सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो


  •    /२२ श्रावण २०७६, बुधबार १८:५० 
  •    सुभानु आचार्य/रासस

    ललितपुर । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् ।

    नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ निर्माणको काम समयमै गर्न नसकेकाले उक्त कुराको जानकारी जापानस्थित क्युटेक विश्वविद्यालयमा हाल अध्ययनरत नेपाली विद्यार्थी हरिराम श्रेष्ठले नाष्टका वैज्ञानिकलाई जानकारी गराउनुभएको हो । पहिलो पटक नेपाली स्याट–१ ले खिचेका सो तस्वीर केही धमिलो कैद भएका नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

    “आकाशमा बादल लागेको र बढी घाम लागेका बेला भूउपग्रहले धमिलो तस्वीर कैद गर्ने गर्छ”, उहाँले भन्नुभयो, “नेपालमा ‘ग्राउण्ड स्टेशन’ निर्माण नभइसकेकाले जापानको क्युटेक विश्वविद्यालयले सो कुराको जानकारी हामीलाई गराएको हो ।” नेपाली स्याट–१ ले सूर्य र पृथ्वीका तस्वीरका अलवा चीन र भारत सिमानाका तस्वीर पनि कैद गरिसकेको बताइएको छ ।

    अनुभवी दक्ष जनशक्तिको अभाव, प्रशासनिक विधि र सार्वजनिक खरीद ऐनमा समय खर्च गर्नुपरेकाले नाष्टमा समयमै ग्राउण्ड स्टेशन निर्माण गर्न नसकिएको ढकालले जानकारी दिनुभयो । नेपालमा ग्राउण्ड स्टेशन निर्माणमा ढिलाइ भएसँगै देशले आफ्नो भूउपग्रहबाट समयमै आवश्यक सूचना प्राप्त गर्न सकेको छैन । नेपालमै नेपाली स्याट–१ बाट सूचना प्राप्त गर्न नाष्टले आउँदो शुक्रबारसम्ममा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न गर्ने जानकारी गराएको छ ।

    नाष्टमा ग्राउण्ड स्टेशन निर्माणका लागि सात देशबाट सामग्री सङ्कलन गर्नुपरेको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “नाष्टको कार्यालयभित्र एन्टेना जडान गरिसकेपछि त्यसमा प्राविधिक समस्या भएन भने अबको एक हप्तामा सो भूउपग्रहबाट सूचना लिन सक्नेछौँ ।” नाष्टले ग्राउण्ड स्टेशन निर्माणका लागि अनुमतिपत्र लिनुपरेकाले त्यसमा केही दिन समय खर्च गर्नुपरेको हो । नेपाली स्याट–१ सँग निरन्तर दुईदेखि तीन वर्ष तस्वीर सङ्कलन गर्न सक्ने क्षमता छ । नाष्टले जापानको बर्डस परियोजनालाई भविष्यमा निरन्तरता दिन लागि पर्ने जानकारी गराएको छ ।

       नेपाली स्याट–१ प्रशान्त महासागरमा

    नेपालले निर्माण गरेको नेपाली स्याट–१ एशिया कटेर अमेरिकाको प्रसान्त महासागरमा आज आइपुगेको नाष्टका सहायक अनुसन्धानकर्ता दिबोध लामिछानेले जानकारी दिनुभयो । “सो भूउपग्रह आज तीन पटक नेपाली आकाशमा आउने छ”, उहाँले भन्नुभयो, “दिउँसो १२ः५२ मा आएर १२ः५७ सम्म बस्यो, त्यसैगरी साँझ ७ः२५ मा आएर ७ः३० सम्म बसी पुनः राति ९ः०२ मा आएर ९ः०७ सम्म बस्ने भएको छ ।” सो भूउपग्रहले पृथ्वीको परिक्रमा ९० मिनेटमा एक पटक गर्ने छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने बताइएको छ ।

    हाल यो भूउपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथि आकाशमा रहेको नाष्टका वैज्ञानिकको भनाइ छ । सो भूउपग्रहमा पाँच मेगा पिक्सल क्यामेरा जडान गरिएको छ । नेपालसँगै वैशाख ४ गते श्रीलङ्काले ‘रावण–१’ र जापानले ‘युवुसु’ नामक भूउपग्रह प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
    लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै
    • सुनचाँदीको मूल्य आज पनि घट्यो
    • सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    • नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    • नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.