सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन


  •    न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार १२:३९ 
  • –विमलबहादुर विष्ट,

    डोटी, २९ वैशाख । यहाँका स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि आइसोलेशन र क्वारेन्टिन निर्माण गर्न सकेका छैनन् ।

    कोरोना सङ्क्रमणले जिल्लावासी आक्रान्त बन्दासमेत यहाँका दुई नगरपालिकासहित साता स्थानीय तहले अहिलेसम्म पनि क्वारेन्टिन र आइसोलेशन निर्माण नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।

    जिल्लामा पूर्वीचौकी गाउँपालिकाले मात्रै आइसोलेशन निर्माण गरेको भए पनि अन्य स्थानीय तहले अहिलेसम्म पनि क्वारेन्टिन र आइसोलेशन निर्माण नगरेको दिपायल सिलगढी नगरपालिका–५ का किरण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले जिल्ला आक्रान्त भइसक्यो यहाँका जनप्रतिनिधिहरूले क्वारेन्टिन र आइसोलेशन बनाउनेतर्फ कुनै ध्यान दिएका छैनन् ।” क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ गएका तथा समुदायमा घुलमिल हुन थालेका कारण कोरोना सङ्क्रमणदर दैनिक फैलिँदै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

    अहिले पनि दैनिकजसो छिमेकी मुलुक भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रिने क्रम बढिरहेको छ । छिमेकी मुलुक भारत तथा देशका अन्य भागबाट अहिलेसम्म कति जना आए र ती कहाँकहाँ छन् त्यसको अभिलेख राख्ने समेत नहुँदा झनै गाह्रो भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिर्वाय रूपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरेको भए पनि भारतबाट आएकाहरू गाउँगाउँमा डुल्ने गरेका छन् । यहाँका गाउँघरमा कोरोनाको बढी जोखिम रहेको अर्का स्थानीयवासी रामबहादुर विष्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “ जिल्लामा कति सङ्क्रमित आए भन्ने कुनै स्थानीय तहले रेकर्ड राखेका छैन, बाहिरबाट आएका समाजमा घुलमिलमा छन्, कोरोना जोखिम त बढ्ने नै भयो ।” अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा जिल्लाका नौवटै स्थानीय तहहरूले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्म पाँच महिनामा करीब रु १२ करोड खर्च गरेका थिए ।

    यस वर्ष कसैले पनि क्वारेन्टिन र आइसोलेशन निर्माण गर्न चासो देखाएका छैनन् । तत्कालीन समयमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेशनलगायत विषयमा रकम खर्च गरेको थियो । पछिल्लो समय जिल्लामा जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ३०० को हाराहारीमा पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये २८३ जनाको होम आइसोलेशनमा र १२ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र पाँचको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    जिल्लामा सङ्क्रमितमध्ये हालसम्म जम्मा चार जनाले मात्रै कोरोना जितेका छन् । जिल्लामा कोरोना सङ्क्रमण हुने दर दिनहुँ वृद्धि हुँदै गएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका कतिपय नागरिक बिरामी हुँदा, ज्वरो आउँदासमेत अस्पताल नआउने तथा कसैलाई पनि जानकारी नदिने गरेका कारण झनै समस्या हुँदै आएको स्वास्थ्यकर्मीहरू बताउँछन् । यहाँका प्रमुख शहर बजारभन्दा पनि ग्रामीण क्षेत्रमा रहेका नागरिकहरूमा बढी कोरोना सङ्क्रमण हुने दर देखिएको छ ।

    भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश यहाँका नागरिक सिधै गाउँघरमा जाने तथा त्यहाँ उनीहरूले समुदायमा घुलमिल गर्ने क्रम बढेका कारण कोरोना सङ्क्रमित हुने दर बढ्दै गएको पाइएको हो । सङ्क्रमितहरू प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भारतबाट रोजगारी गरी हालसम्म जिल्लामा कम्तीमा पनि पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । यहाँका स्थानीय तहहरूलाई क्वारेन्टिन तथा आइसोलेशन निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत निर्माण हुन नसकेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “जिल्लामा कोरोना सङ्क्रमण हुने दर दैनिक बढ्दै गएको छ, अस्पतालमा ठाउँ अभाव छ, स्थानीय तहलाई गाउँमै भएका स्वास्थ्य संस्थामा आइसोलेशन तथा क्वारेन्टिन बनाउन कैयौँ पटक आग्रह गरिसक्यौँ तर अहिलेसम्म बनाएका छैनन् ।” जिल्ला प्रशासन कार्यालयले स्थानीय तहमा क्वारेन्टिन तथा आइसोलेशन बनाउन पटकपटक पत्राचार गर्दासमेत यहाँका स्थानीय तहका प्रमुखहरूले चासो नदेखाएको आरोप छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.