सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १०:५० 
  • दमौली, २८ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

    अक्सिजन सिलिण्डरको उपलब्धता भएपछि जलविद्युत् केन्द्रलाई फिर्ता दिने गरी सिलिण्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नौ थान भरी सिलिण्डर र तीन थान खाली सिलिण्डर ल्याइएको छ । खाली सिलिण्डरलाई आज नै भर्न पठाइने पोखरेलले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार गाउँपालिकामा यस अगाडि दुईवटा भरी सिलिण्डर छ । थप सिलिण्डरको पनि खोजी कार्य गरिएको पोखरेलले जानकारी दिनुभयो । “आँबुखैरेनी गाउँपालिका जिम्मेवार भएर सङ्कट व्यवस्थापनमा जुटिरहेको छ”, पोखरेलले भन्नुभयो । जलविद्युत् केन्द्रले उपलब्ध गराएको सिलिण्डर लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेल, वडा नं ३ का सदस्य दिनेश केसी आफैँ पुग्नुभएको थियो ।

    आइतबार मात्रै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको पहलमा एक कर्मचारीलाई उद्धार गरी काठमाडौँ पठाइएको थियो । प्रदेश सरकार मातहत कार्यालयका कर्मचारीलाई श्वासप्रश्वासमा समस्या भएपछि अध्यक्ष थापाको सक्रियतामा एम्बुलेन्स व्यवस्थापन गरिएको थियो ।

    क्लबले आइसोलेशन बनाउन भवन दिने

    आँबुखैरेनी–३ स्थित अलस्टार क्लबले आफ्नो भवन आइसोलेशन निर्माणका लागि गाउँपालिकालाई दिने भएको छ । कोभिड सङ्क्रमित बढेको र आइसोलेशनका लागि भवन अभाव हुनसक्ने भएपछि क्लब भवन गाउँपालिकालाई दिन तयार भएको हो । क्लबका अध्यक्ष दिनेश केसीले गाउँपालिकाका अध्यक्ष थापालाई उक्त भवन प्रयोग गर्न दिने सहमतिपत्र हस्तान्तरण गर्नुभएको छ । वडासदस्यसमेत रहनुभएका केसीले कोभिड रोकथाम गर्नु सबै सङ्घसंस्थाको कर्तव्य भएकाले क्लबको भवन आइसोलेशनका लागि दिने निर्णय भएको बताउनुभयो ।

    उक्त भवनमा पाँच शय्याको आइसोलेशन कक्ष बनाउन सकिनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले कोभिड रोकथामका लागि क्लबले पुयाएको सहयोग उदाहरणीय रहेको बताउनुभयो ।

    थप दुई पालिकामा आजदेखि निषेधाज्ञा

    जिल्ला प्रशासन कार्यालय तनहुँले घिरिङ र ऋषिङ गाउँपालिकामा पनि आज निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार घिरिङ र ऋषिङका सम्पूर्ण भागमा आजदेखि निषेधाज्ञा आदेश जारी भएको हो ।

    यसअघि जिल्लाका आठ स्थानीय तह र ऋषिङ गाउँपालिका–१ मा मात्रै निषेधाज्ञा गरिएको थियो । कोभिड सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गरी जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

    यसअघि खाद्यान्नका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ने भनिएकामा अब बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खुल्नेछन् । कार्यालयका अनुसार उक्त अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध र दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना, पशुपक्षीको उत्पादन र बिक्री वितरण र निर्माण सामग्री पसल खुल्नेछन् ।

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा एम्बुलेन्स, ग्यास, पेट्रोलियम पदार्थ, खानेपानी, औषधि तथा उपचार सामग्री, स्वास्थ्य संस्था, अस्पताल, दूरसञ्चार, फोहरमैला व्यवस्थापन, बैंकको एटिएम सेवा, डाँक सेवा र सार्वजनिक निर्माणसम्बन्धी कार्य सञ्चालन गर्न पाइन्छ । त्यस्तै माथि उल्लिखित भएकाबाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने, बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनुपर्ने अवस्था) का लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति लिनुपर्नेछ । सञ्चारकर्मीको हकमा सूचना विभाग वा सम्बन्धित सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.