सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थोरै जग्गा छ ? अब ट्याङ्कमै जमिनमा भन्दा धेरै माछापालन गर्न सकिन्छ


  •    /२९ श्रावण २०७६, बुधबार १५:३४ 
  •    कृष्ण आचार्य

    भरतपुर । चितवनमा ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिकाका युवाले नेपालमै नयाँ प्रणाली (बायोफ्लक) मार्फत माछापालनको सफल परीक्षण गरेका हुन् ।

    भरतपुर–१० स्थित स्याउली बजारमा चार महीना अघिदेखि बायोफ्लक ट्याङ्कमा माछाका भुरा राखेर उनीहरुले शुरु गरेको माछापालन सफल भएको छ । “परीक्षणका रूपमा दुई हजार ७०० माछाका भुरा राखेका हौँ, पहिलो चरणको ग्रेडिङ गरियो, माछा पनि बेच्यौँ”, भरतपुर–१० का युवा कपिलराज रेग्मीले भन्नुभयो । पहिलो चरणको सफलतापछि व्यावसायिकरूपमा ‘बायोफ्लक’ प्रविधिमा आधारित माछा फार्म सञ्चालनमा समेत ल्याइएको उहाँले बताउनुभयो । भरतपुर–१२ नौरङ्गेमा १७ वटा ट्याङ्क राखेर व्यावसायिकरूपमा माछापालन शुरु गरेको रेग्मीले जानकारी दिनुभयो ।

    “कृषिमा केही नयाँ गरौँ भन्ने सोचका साथ हामीले यो काम गरेका हौँ”, उहाँले भन्नुभयो”, “यो प्रविधिले धेरै किसानलाई छिटो लाभ दिन सक्छ ।” युवाले बायोफ्लक प्रविधिबाट माछापालन शुरु गरेपछि यसमा धेरैको चासो बढ्न थालेको छ । “घरमा बाँकी रहेको पाँच धुरमा एउटा ट्याङ्कमार्फत दुई हजार ७०० माछाको भुरा हालेर माछापालनको परीक्षण शुरु गरेका हौँ”, अर्का युवा प्रकाश पन्थीले भन्नुभयो, “घरमा यतिबेला हेर्न आउनेको भीडभाड हुने गर्छ ।”

    कम लगानी र सानो ठाउँमा नै माछा पाल्न मिल्ने बायोफ्लक प्रविधिबाट माछापालन गर्दा धेरै आम्दानी हुने भएपछि चासो बढेको उहाँले बताउनुभयो । कम क्षेत्रफलमा थोरै लगानी गरेर राम्रो उत्पादन र आम्दानी गर्न बायोफ्लक विधि उपयोगी हुने उहाँले बताउनुभयो ।

    युवाहरूले युवा एग्रो फार्म तथा रिसर्च सेन्टर स्थापना गरेर व्यावसायिक माछापालन शुरु गरेका हुन् । भरतपुरका युवा रेग्मी, पन्थी, विरोचन पराजुली, निरञ्जन पराजुली र अविनाश पौडेलले यो व्यवसायमा सहकार्य गरेका हुन् । यी युवामध्ये कोही विदेशको अनुभव त कोहीले नेपालमै व्यवसाय गरेर अनुभव सँगालेका छन् । नेपालमै केही नयाँ प्रयोग गर्दै माछामा आत्मनिर्भर बन्ने उद्देश्यका साथ यो व्यवसाय शुरु गरेको उनीहरु बताउँछन् ।

    माछापालनमा पछिल्लो समय विकसित भएको यो प्रविधि धेरै जमीन नभएका किसानका लागि अत्यन्तै प्रभावकारी मानिन्छ । थोरै मात्र पूँजी भएका किसानका लागि पनि यो प्रविधि निकै लाभदायक हुन्छ । यो प्रविधिबाट घरको छतमा पनि माछापालन गर्न सकिन्छ । इन्डोनेशियामा पूर्ण सफल भएको माछापालनको यो प्रविधि भारतमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । त्यसबाट प्रभावित भएका युवाले सामाजिक सञ्जाल, युटुब, शोधपत्रलगायको सहायतामा एक पोखरी निर्माण गरेर माछापालन आरम्भ गरेका हुन् ।

    उनीहरुले व्यावसायिकरुरूपमा माछापालनका लागि इन्डोनेशियामा तालीम पनि लिएर आएका छन् । यो प्रविधिबाट माछापालन इन्डोनेशियामा धेरै हुने गरेको छ । नेपालमै पहिलोपटक पूर्णरूपमा प्रविधिको प्रयोग गर्दै बायोफ्लकबाट माछापालन शुरु गरिएको युवाको जिकिर छ ।

    “नेपाल सरकारले अहिलेसम्म यो प्रविधि अवलम्बन गरेको छैन, भविष्यमा यो प्रविधिमा जानुको विकल्प छैन”, पन्थीले भन्नुभयो, यसले छिट्टै नेपाललाई माछामा आत्मनिर्भर बनाउनुका साथै बाह्य देशमा निर्यातसमेत गर्न सकिन्छ ।” भरतपुरका युवाले यो प्रविधिबाट परीक्षण गरी माछापालन गरेपछि दिनहुँजसो कृषक उक्त पोखरीको अवलोकनका लागि पुग्ने गरेका छन् ।

