सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकिन्छ : अध्यक्ष दाहाल


  •    /७ श्रावण २०७६, मंगलवार १५:२४ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ‘४१ औँ पुष्पलाल स्मृति दिवस’ कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो ।

    “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौँ”, दाहालले भन्नुभयो, “हाम्रो लक्ष्य यही साउन महीनाभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुङ्ग्याउने छौँ, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्ने छौँ ।” उहाँले केन्द्रीय कमिटी बैठकबाट देशव्यापीरुपमा कार्यक्रम बनाएर जनतासमक्ष समेत जाने बताउनुभयो ।

    अध्यक्ष दाहालले पुष्पलालले देखेको सपना आफूहरुले पार्टी एकता गर्दै जनवादी क्रान्ति मौलिक ढङ्गले पूरा गरेको धारणा राख्नुभयो । उहाँले पुष्पलालले नै विभाजित पार्टीलाई एकताबद्ध गर्नुपर्दछ भनेर विसं २०२५ मा गोरखपुर सम्मेलनमार्फत एउटा झण्डा उठाएको समेत बताउनुभयो । नेता दाहालले पुष्पलालको मानसिक सन्तति आफूहरु भएको उल्लेख गर्दै समाजवादको यात्रा पनि उहाँकै सपना अनुसार पूरा गरिने दृढता व्यक्त गर्नुभयो ।

    “विभाजन भएको पार्टीलाई फेरि एकताबद्ध र आन्दोलित गर्ने, दीर्घकालीन सशस्त्र सङ्घर्षमार्फत जनवादी क्रान्ति रणनीति अगाडि बढाउने अनि पञ्चायतका शक्तिसँग मिलेर जाने पहलको नेतृत्व पनि पुष्पलालले नै गर्नुभएको हो”, उहाँले भन्नुभयो, “त्यसैले हामी सबै पुष्पलालकै सन्तति र उत्तराधिकारी हौँ ।”

    उहाँले पुष्पलालले देखेको समाजवाद तथा समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्नका लागि पार्टीलाई विचार र राजनीतिका आधारमा, साङ्गठनिक मूल्यमान्यताका आधारमा, विधि र प्रक्रियाको आधारमा जनतासँगको सम्बन्धको आधारमा सुदृढ गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

    “हामी पहिलो पार्टी भएपछि सबै चिज ठीकठाक हुन्छ भन्ने जे विश्वास थियो त्यसमा उठेका यदाकदाका प्रश्नको जवाफ हामीले एकता प्रक्रिया टुङ्ग्याएर, पार्टीलाई सक्रिय बनाएर, जनतालाई परिचालन गरेर गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष दाहालले आफूभित्र देखापरेका कमजोरीलाई सच्चाएर सङ्कल्प गर्नु नै पुष्पलाललाई सम्झनुको अर्को बाटो रहेको बताउँदै भन्नुभयो, “ अबको बाटो हामीभित्र देखिएको कमीकमजोरी सच्याउने पनि हो । आफैलाई धोइपखाली सफा गर्ने कुरा पनि हो । त्यस अर्थमा यो दिवसको औचित्य हुन्छ”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा नेकपाका वरिष्ठ नेता, पूर्व प्रधानमन्त्री एवम् प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेकपालाई लोकप्रिय बनाएर स्थापित गर्न सकेमात्र पुष्पलालको सपना साकार हुने बताउनुभयो । उहाँले पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह पार्टीको मार्ग निर्देशनअनुसार चल्नुपर्ने तथा पार्टीमा राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहनसमेत गर्नुपर्ने बताउनुभयो । उहाँले छिट्टै पोलिटब्यूरो गठन तथा विभागीय र जनवर्गाीय सङ्गठनको जिम्मेवारी बाँडफाट गरिने बताउनुभयो ।

    वरिष्ठ नेता नेपालले अहिले मुलुकमा झण्डै दुई तिहाइको कम्युनिष्टको सरकार भएकाले यस अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । “अहिले सरकार सञ्चालनको अभूतपूर्व अवसर छ । यो अवसरलाई खेर जान दिनुहुँदैन”, उहाँले भन्नुभयो, “खेर जान दियो भने फेरि अवसर जनताले दिन्छ कि दिँदैनन् ।” उहाँले पुष्पलाल जन्मेको ठाउँ रामेछापको भँगेरीमा पुष्पलाल सङ्ग्रहालय र उद्यान स्थापना गरिनेसमेत जानकारी दिनुभयो ।

    नेकपाका अर्का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पुष्पलालले देखाएको बाटोमा हिँडेमात्र मुलुक समृद्ध हुने बताउँदै समाजवादको मार्गरेखा कोरिएकाले अबको कम्युनिष्ट सरकारले मुलुकमा समाजवाद ल्याउनुपर्ने बताउनुभयो ।

    सो अवसरमा कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यान चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र खनाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेललगायत नेताले पुष्पगुच्छासहित माल्यार्पण गर्नुभएको थियो ।

    विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते आजैका दिन भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो । नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ उहाँले साथीहरुको सहयोगमा विसं २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो । उहाँले कम्युनिष्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.