सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ६९ पुग्यो, ३१ अझै बेपत्ता (अपडेट)


  •    /३० असार २०७६, सोमबार २३:२८ 
  • काठमाडौँ । यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु भएको, ३१ जना बेपत्ता भएका, ३८ जना घाइते भएका र १६ हजार ५२० घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ ।

    त्यस्तै हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट तीन हजार ३६६ जना व्यक्तिलाई उद्धार गरिएको छ । उद्घार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरु क्रियाशिल छन् । यस कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरु र स्थानीयवासी परिचालित भएको मन्त्रालयले जनाएको छ ।

    शीघ्रातिशीघ्र उद्धारको काम प्रभावकारी रुपमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बन्धित सबैलाई निर्देशन र अनुरोधसमेत भइसकेको छ । मन्त्रिपरिषद्को असार २९ गतेको बैठकले सरकारका सबै निकाय र जनशक्तिलाई परिचालित गरी तत्काल राहतका कार्यहरु तदारुकताका साथ गर्न निर्देशन भएबमोजिम सम्पूर्ण घाइतेको निःशुल्क उपचार, घाइते भई अपाङ्ग एवं अशक्त भएका र मृतकका परिवारलाई यथोचित व्यवस्था गर्ने कार्य भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन सतर्कताका साथ औषधि र उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ । विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवालाई सहज बनाइराख्न सरकारी र गैरसरकारी संयन्त्रहरु प्रभावकारी रुपमा परिचालन भइरहेका छन् ।

    उद्धार र राहतलगायतका कार्यहरुमा आवश्यक सहयोग पु¥याउन सरकारले जनप्रतिनिधिलगायत सबैलाई आग्रहसमेत गरिसकेको छ । आपत्कालीन उद्धार तथा राहतका लागि आवश्यकतानुसार हेलिकप्टर उडान भइरहेको तथा काठमाडाँैबाट हेलिकप्टरमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा प्रवाहलाई सुचारू गर्न जेनेरेटर र धनुषाको लागि एक हजार १०० थान त्रिपाल पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

    त्यस्तै ललितपुर जिल्लाको महाँकाल गोटिखेलका २० र वाग्मती गाउँपालिकाको पिउटारका २० परिवारको लागि त्रिपाल, म्याट र कम्बल ४०/४० थानका दरले हेलिकप्टरमार्फत पठाइएको छ । साथै सुर्खेत र इटहरीमा हेलिकप्टर तयारी हालतमा राखिएको छ ।

    यसैगरी प्रदेश गोदामघर हेटौँडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि तीन/तीन हजार थानका दरले १२ हजार थान त्रिपाल र चार रोल म्याटसहितको राहत सामग्री पठाइएको छ ।

    इटहरीमा रहेको प्रदेश नं १ को गोदामघरबाट सप्तरीका प्रभावित परिवारलाई आश्रय प्रदान गर्न त्रिपाल वितरण गरिएको छ । घरबाट बाहिर सुरक्षित बसेकाहरुका लागि प्रदेश सरकार, स्थानीय तह र स्थानीयस्तरमा कार्यरत सङ्घसंस्थाबाट तत्कालको लागि खाद्यान्न व्यवस्थापन भइरहेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्भावित महामारीलाई मध्यनजर गरी प्रभावित जिल्लाहरुमा स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिहरुबाट उद्धार तथा बेपत्ताहरुको खोजीलाई तीव्रता दिइएको विज्ञप्तिमा जनाइएको छ ।

    मकवानपुरस्थित इन्द्रसरोवर (कुलेखानी जलाशय) मा सामान्यतया कात्तिक महीनासम्ममा भरी हुने पानीको सतह अहिले नै भरिइसकेको छ । साठी मेगावाट विद्युत् उत्पादन गरी दुई सेन्टिमिटरको दरले पानीको सतह घटाउँदै लैजादासमेत पानीले अधिकतम सीमा रेखा नाघ्ने अवस्था आएमा जलाशयको ढोकाहरु खोल्नुपर्ने स्थिति आउन सक्ने बताइएको छ । हाल टर्बाइनबाट भएको निकासले पानीको सतह नियन्त्रणमा नै रहेको मन्त्रालयले जनाएको छ ।

    ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा जनधनको क्षति हुन नदिने गरी सुरक्षा सतर्कता अपनाइएको छ । एसएमएसमार्फत अवस्थाको पूर्वसूचना दिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.