सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज खण्डग्रास चन्द्रग्रहण, यी राशि भएकाले हेर्न हुँदैन


  •    /३१ असार २०७६, मंगलवार ०९:०१ 
  • काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिनुभएको छ । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो ।

    उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

    कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्नु हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरी र सम्भव नभए घरमै स्नान गर्नुपर्ने ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

    सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले बताउनुभयो । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । असार ३१ गते अपराह्न ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यतानुसार भोजन निषेध गरिएको छ ।

    खगोलविद् तथा वैज्ञानिकका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर भएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् जयन्त आचार्यले बताउनुभयो । ग्रहणको प्रभाव केवल मानवजातिमा मात्र नभई पशुपन्छीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिने बताइएको छ । एक्काइसौँ शताब्दीमा जम्मा पचासी चन्द्रग्रहण पर्ने जनाइएको छ ।

    ग्रहणसम्बन्धी आधुनिक एवम् वैज्ञानिक धारणा

    नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छायाँ चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ । ग्रेगोरियन पात्रोअनुसार ग्रहण जुलाई १७ तारिखको बिहान र नेपाली पात्रोअनुसार असार ३१ गते राति पर्छ । नेपाली पात्रोअनुसार सूर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन गणना गरिन्छ । ग्रेगोरियन पात्रोले मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

    चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ । वैज्ञानिक मान्यतानुसार चन्द्रग्रहण हेर्दा कुनै हानिनोक्सानी नहुने अध्यक्ष भट्टराईले बताउनुभयो ।

    मङ्गलबार राति १ः४६ बजे शुरु हुने खण्डग्रास ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा राति ३ः१५ बढी ढाक्नेछ । पूरै ढाक्ने भएको भए यसलाई खग्रास भनिन्थ्यो । अवलोकनकर्ताले १ः४६ बजेदेखि दुई घण्टा ५८ मिनेटसम्म अर्थात् ४ः४४ बजेसम्म चन्द्रमाको केही भागलाई तामा रङमा देख्न सक्नेछन् । यस अवधिलाई नै खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।

    ग्रहण नेपाललगायत भारत, चीन, मङ्गोलिया, जापान, रुस तथा अफ्रिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया महादेशबाट देख्न सकिन्छ । क्यानडा तथा उत्तर अमेरिकामा बसोबास गर्ने मानिसले ग्रहणको अनुभव लिन नपाउने वाल्मीकि विद्यापीठका उपप्राध्यापक आचार्यले जानकारी दिनुभयो ।

    एकाइसौँ शताब्दीमा पने ८५ चन्द्रग्रहणमध्ये यो एक भएको उहाँले सुनाउनुभयो । “तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्घि हुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्छन्”, उहाँले भन्नुभयो ।

    सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन विभिन्न सावधानी अपनाइन्छ । चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीले हेर्दा केही असर गर्दैन । चन्द्रग्रहणमा आँखालाई हानिनोक्सानी पु¥याउने खालका किरण आएका हँुदैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.