    पन्थीका अनुसार कम्तीमा १० जना र कहिलेकाहीँ २० जनासम्म बायोफ्लकबारे बुझ्न उहाँको पोखरी (ट्याङ्क) हेर्न आउने गरेका छन् । यो प्रविधिका बारेमा सामाजिक सञ्जाल र युटुबमा भिडियो राखेपछि देशका विभिन्न जिल्लाबाट पनि सल्लाह गर्न कृषक आउने गरेका उहाँले बताउनुभयो ।

    बायोफ्लकबारे बुझ्न नवलपुरको कावासोतीबाट आउनुभएका मनोज श्रेष्ठले माछापालन गर्ने योजना बनाउँदै गरेको भन्दै बायोफ्लक नै मन परेको प्रतिक्रिया दिनुभयो । यो प्रविधिको बारेमा युवाले दिएको जानकारीले थप प्रोत्साहन मिलेको उहाँले बताउनुभयो ।

       के हो बायोफ्लक ?

    जमीन नबिगारिकन सतहभन्दा माथि ट्याङ्कमार्फत बढी घनत्वमा माछा पालन गर्न मिल्ने प्रविधि हो बायोफ्लक । पानीमा सूक्ष्म जीव (ब्याक्टेरिया) उत्पादन गरी माछालाई बाँच्न मिल्ने वातावरण यो प्रविधिमार्फत तयार गरिन्छ । माछाले फ्लक खाने र फ्लकले प्राङ्गारिक पदार्थ खाने हुँदा यसमा जलीय पर्यावरण चक्र सन्तुलन हुन्छ ।

    बायोफ्लक प्रविधिबाट माछापालन गर्न एरियसन पम्प, तारपोलिङ, पानीको प्यारामिटर नाप्ने उपकरण आवश्यक पर्दछ । ट्याङ्की निर्माण गरेर माछा हालेपछि यस्ता उपकरण अनिवार्य राख्नुपर्छ । यो प्रविधिबाट उत्पादन भएको माछा स्वस्थ हुन्छ । “बायोफ्लक प्रविधिबाट उत्पादन भएको माछा फोहर हुँदैन । यो प्रविधिमा पानी परिवर्तन गरिरहनु पर्दैन ।”

    यो प्रविधिमा थोरै जग्गा भएकाले पनि माछापालन गर्न सक्छन् । थोरै जग्गामा धेरै पाल्न मिल्ने र निकाल्न (हार्भेस्टिङ) सजिलो हुन्छ । जुन माछाको माग बढी छ, त्यसलाई लक्षित गरेर माछापालन गर्न सकिन्छ । माछा पाल्नकै लागि खाडल खन्न नपर्ने भएपछि जमीन बिग्रँदैन । पानीको स्रोत कम भएको ठाउँमा यो प्रविधि निकै लाभदायी हुन्छ । पहाडी भेगका साना गरामा पनि यो प्रविधिमार्फत माछापालन गर्न सकिन्छ ।

    यो प्रविधिबाट पालिएका माछालाई प्रोटिनयुक्त दाना खुवाइने हुनाले यसबाट उत्पादन हुने माछा स्वस्थकर र स्वादिलो हुन्छ । सामान्यतया पोखरीको तुलनामा कम मात्रामा दाना खुवाएर माछा उत्पादन गर्न सकिन्छ । पोखरीको हिसाबमा यो धेरै सस्तो हुन्छ । परम्परागतरूपमा माछापालन गर्दा एक कट्ठा जग्गामा १५० केजीदेखि ३०० केजी मात्र माछापालन गर्न सकिन्छ तर यो प्रविधिमा सोही बराबरको जग्गामा छ हजार केजीसम्म उत्पादन गर्न सकिन्छ ।

    एक कट्ठा जग्गामा तीन डायमिटरका १६ वटा ट्याङ्क अट्छ । जसले एक सिजनमा छ हजारदेखि आठ हजार केजीसम्म माछा उत्पादन गर्न सकिन्छ । माछापालनमा प्रयोग हुने ट्याङक फरक फरक साइजको हुन्छ । सामान्यतया एउटा तीन मिटर व्यासको ट्याङक रु ३० देखि ४० हजारमा तयार हुन्छ । यसमा २०० देखि ५०० केजी माछा हुर्काउन सकिन्छ ।

    यो प्रविधिमार्फत माछापालन गर्नका लागि प्राविधिक ज्ञान आवश्यक पर्छ । ब्याक्टेरिया हुर्काउन पर्ने, पानीमा विभिन्न तत्वको मात्रा मिलाइरहनुपर्ने हुनाले प्राविधिक ज्ञान आवश्यक पर्छ । यो प्रविधि धेरै फाइदाजनक देखिए पनि यसका चुनौतीलाई राम्रोसँग सामना गर्न सकेन भने धेरै समस्यासमेत आउन सक्छ । यसमा विशेष गरेर विद्युत् लगातार आवश्यक हुन्छ । यो प्रविधिमा सफल हुनका लागि समयको व्यवस्थापन जरुरी हुन्छ । यो प्रविधि नेपालमै पहिलोपटक सफल परीक्षण गरेको युवाको दाबी छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.