सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर


  •    न्युजभित्तो/३१ श्रावण २०७८, आईतवार १५:०० 
  • चितवन,३१ साउन । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ । उहाँका अनुसार सुलीबाट मासिक रु एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ ।

    खैरहनी नगरपालिका– १ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालीमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभिएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ । यससँगै तीन फार्मलाई आवश्यकपर्ने विद्युत् यहीबाट उत्पादन भएको छ । फार्मका सञ्चालक अर्यालका अनुसार सुरुमा रु १२ लाख खर्च गरेर ग्यास उत्पादन थालिएको हो ।

    यसको प्रभावकारिता राम्रो देखिएपछि रु एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सिएसटिआर प्रविधिअन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत रु ५२ लाख अनुदानसमेत दिएको उहाँको भनाइ छ ।

    सुलीबाट ग्यास उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उहाँ यसप्रति आकर्षित हुनुभएको हो । यससँगै इन्धन बचाउने काममा ग्यास प्रभावकारी भएको छ । निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्यास उत्पादन गर्ने तयारी उहाँको छ ।

    उहाँका अनुसार बैंकले प्रस्ताव स्वीकृत गरेको छ । यो परियोजना सम्पन्न हुँदै गर्दा दुई लाख १५ हजार कुखुरालाई आवश्यकपर्ने सम्पूर्ण इन्धन ग्यासबाट पूरा हुनेछ । यसका लागि करिब रु १२ करोड खर्च हुनेछ । सोमध्ये रु चार करोड विश्वबैंकले अनुदान दिने उहाँको भनाइ छ । यसबाट २५० केभिएको जेनेटर चल्नेछ । यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उहाँले बताउनुभयो ।

    अहिले खोरमा एक लाख कुखुरा छन् । केही महिनाभित्रमा दुई लाख १५ हजार पु¥याउनका लागि आधुनिक खोर बनिरहेका छन् । नेपालमा उच्चस्तरको केज प्रविधि भित्र्याउने अर्याल सरकारको जागिर छाडेर यो पेशामा लाग्नुभएको हो । विसं २००८ असार ११ गते काठमाडौँको ज्याठामा जन्मिनुभएका उहाँले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । बुबा अदालतमा जागिर गर्ने हुँदा उहाँले देशका विभिन्न जिल्लामा रहेका जेपी हाइस्कुल, भुटनदेवी हाइस्कुल, ठाकुरराम क्याम्पस, त्रिचन्द्र कलेज, शङ्करदेव क्याम्पसलगायतमा अध्ययन गर्नुभएको हो ।

    अठार वर्ष नेपाल बैंकमा जागिरपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्याललाई विसं २०५० मा माध्यमिक शिक्षा विकास परियोजनाको निर्देशकमा नियुक्त गरेसँगै उहाँ राजनीतिक नियुक्तितर्फ लाग्नुभएको थियो । लम्जुङका नेपाली कांग्रेसका नेता श्रीकान्त अधिकारी र उदयनाथ अधिकारी लगायतको नाता सम्बन्धका कारण राजनीतिमा प्रवेश गर्नुभएका उहाँ निर्देशक पदबाट हटेसँगै आफ्नै व्यवसाय थाल्नुभएको हो ।

    उहाँकी बहिनी डिना उपाध्याय अहिले पनि कांग्रेसको केन्द्रीय नेता हुनुहुन्छ । विसं २०५२ मा चितवन झरेर उहाँले कुखुरापालन व्यवसाय शुरु गर्नुभएको हो । उहाँका श्रीमती सुमा अर्यालले जनकपुर चुरोट कारखानाको अधिकृतको जागिर छोडेर यो पेशा अंगाल्नु भएको हो ।

    अध्ययनका कारण उहाँहरुले सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ व्यवसाय शुरु गर्नुभएको हो । सो ठाउँमा दुई बिघा १० कठ्ठा जग्गा खरिद गरेर उहाँले अटोमेटिक केजमार्फत व्यवसाय शुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेपालमा हामीले पहिलो पटक आटोमेटिक केज भित्र्याएका हौँ ।” उहाँहरुको क्लोज हाउसमा कटनले बारिएको छ भने पूर्णरुपमा क्लोजहाउस विकास गरिने जनाइएको छ ।

    उहाँले सुुरुमा ६० हजार कुखुरापालनबाट पेशा थाल्नुभएको हो । केजमा उत्पादन भएको अण्डा ठूलो र आकर्षक हुने हुँदा उहाँको अण्डाको माग राम्रो छ । भविष्यमा यस पेशालाई आधुनिक बनाउने उहाँको योजना छ । सत्तरी वर्षका उमेरमा पनि युवाहरुसँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल उहाँ पोल्ट्री क्षेत्रमा नेपालमा चिनिएका व्यक्ति हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेर जाने सुलीलाई उपयोग गर्न सक्यौँ भने कसैका खोरमा विद्युत् किन्नु पर्दैन ।”

    यसो त बायोग्यास बनाउनुपूर्व गन्धका कारण स्थानीयले समयसमयमा विरोध गर्दै आएकामा अहिले खोरभित्रमात्रै होइन, बायोग्यासपछि निस्किएको मलमा गन्ध आउँदैन । यो मलमा नाइट्रोजन प्रशस्त हुने हुँदा उर्वर मानिन्छ । यद्यपि उहाँले खोर वरिपरि अग्लो बार र हरियाली बनाउनुभएको छ । उहाँको फार्म पुग्दा जोकोहीलाई तारे होटल पुगे जस्तो भान हुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.