रवादीको हातमा छ । शासन व्यवस्था फेरिँदैमा रातारात सबै कुरा नबदलिनु जति स्वाभाविक हो, उत्तिकै स्वाभाविक हो राज्यप्रति उर्लंदा आकाङ्क्षाको सम्बोधन गरोस् भन्ने जनअपेक्षा । सामन्तवादका अनेकौंँ रूप र अवशेषसँग लडेर तिनलाई पराजित गर्न बाँकी नै छ । त्यसैले जमीनी तहमा रहेका सीमान्तीकृत समुदायका लागि लोकतान्त्रिक गणतन्त्र आइसकेको देखिन्न ।

    मुलुकमा तीनै तहका सरकार बनिसकेका छन् । संविधानले निर्वाचित जनप्रतिनिधिलाई आफ्नो समाज बदल्ने पूरापूर अधिकार दिएको पनि छ तर कर्णाली प्रदेशको सुर्खेत जिल्ला गुर्भाकोटका वादी समुदायलाई हेर्दा त्यस समुदायलाई लोकतान्त्रिक गणतन्त्रले स्पर्श गर्न बाँकी नै रहेको अनुभव गरिएको छ ।

    गुर्भाकोटका वादी समुदायकी महिला पुतली बादी धेरैजसो दाउरा बेचेर गुजारा चलाउनुहुन्छ भने कहिले भारत गएर कमाएर ल्याउनुहुन्छ । “साँझ बिहान दुःख गरी काम गरेर थोरैेतिनो आर्जन गर्छौंँ तर हामीलाई फरक पेशा गर्ने दृष्टिकोणले हेर्ने गरिन्छ”, पुतली गुनासो गर्नुहुन्छ । बादी समुदायमा पुख्र्याैलीे पेशा व्यापार व्यवसाय गरेर दैनिकी चलाउने गरिए तापनि अझैसम्म उनीहरूलाई हेर्ने सामाजिक दृष्टिकोण बदलिएको छैन ।

    “हाम्रो समुदायमा पहिले केही केही व्यक्तिले देहव्यापार गरे होलान् तर अहिले हामी सबै विभिन्न खालका व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “अन्य जातकाले यौनव्यापार गरे पनि उनीहरू ढुक्कसँग हिँड्न सक्छन् तर हामीमाथि समाजको नजर टेढै छ ।”

    गुर्भाकोट नगरपालिकाकी कविता बादी कामका लागि दिल्ली जान थालेको चार वर्ष भयो । धेरैजसो समय उहाँ भारतको दिल्लीमा बिताउनुहुन्छ भने केही दिन मात्र घरमा आएर बस्नुहुन्छ । कारण हो समुदायमा आफूहरूमाथि विभेद हुनु । छ वर्षअघि कथित उपल्लो जातका युवकसंँग विवाह भएका कारण आफ्नै श्रीमान्बाट उहाँले चरम यातना खेप्दै आउनुपरेको थियो । श्रीमान्बाट पाएको यातना सहन नसकेपछि अन्ततः उहाँको वैवाहिक सम्बन्ध टुट्योे । अहिले उहाँ छोराका साथमा दिल्लीमा बस्दै आउनुभएको छ ।

    “गाउँमा आएपछि बाहिर निस्केर ढुक्कसँग हिँड्न सक्दिन”, कविता भन्नुहुन्छ, “छिमेकी र समाजले हाम्रो जात भन्नेबित्तिकै फरक नजरले हेर्छन् ।” उहाँले अन्य जातिका व्यक्तिले आफूहरूसँग घुलमिल हुन नचाहने गरेको दुखेसो पोख्नुभयो । “समाजमा हामीप्रति अझै पनि राम्रो नजरले हेरिदैन त्यसैले हाम्रा धेरै साथीहरू गाउँमा बस्न रुचाउँदैनन्’ उहाँले भन्नुभयो, ‘धेरै साथीहरू दिल्लीतिरै बस्ने गर्छन् ।”

