सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिन्दगीको के भरोसा


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १२:०५ 
  • विवेक विवश रेग्मी

    जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो

    दुई आँखामा एकमा हाँसो, अर्कोमा रुवाइ छ …।

    लोकप्रिय गायक कर्णदासको यो गीत ल्यापटपमा लगातार बजिरहेको छ । गीत जस्तै छ जिन्दगीको परिभाषा पनि । सरल भाषामा भन्नुपर्दा वा ठ्याक्कै भन्नुपर्दा जिन्दगीको यकिन छैन, कहाँ, कहिले के हुने हो भरोसा छैन ।

    ‘के हो जिन्दगीको परिभाषा ? जिन्दगी बाँचुन्जेल पनि बुझ्न नसकिंदो रहेछ’ चिया बसाइमा अनन्य मित्रले बोलेका कुराले फेरि एकपटक सोच्न बाध्य भएँ । पटक–पटक जिन्दगीको परिभाषा खोज्न नसकेर विरक्तिएको विवश साथीको उक्त वाक्यले एकपटक फेरि सोच्न विवश बनें ।

    धेरै फुर्सद हुँदा पनि बेफुर्सदिलो जस्तै भइने रहेछ । अहिले यस्तै बेफुर्सदिलो भएको छु । तर, जिन्दगीको बारेमा के–के सोचेर छट्पटाइरहेछु ।

    ‘एउटा राम्रो जागिर खान पाए, आफूले मनपराएको मानिससँग विवाह गर्न पाए, छोराछोरीलाई राम्रो पढाउन पाए, राम्रो लगाउन र राम्रो खान पाए पो जिन्दगी भन्ने लाग्थ्यो’ ती साथीले अगाडि थपे, ‘यी सबै कुरा पूर्ण छन् । जागिर पनि खाएकै छु, माया गरेकै मान्छेसँग विवाह पनि गरें, छोरीलाई राम्रो स्कूल पनि पढाएकै छु । तर पनि मैले जिन्दगीको परिभाषा अझै बुझ्न सकिनँ । खासमा के हो जिन्दगी भनेको ?’

    एक अर्थमा भन्नुपर्दा जिन्दगी ‘सेलिब्रेसन’ पनि त हो । त्यसो त दुःख हरेक दिन घर–आँगन हुँदै हिंडिरहेको हुन्छ । दुःखको बेला ‘सेलिब्रेसन’ गर्न मिल्ला र !

    उनले आफ्नो जिज्ञासा मतिर तेर्स्याउँदै नजानिंदो पाराले प्रश्न राखेका थिए । साथीले भनेका यी कुराले यसबेला एकपटक रन्थनिएको थियो मेरो दिमाग ।

    अहो ! म त जिन्दगीको परिभाषा नबुझेरै पो जिन्दगी बाँच्न सिकिरहेको रहेछु । मनले मनलाई नै भनें । फेरि सोचें, जिन्दगी बाँच्नका लागि जिन्दगीको परिभाषा बुझ्नुपर्छ र ? दुवै मनले भनेको कुरा सही लाग्यो । तर, म गलत रहेछु जस्तो, दुवै कुरा सही जस्ता, म पो बेठीक जस्तो ।

    कताकता मनले फेरि अर्को कुरा सोचिरहेको थियो ।

    ‘मानिस विवाह गरेपछि परिवर्तित हुँदोरहेछ । जस्तो म हेरौं न, म त सकिएँ नि !’ मैले कुनै प्रतिक्रिया दिन नपाउँदै साथीले फेरि थपे । उनले वर्ष दिनदेखि आफ्नो मनमा लागेका कुरा आधा गिलासभन्दा अलिकति धेरै चिया सक्न नपाउँदै एकैछिनमा आफ्ना कुरा राखे ।

    कति दिनदेखि उनले यो कुरा मनमा पालेर राखेका थिए, थाहा छैन । कसलाई सुनाउन लागेका थिए, त्यो पनि थाहा छैन । तर, संयोगले जुरेको यो सानो चियायोगमा मैले उनले विवाह गरेपछिका भोगाइहरू सुन्न पाएको थिएँ ।

    जम्माजम्मी यो आधा घण्टाको चिया बसाइमा उनका कुराले जिन्दगीभरका लागि जिन्दगीबारे सोच्न बाध्य बनायो । अहिले जिन्दगीबारे के–के सोचेर पुनः छट्पटाइरहेछु ।

    हामी बेलाबेलामा जिन्दगी ‘सेलिब्रेसन’ गरिरहेका छौं, जिन्दगीको परिभाषा नबुझेरै पनि । एक अर्थमा भन्नुपर्दा जिन्दगी ‘सेलिब्रेसन’ पनि त हो । त्यसो त दुःख हरेक दिन घर–आँगन हुँदै हिंडिरहेको हुन्छ । दुःखको बेला ‘सेलिब्रेसन’ गर्न मिल्ला र !

    वर्षदिनमा साँच्चै भन्नुपर्दा कतिदिन हाम्रो घरको बाटो भएर खुशी आउँछ ? खुशी आएपछि के हुन्छ ? होइन, होइन । दुःखमा के पो भइरहेको छ र ? हामी केका लागि पो बाँचिरहेका छौं ? हामीले बाँचिरहेको भूगोलको विरुद्धमा हामी कतिसम्म कठोर बनिरहेका छौं ? हरेक दिन हामीले विभिन्न बहानामा विभिन्न मानिसलाई ठगिरहेका छौं ? केका लागि पो ? बाँच्नका लागि ?

