सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिपीको सिद्धान्तमाथि ठूलो आक्रमण भइरहेको छ : काँग्रेस सभापति देउवा


  •    /६ श्रावण २०७६, सोमबार १६:४९ 
  • काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताउनुभएको छ । बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उहाँले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पार्नुभयो ।

    सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका देउवाले भन्नुभयो, “लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढङ्गले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन, सडक सङ्घर्षमा उत्रन पनि बाध्य हुने अवस्था हुन्छ । मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउने ढङ्गबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ ।”

    अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट काम भइरहेको बताउँदै उहाँले व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको आरोप लगाउनुभयो ।

    बिपीको विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हासिल गर्न सकिने बताउँदै सभापति देउवाले भन्नुभयो, “बिपीको विचार अहिले पनि सान्दर्भिक छ, लेखक, कथाकार, समाजवादी चिन्तकका रुपमा स्थापित उहाँको व्यक्तित्व साच्चिकै असाधारण छ ।”

    राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई एकसाथ अघि बढाउनुपर्छ भन्ने मान्यतामा दृढ बिपीलाई राष्ट्रप्रति माया भएकै कारण मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको हो भन्दै उहाँले मुख्य कुरा भनेको प्रजातन्त्र हो, प्रजातन्त्रविनाको समाजवाद हुँदैन भन्ने उहाँको प्रष्ट धारणा थियो भन्नुभयो ।

    काँग्रेस उपसभापति विमलेन्द्र निधिले बिपीले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधार अघि सार्नुभएकाले देशका लागि प्रजातन्त्र नै अपरिहार्य शर्त हो भन्ने पक्षलाई सबैले मनन गर्नुपर्छ भन्नुभयो । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको विजयको हिसाबले बिपीको विचारले निकै ठूलो उचाइ प्राप्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मुलुकका सबै राजनीतिक दलका नेतृत्वको प्रेरणाको स्रोत बिपी भएको र सबैले गौरवका साथ स्वीकार गरेको अवस्था हो, राजा र कम्युनिष्टले बिपी विचारलाई बुझेको भए यो देश र यहाँका जनताले यति धेरै दुःख भोग्नुपर्ने थिएन ।”

    प्रतिष्ठानका संस्थापक ढुण्डिराज शास्त्रीले बिपीले लिनुभएको प्रजातान्त्रिक समाजवादको बाटो लोकतान्त्रिक सिद्धान्त र मानव कल्याणको उचित गन्तव्य थियो भन्ने विद्यमान राजनीतिक घटनाले पुष्टि गरेको धारणा व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाल र उपाध्यक्ष अञ्जली श्रेष्ठले वर्षमा एकपटक बिपीको योगदानको कुरा मात्र नगर्न र शहीद परिवारप्रति गर्नुपर्ने कर्तव्यप्रति सोचेर काम गर्न सुझाव दिनुभयो ।

    सभापति देउवाले बिपी र कृष्णप्रसाद भट्टराईको तस्बीरमा माल्यार्पण गर्नाका साथै प्रतिष्ठानका संस्थापक एवं पूर्व मन्त्री शास्त्रीलाई सम्मान र प्रतिष्ठानद्वारा प्रकाशित ‘शहीद’ नामक पुस्तक लोकार्पण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.