    सोही बादी बस्तीकी ५६ वर्षीया बकुला बादी पनि कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर जीविका चलाउँदै आउनुभएको छ तर समाजले आफूहरूमाथि गरेको विभेद देख्दा उहाँको मन कँुडिन्छ । “दिनभरी काम गरेर साँझ बिहानको छाक जोहो गर्दै आएकी छु”, उहाँ भन्नुहुन्छ, “तर हाम्रा छोरी चेलीहरूमाथि कथित उपल्ला जातिले गर्ने व्यवहार फरक हुन्छ ।” यही दृष्टिको कारणले आफ्ना छोरी नातिनीहरू भारत जान रुचाउने गरेको उहाँको अनुभव छ ।

    बादी महिलामाथि भएको विभेदका कारण उनीहरू समस्यामा परेका यी प्रतिनिधि घटना मात्र हुन् । यस जिल्लामा बसोबास गर्दै आएका बादी समुदायका महिलाले भोगेको साझा समस्या हो । परम्परागत रूपमा बादी समुदायका पुरुष सुल्पा खाने, मादल बनाउने र माछा मार्ने तथा छोरीबहिनीहरूलाई यौन पेशातिर धकेल्ने गर्थे । अहिले भने परिस्थिति फेरिएको छ । अचेल बादी समुदायले कृषि र अन्य व्यवसाय गर्दै आएका छन् ।

    सुर्खेत उपत्यकापूर्व झुप्रा खोला निवासी गीता बादी मानिसहरू अहिले पनि बादी जातिका महिला यौनधन्दा गर्छन् भन्ने धारणा राख्ने गरेको बताउनुहुन्छ । “आजभोलि यो पेशा अन्तै स¥या छ, कथित उपल्लै जातिका महिला देहव्यापारमा संलग्न भइरहेका छन्”, उहाँ भन्नुहुन्छ, “तर गिट्टी बालुवा बोकेर साँझ बिहान गुजारा गर्ने हामीलाई पुरानै चश्माले हेरिन्छ र यस्तो व्यापारमा हाम्रै नाम जोडिन्छ ।”

    पहिलेको तुलनामा हाम्रो जातिमाथि गरिने विभेदमा केही कमी त आएको छ तर अझै पनि आफूहरूलाई हेर्ने दृष्टिकोण उस्तै रहेको पार्वती बादी बताउनुहुन्छ । महिला अधिकारकर्मी किमशरा खत्री पनि बादी महिलाको पुख्र्याैली पेशामा अहिले केही मात्रामा परिवर्तन आए तापनि उनीहरूलाई हेर्ने पुरानै ढर्रा कायम हुनु दुःखद रहेको बताउनुहुन्छ । “हुन त पहिले पहिलेको तुलनामा अहिले अन्य जातिका मानिसहरू उनीहरूसँग विस्तारै घुलमिल गर्न थालेका छन्”, उहाँ भन्नुहुन्छ, “विस्तारै यसमा पनि परिवर्तन हुँदै जाला ।”

    शिक्षक शरुणी ओली बादी महिलाले यस्ता खालका हिंसा भोग्नु भनेको पहुँच भएका वर्गबाट उनीहरू हेपिनु हो भन्नुहुन्छ । “यस्ता खालका व्यवहारले उनीहरूमाथि भएको विभेद झल्काउँछ”, उहाँ भन्नुहुन्छ, “जसले गर्दा उनीहरूको मनोविज्ञानमा चोट पु¥याउँछ ।”

    बादी अगुवा एवं सिम्ता गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य सुक्री बादीले बादी जातिलाई अझै पनि हेप्ने प्रवृत्ति रहेको बताउनुभयो । “जति राम्रो काम गरे पनि हाम्रो जातिलाई गलत नजरले हेर्छन्”, उहाँले भन्नुभयो, “यसका अन्त्यका लागि हामी महिला एक जुट भएर अघि बढ्नुपर्छ ।”

    नेपालको संविधानको मौलिक हकको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको व्यवस्था छ । बादी महिलामाथि हुने यस्ता खालका विभेदले भने उनीहरूको आत्मसम्मानका साथ बाँच्ने अधिकारको हनन भएको प्रष्ट देखिन्छ । अधिवक्ता दुर्गाप्रसाद सापकोटाको विचारमा बादी महिलामाथि भएका यस्ता खालका विभेदले उनीहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.