    हो । यतिका धेरै प्रश्नको उत्तर जम्माजम्मी एउटै शब्द त रहेछ– ‘हो’ । जिन्दगी बाँच्नकै लागि हो, हामीले संघर्ष गरिरहेको ।

    यी प्रश्नहरू आफैंलाई सोध्ने गरेको छु– बारबार । सबै प्रश्नको एकै उत्तर हुन्छ– ‘जिन्दगी बाँच्नका लागि, हामीले संघर्ष गरिरहेका छौं ।’ लामा प्रश्नहरूलाई छोटै उत्तरले पनि कति सार्थक र भरिपूर्ण बनाइदिन्छ नि, अहो !

    ‘एउटा राम्रो जागिर खान पाए, आफूले मन पराएको मानिससँग विवाह गर्न पाए, छोराछोरीलाई राम्रो पढाउन पाए, राम्रो लगाउन र राम्रो खान पाए पो जिन्दगी भन्ने लाग्थ्यो । यी सबै कुरा पूर्ण छन् । तर पनि मैले जिन्दगीको परिभाषा अझै बुझ्न सकिनँ । खासमा के हो जिन्दगी भनेको ?’

    बाँच्नका लागि हामीले संघर्ष गरिरहेका छौं । तर, बाँच्नका लागि त्यत्रोविघ्न संघर्ष गर्नुपर्छ र ? बाँच्नका लागि कठोर बन्नैपर्छ र ? बाँच्नका लागि दलाली गर्नैपर्छ र ? पर्दैन । त्यसोभए हामी किन यस्तै हर्कतहरू गरिरहेका छौं ? हामी किन मानवीयता गुमाइरहेका छौं ? हामी किन आफैंभित्र कुण्ठा पालेर बाँचिरहेका छौं ? बाँच्नकै लागि मात्रै त त्यत्रो धेरै गर्न नपर्ने हो कि ! कि पर्छ ?

    तर, यी प्रश्नका जुलूसको उत्तर पाउँदिनँ । उत्तर खोज्न चाहेर पनि पाएको छैन ।

    खैर, पर्छ भने पनि केही छैन । जिन्दगीभर जिन्दगीको परिभाषा बुझ्न नसकेरै मरूँला । तर, फेरि पनि यी सबै–सबै प्रश्नहरूको उत्तर नपाएरै छट्पटाइरहेको छु ।

    साथीले भनेको अर्को कुराले पनि म त एकपटक सोच्न बाध्य भएँ । मानिस विवाह गरेपछि परिवर्तित हुन्छ !

    उनले माथि भनेका छन् नि– ‘मानिस विवाह गरेपछि परिवर्तित हुँदोरहेछ । जस्तो म हेरौं न, म त सकिएँ नि !’

    कसरी ? यो प्रश्नको पनि उत्तर भेटिनँ, मेरो शब्दकोशमा । वा, मैले खोज्न नचाहेको पो हो कि !

    वास्तविक रहरहरू पूरा हुन नपाई हरेक दिन कोही न कोही मानिसले देहत्याग गरिरहेको कुरा पनि वर्तमान अवस्थामा विद्यमान छ ।

    यसो सोचेर मन्थन गर्दा हरेक मानिसले अहिले जे जति प्रयासहरू गरिरहेका छन्, त्यो केवल बाँच्नका लागि । मात्र बाँच्नका लागि । मानिसको पहिलो आवश्यकता नै बाँच्नु रहेछ । यदि बाँच्नका लागि गाँस, बास, कपास नचाहिंदो हो त मानिसले कठिन समय झेल्नु नपर्दो हो । मानिस अनेक लोभ, ईष्र्या, घमण्ड र अहंकारको भकारी भएकै कारण आज बाँच्न पनि कठिन भइरहेको सत्य हो कि ? कहिलेकाहीं सत्य हो झैं लाग्छ ।

    हरेक चियापसलमा सधैंजसो सुनिने एउटा वाक्य आम युवा मानिसमा कण्ठस्थ छ– ‘मृत्यु अन्तिम सत्य हो ।’

    यहाँ एउटा प्रश्न उब्जिन्छ । उसोभए हामीले बाँचेको जीवन सत्य होइन ? हामीले भोगेको समय सत्य होइन ? हामीले बाँचेको परिवेश र हामीले बुझेको भूगोल सत्य होइन ? यो प्रश्न आफैंले आफैंलाई सोधिरहेको छु । मानिस जन्मेपछि आइपर्ने हरेक काम र कर्तव्य सत्य रहेछ ।

    मानिसको जीवन हुर्कनु, बढ्नु र जीवनमा चालेका सबै कदमहरू सत्य हुन् । कहिलेकाहीं उत्तर यसरी पनि फुत्किंदोरहेछ । हामी मानिसहरू आवश्यकताभन्दा पनि इच्छामा बाँचिरहेका रहेछौं । सबै मानिस आवश्यकतामा मात्रै चल्ने हो भने जीवन सहज हुने रहेछ । तर, हामी त इच्छामा बाँच्ने अभ्यास सिकिरहेका रहेछौं ।

    अब त इच्छापूर्ति नहुँदा छट्पटी हुन थालिसकेको रहेछ । अहिले म त्यही, त्यस्तै छट्पटीमा छु । यसबेला मर्नका लागि पनि सम्झौता गर्नुपर्ने शहरमा छु । मानिसका इच्छा, चाहना र आशयहरू पूरा हुन नपाउँदै, जिन्दगीको परिभाषा नबुझ्दै एउटा जिन्दगीको अवसान हुँदोरहेछ ।

    डियर अनन्त, यसबेला म त्यही जिन्दगीको परिभाषा नबुझेरै जिन्दगीभर छट्पटीमा बाँच्न सिकिरहेको छु ।

    सुनिरहेछु कर्णप्रिय कर्णदासलाई, जिन्दगीको के भरोसा…!

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    • ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    • कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.