सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज विश्व बाघ दिवस : बाघ संरक्षणमा गरिएको लगानीको उल्टो प्रतिफल


  •    /१३ श्रावण २०७६, सोमबार ११:२० 
  • तिलकराम रिमाल
    चितवन  ।
    दुर्लभ पाटे बाघ संरक्षणमा गरिएको लगानी यसै खेर गएको छ । सकारात्मक परिणाामको अपेक्षासहित गरिएको लगानीको उल्टो प्रतिफल देखिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको संख्या बढाउन गरिएका प्रयास असफल भएका हुन् ।

    निकुञ्जमा सन् १९९६ मा ५० बाघ रहेका थिए । सन् १९९९ मा ५०, सन् २००३ मा ६०, २००५ मा ६५ र सन् २०१३ मा यो संख्या १२० मा पुगेको थियो । तर सन् २०१३ पछिको पाँच वर्षमा गरिएको करोडौं लगानीको प्रतिफल उल्टो आएको हो । सन् २०१८ मा आईपुग्दा निकुञ्जमा बाघको संख्या घटेर ९३ मा झरेको छ ।

    यो पाँच वर्षको अवधिमा नेपाल सरकार र दाताहरुले बाघ संरक्षणकै लागि भनेर करोडौं रुपैयाँ लगानी गरेका छन् । तर परिणाम उल्टो देखिएपछि संरक्षणकर्मीहरुमा चिन्ता थपिएको छ । यो समयमा गरिएको लगानी सही ठाउँमा भयो वा भएन ? भन्ने प्रश्न पनि अहिले उब्जिएको छ ।

    विकास निर्माण र वन क्षेत्र अतिक्रमणको चपेटामा दुर्लभ पाटेबाघ परेको धेरैले अड्कल काटेका छन् । जसका कारण यसको संख्या बढाउन गरिएका प्रयास निरर्थक बनेका हुन् ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल २०७४ सालमा आएको बाढीले बाघ र बाघको आहारा प्रजाति बगाएपछि यसको संख्या घटेको दावी गर्नुहुन्छ । उहाँले भन्नुभयो “बाढीले ठूलो संख्यामा आहारा प्रजाति बगायो, बाघ पनि बाढीले बगाएर मरेको हुन सक्छ ।” बाघको बासस्थान क्षेत्रमा मानवीय गतिविधि बढ्नुलाई पनि बाघ संरक्षणको चुनौतीका रुपमा लिनुहुन्छ ढकाल ।

    उहाँले भन्नुभयो “पर्यटकीय गतिविधि बढ्दै जाँदा बाघको बासस्थान साँघुरिएको छ ।” थप क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन नहुने उहाँको तर्क छ ।

    वन क्षेत्रमा सडक निर्माण गर्दा बाघको बासस्थान खण्डीकरण, मठ–मन्दिर र सुकुम्बासीका नाममा वन क्षेत्र अतिक्रमण हुँदा बाघको बासस्थान साँघुरिंदै आएको उहाँले बताउनुभयो । पानीका मुहानहरु सुक्दै जाँदा आहारा प्रजातिका जनावर घट्दै जाने, माईकेनिया जस्ता झारले घाँसे मैदान अतिक्रमण गर्दै जाने जस्ता कारणले बाघ संरक्षण चुनौतीपूर्ण भएको उहाँको भनाई छ ।

    एउटा बयस्क बाघका लागि १० देखि २० वर्गकिलोमिटर क्षेत्रफल आवश्यक पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्गकिलोमिटर र यसको मध्यवर्ती क्षेत्र ७२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

    बाघ विज्ञ चिरञ्जीवि पोखरेल बासस्थान घट्दै जानु, चोरीशिकारी एवं अवैध व्यापार बढ्नु, आहारा घट्दै जानु जस्ता कारण बाघ संरक्षण चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । विश्वका १३ वटा देशमा पाटेबाघ पाईने बताउँदै उहाँले त्यसको नौ प्रजातिमध्ये तीन प्रजाति लोप भईसकेको जानकारी दिनुभयो ।

    बाघको बासस्थान संकुचन, वनको खण्डीकरण, चोरीशिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमा सम्बन्धी समस्याहरु पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएको पोखरेलको भनाई छ ।

    निकुञ्जभित्र उपयुक्त बासस्थान नहुने र आहारा नपाउँदा बाघ मानव वस्ती पस्दा बाघ र मानवबीच द्वन्द्व बढ्दै जाने गरेको छ ।

    सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्कमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने बाघ पाईने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसै अनुरुप नेपालले पनि बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो । विश्वमा ७० वर्ष अघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आईपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।

    बाघको संख्या नेपालमा सन् २०१३ मा आईपुग्दा १९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा ४, पर्सा राष्ट्रिय निकुञ्जमा ७ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ बाघ रहेका थिए । सन् २०१८ को गणना अनुसार नेपालमा बाघको संख्या २ सय ३५ पुगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा रहेका छन् । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् ।

    समग्र नेपालमा दोब्बर सङ्ख्या पुर्याउने लक्ष्य नजिक

    भीष्मराज ओझा
    काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

    सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम बाघ पाइने चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो ।

    पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

    सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

    मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।

    विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।

    नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ ।

    सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको सङ्ख्या छ । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८९० रहेको छ ।

    नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ ।

    मुलुकमा जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पुर्याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.